जापानको हामीसँग नमिलेको भनेको विकासको गति मात्र

काठमाडौं: नेपाल यात्रा गर्ने पहिलो जापानी नागरिक एकाई कावागुची हुन् । उनी भारतको कोलकाता हुँदै सन् १८९९ मा काठमाडौं आइपुगेका थिए । बौद्व भिक्षु कावागुची नेपालको बाटो भएर तिब्बत पस्ने र फर्कने क्रममा काठमाडौंमा बसेको कुरा इतिहास प्रसिद्ध छ । त्यसको तीन वर्षपछि सन् १९०१ मा देवशमशेर राणा नेपालका प्रधानमन्त्री भए । अर्को वर्ष मार्च ८ मा देवन्द्रशमशेरले छानेका आठ जना नेपाली अध्ययन गर्नका लागि जापान गए ।

‘भिक्षु कावागुचीको नेपाल यात्राले नेपाली विद्यार्थीहरुलाई जापानमा छात्रवृत्तिको ढोका खोलेको थियो,’ सन् १९६० को दशकमा जापानमा उच्च शिक्षा लिएका हरेन्द्र विकास बरुवा भन्छन्, ‘त्यो नै नेपाल–जापान सम्बन्धको सुरुवात थियो, जुन जनस्तरबाट सुरु भएको थियो ।’

उनका अनुसार १२० वर्षअघि पहिलो पटक जापान जाने नेपाली विद्यार्थीमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात (हतियार इन्जिनियरिङ), देवनरसिंह राणा र बालनरसिंह रायमाझी (खनिज), दीपनरसिंह राणा (कृषि), हेमबहादुर राजभण्डारी (मेकानिकल इन्जिनियरिङ), रुद्रलाल सिंह (रसायनशास्त्र) तथा विचारमान सिंह (सेरामिक्स) थिए ।

‘भिक्षु कावागुचीले काठमाडौंमा जंगीलाठ देवशमशेरसँग गरेको भेटघाट र देवशमशेर श्री ३ भएपछि देश विकासबारे जापानबाट लेखेको चिठीको परिणाम थियो, नेपालीलाई जापानमा अध्ययनको ऐतिहासिक मौका,’ बरुवा भन्छन् ।
उनका अनुसार नेपालमा प्रजातन्त्र आएपछि सन् १९५६ मा जापानसँग विधिवत दौत्य सम्बन्ध स्थापना भयो । त्योसँगै १९५७ मा छात्रवृत्ति सम्बन्धी सहमति भयो र अर्को वर्ष कृषि विज्ञान पढ्न जापान जाने विद्यार्थी थिए सिद्धिनाथ रेग्मी ।

सन् १९५९ मा छात्रवृत्ति पाएर जापान जानेमा बरुवा थिए । सन् १९३७ मा जन्मेका उनले १९५४ मा दरबार स्कुलबाट प्रवेशिका र १९५८ मा त्रिचन्द्र कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका थिए ।

त्यसबेला काठमाडौंमा जापानी दूतावास खुलेको थिएन । उनी कोलकातामा जापानको भिसा लिएर इण्डियन एयरलाइन्सको विमानबाट थाइयाल्ड, हङकङ हुँदै टोकियो पुगेर हितोत्सुवासी विश्वविद्यालयमा व्यावस्थापन विषयको स्नातकोत्तर तहमा भर्ना भए ।

जापानमा त्यसबेला विदेशी विद्यार्थीका लागि भर्खरै नयाँ हाउस निर्माण भएको थियो । त्यहाँ बरुवासहित ३८ जना विद्यार्थी भए । उनीहरु सबैलाई सुरुमा जापानीभाषा प्रशिक्षण कक्षामा सामेल गराइयो ।

‘सिकाउने कलामा जापानीहरु धेरै सिपालु,’ बरुवा सम्झिन्छन्, ‘केही महिनामै हामी जापानी भाषा राम्ररी बोल्न र लेख्न जान्ने भयौं । त्यसपछि विश्वविद्यालयको अध्ययन सुरु भयो ।’

चारवर्षे अध्ययन पूरा गरेर सन् १९६३ मा नेपाल फर्किएपछि उनी घरेलु तथा मझौला उद्योग विभागमा योजना अधिकृत नियुक्त भए । त्यसबेला सरकारी छात्रवृत्तिमा पढ्न गएको विद्यार्थीले पाँच वर्ष नेपाल सरकारको सेवामा रहनु अनिवार्य थियो । उनी नयाँ अधिकृतको जोशजाँगरका साथ काममा जुटे ।

त्यसबेला भारत सरकारको सहयोगमा पाटन औद्योगिक क्षेत्र र अमेरिकी सरकारको सहयोगमा बालाजु औद्योगिक क्षेत्र निर्माण भएको हो । ‘बालाजुको चारवटा र पाटनको सातवटा उद्योग मैले हेर्नुपरेको थियो,’ बरुवा सम्झिन्छन्, ‘मासिक तलब थियो, ४०० रुपैयाँ । त्यतिबेलाको चार सयले अहिलेको ४० हजारको काम गथ्र्यो ।’

पाटन औद्योगिक क्षेत्रमा जापानबाट मेसिन झिकाएर पहिलोपटक मोजा र सुइटर बुन्ने उद्योग सञ्चालन गरेको, बालाजुमा वेतबाँसको काम गरेको बरुवा सम्झन्छन् ।

केही समयपछि उनको झापा सरुवा भयो । त्यहाँ रहँदा उनले मानिसहरुलाई नयाँ-नयाँ इलममा प्रोत्साहित गर्ने र उद्योगधन्दा स्थापनाको वातावरण बनाउने काम गरे । त्यसबीचमा सरकारी सेवा र पारिवारिक प्राथमिकतामा तालमेल नमिलेपछि उनले सन् १९७३ मा योजना अधिकृत पदबाट राजीनामा दिएर जापानी दूतावासमा सल्लाहकार नियुक्त भए ।

सन् १९९८ मा दूतावासको जागिरबाट निवृत्त भएपछि उनी आफ्नी जापानी पत्नी मासाकोसँगै समाज सेवामा केन्द्रित भए । यो दम्पतीले कुष्ठरोग नियन्त्रणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍यायो ।

नेपालीहरु उच्च शिक्षाका लागि जापान जान थालेको १२० वर्ष पुगेको छेकोमा हामीले भेट्दा ८५ वर्षीय हरेन्द्र विकास बरुवाले उन्नतिका लागि सही शिक्षा नीति नै मुख्य मन्त्र हुने बताए ।

उनका अनुसार जापानले अपनाएको शिक्षाले जापानीहरुलाई एकदमै अनुशासित, इमान्दार, मेहनती र विनम्र बनाएको छ । दोस्रो विश्वयुद्व (सन् १९३९–४५)मा ध्वस्त भएको जापान त्यही कारण छोटो समयमै विकासको चुलीमा पुगेको उनले बताए ।

जापान धेरै प्राकृतिक स्रोत भएको मुलुक होइन, बरु हावाहुरी र भूकम्पको प्रकोप आइरहन्छ छ । प्रविधि पनि विदेशबाटै भित्र्याएका हुन्,’ उनले भने, ‘तर पनि उचित शिक्षा र मेहनतका कारण छोटो अवधिमा उनीहरु सबै थोक निर्यात गर्न सक्षम भए ।’

उनका अनुसार जापानीहरु समूहमा काम गर्न रुचाउँछन् । निकै सम्पन्न व्यक्ति पनि पहिला दुःखको समयमा जस्तै भुईंको ओछ्यानमा सुत्छन् । कक्षा १० सम्म विद्यार्थीले आफैं विद्यालयको भुईं पुछ्ने गर्छन् ।

‘म टोकियो पुग्दा बमले डढाएको ७-८ तले घरको अस्पिञ्जर देख्दा विश्वयुद्वको आभास हुन्थ्यो,’ बरुवा भन्छन्, ‘जापानीहरु युद्धपछिको राष्ट्र पुनर्निर्माणमा जुटेका थिए । उचित शिक्षा, विज्ञान र प्रविधि अपनाएर उनीहरु चाँडै नै उठे पनि ।’

नेपाल र जापानको सांस्कृतिक परम्परा मिलेपनि विकासको गति ठ्याम्मै नमिलेको उनी बताउँछन् । मेहनती र सुसंस्कृत होइन, ठालु बनाउने नेपालको शिक्षा प्रणाली त्यसको कारक रहेको उनको ठम्याइ छ ।

उनका अनुसार जापानमा पनि हिन्दू प्रभाव भएको बौद्ध धर्मसंस्कृति छ । ‘जापानीहरु कतै हामीकहाँजस्तै प्यागोडा शैलीको मन्दिरमा पूmल चढाइरहेका हुन्छन्, कतै मछिन्द्रनाथको जस्तै रथ तानिरहेका देखिन्छन्,’ बरुवा भन्छन्, ‘हामीसँग नमिलेको भनेको विकासको गति मात्र हो ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago