बिहान ७ बजेदेखि देशभर उत्साहजनक रूपमा मतदान सुरु

२०७९, ४ मंसिर आईतवार ०९:४७

झापा , मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने चिसोका कारण बिहानै मतदाता पुग्न सकेका छैनन् ।

ती ठाउँका बासिन्दाले दिउँसोपछि मतदान गर्न जाने तयारी गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । झापामा पनि बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । संघीय संसदका लागि ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा समेटिएको झापामा १५ वटा स्थानीय तह तथा १३१ वटा वडा रहेका छन् ।

५ वर्षे अवधिका लागि झापामा यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाताले मतदान गर्न पाउने छन् । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८ जना मतदाताले झापाबाट जनप्रतिनिधि छान्न पाउने छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी छन् ।

झापामा सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र झापा ५ हो भने कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन कार्यालयको मतदाता विवरणले देखाउँछ । यस निर्वाचनका लागि झापामा ७ सय ६८ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा झापा १ मा पुरूष ६० हजार दुई सय ३७ र महिला ६० हजार एक सय ३८ जना गरी एक लाख २० हजार तीन सय ७५ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ४५ वटा मतदान स्थल तथा १३४ मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (१) तर्फ पुरूष मतदाता ३६ हजार एक सय ९८ जना र महिला मतदाता ३५ हजार सात सय ७९ जना गरी ७१ हजार नौ सय ७७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (२) मा २४ हजार ३९ पुरूष मतदाता तथा २४ हजार ३ सय ५९ महिला मतदाता गरी ४८ हजार ३ सय ९८ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ वटा मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै झापा क्षेत्र नम्वर २ अर्जुनधारा नगरपालिकाका सबै ११ वडा, विर्तामोड नगरपालिकाका ९, बुद्धशान्ति गाउँपालिकाका ३ र कन्काई नगरपालिकाका २ वडा गरी २५ वटा वडामा समेटिएको छ । यस क्षेत्रमा १ लाख ३४ हजार ९१ मतदाता छन् । जसमा पुरूष मतदाता ६६ हजार ६ सय ५७ जना र महिला ६७ हजार ४ सय २९ तथा अन्य ५ जना रहेका छन् । प्रदेश क्षेत्रका आधारमा (१) तर्फ पुरूष २९ हजार ५ सय ३२, महिला २९ हजार ७ सय ७० र अन्य २ जना गरी ५९ हजार ३०४ जना मतदाता छन् । यस्तै (२) मा ३७ हजार १२५ पुरूष, ३७ हजार ६५९ महिला र ३ जना अन्य मतदाता रहेका छन् ।

झापा–३ नम्वर क्षेत्र प्रदेश (१) तर्फ पुरूष मतदाता ३३ हजार सात सय ८२ जना र महिला मतदाता ३३ हजार चार सय ६६ जना गरी ६७ हजार दुई सय ४८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ३६ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र (२) मा ३२ हजार दुई सय ७९ पुरूष मतदाता तथा ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार १ सय ८४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३१ वटा मतदान स्थल र ७५ वटा मतदान केन्द्र रहेका छन् । झापा ३ मा पुरूष ६६ हजार २२ जना र महिला ६५ हजार तीन सय ७१ जना गरी एक लाख ३१ हजार चार सय ३२ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६७ वटा मतदान स्थल तथा १५५ मतदान केन्द्र रहेका छन् ।
झापा ४ मा प्रदेश (१) तर्फ २६ हजार ७५५ पुरूष, २६ हजार ४४९ महिला र अन्य १ जना गरी ५३ हजार २०५ जना मतदाता रहेका छन् । यस्तै प्रदेश (२) मा पुरूष ३५ हजार २७० तथा महिला ३४ हजार ६५२ गरी ६९ हजार ९१९ जना मतदाता छन् । पुरूष ६२ हजार २२ जना, महिला ६१ हजार १०१ र अन्य १ जना मतदाता गरी झापा ४ मा जम्मा १ लाख २३ हजार १ सय २४ मतदाता छन् । यस क्षेत्रमा ६३ वटा मतदान स्थल तथा १४९ वटा मतदान केन्द्र रहेका छन् ।

त्यस्तै झापा ५ मा प्रदेश सभा (१) तर्फ पुरूष ३७ हजार ५६४, महिला ३७ हजार २६९ र अन्य १ जना गरी ७४ हजार ८ सय ३४ जना मतदाता रहेका छन् भने प्रदेश सभा (२) मा ३८ हजार ५०३ पुरूष, ४० हजार ९५१ जना महिला र १ जना अन्य गरी ७९ हजार ४५५ जना मतदाता रहेका छन् । पुरूष ७६ हजार ६७ जना , महिला ७८ हजार २२० जना र अन्य २ जना गरी झापा ५ को समग्र मतदाता संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको छ । झापा ५ मा ६१ वटा मतदान स्थल तथा १७६ वटा मतदान केन्द्र रहेका छन् ।

Comments

ताजा खबर