काठमाडौंः मष्टपूजक, वैदिक सनातन हिन्दु, शैव, शाक्त, बौद्ध, बोन, किरात, शिख आदि धर्मका सम्पूर्ण ॐकार परिवारका साधनामा शक्तिपूजाको पद्धति कुल परम्परादेखि चलिआएको छ । शक्तिबिना कुनै कार्य बन्न सक्दैन । ‘संघे शक्ति कलौ युगे’ अर्थात् कलियुगको शक्ति
भनेकै संघ–संगठन हो ।

आसुरी शक्तिको अत्याचारबाट राष्ट्र, समाज र सात्त्विक भावका उपासकहरूको कष्ट निवारणका लागि धरतीमा दैवीय शक्तिको आगमन हुने गर्छ । देवताहरूको पीडा हरण गर्न भगवती नवदुर्गाको प्रादुर्भाव भएको हो । देवताहरूको संगठित शक्ति महाशक्ति दुर्गा हुन् । चान्द्रमास अनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म शक्ति उपासना गर्ने पद्धतिलाई दसैं भनिन्छ । ‘नवदुर्गा भवानी’ को शक्ति संगठित शक्तिको प्रतीक हो । आश्विन शुक्ल प्रतिपदाको दिन शुद्ध माटो र गोबरले घर लिपी दियो, कलश, गणेशको विधिसहित पूजा गरी घटस्थापना गर्ने विधान छ । नवदुर्गा भवानीसहित गणेश, लक्ष्मी, कुवेर, नारायण, भगवान् शिव, सूर्यादि नवग्रहको आह्वान, स्थापना र पूजा गर्नुपर्छ ।
वर्षमा चारवटा नवरात्र पर्छन् । तीमध्ये आश्विन शुक्ल, चैत्र एवम् आषाढ शुक्ल, माघ शुक्ल प्रतिपदादेखि आरम्भ हुने दैवी शक्ति उपासनाको पद्धति नै नवदुर्गा भवानीको साधना पद्धति हो । गहुँ, जौ, धान, मकैसहित अन्य अंकुर आउने बीज मिसाएर जमरा राख्नुपर्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी तथा नवौं दिन सिद्धिदात्री गरी नौ रूपको क्रमशः पूजा गरिन्छ । दशमीका दिन विजया भगवतीसहित अपराजिताको पूजा गरी टीका जमरा प्रसाद लगाइन्छ । घरको मूल ढोकामा गोबरले पाँच, सात, नौवटा टीका बनाएर दुबो, सिन्दूर, अक्षता, जमराले भगवतीको पूजा गरी विजया दशमीको टीका आरम्भ गरिन्छ ।

षष्ठी तिथिमा बेलको हाँगामा तेल, बेसार लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसैंघरमा नवपत्रिका प्रवेश गराउने विधि गरी अर्थात् फूलपाती भित्र्याई भद्रकाली, सरस्वतीको पूजा गर्नुपर्छ । अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाएर बाजअंकित झन्डा आफ्नो घरमा राख्नुपर्छ । शस्त्रास्त्र (हातहतियार, वाहन) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गास्वरूप नौ जना कन्या र भैरवस्वरूप बटुकको पूजा गर्नुपर्छ ।
भगवती दुर्गाले चण्डमुण्ड, प्रचण्ड, शुम्भ–निशुम्भ, रक्तबीज आदि दुष्ट दैत्यहरूको वध गरी सम्पूर्ण लोकको कल्याण गरेको सन्दर्भ तथा भगवान् रामले रावणको वध गरेको प्रसंगका आधारमा असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी मनाइन्छ ।

दसैंको आशीर्वाद मन्त्रको सार

दसैंमा द्रोणाचार्यका पुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रुनाश गर्ने सामर्थ्य, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

सनातन वैदिक हिन्दुहरूमा ‘वसुधैव कुटुम्बकम्’ (विश्वभरका सम्पूर्ण प्राणी कुटुम्ब हुन्) भन्ने भाव हुन्छ । उनीहरू मनुष्य, वनस्पति, कीटपतंग आदिमा देवताको स्वरूप देख्छन् ।

आरोग्यका लागि शिरमा जमरा लगाइन्छ । नवपत्रिकालाई बाजागाजासहित दसैंघरमा भित्र्याइन्छ । हविष्यान्न (सात्त्विक) भोजन गरी कुभिन्डो, नरिवल आदिको बलि दिइन्छ । नवरात्र (दसैं) वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्व हो ।

जमराको महत्त्व

घटस्थापनाका दिन शुभसाइतमा नयाँ फूलको स्वरूप गहुँ, जौको जमरा राखिन्छ । विजयादशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रूपमा लगाइन्छ । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख शान्ति समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ । नौ रातसम्म पूजा गरी अंकुरित जमराको रस बनाएर खानाले विभिन्न रोग–व्याधि र कष्टहरू मेटिने मान्यता छ । जमरालाई महौषधि भनिएको छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराले शीतल गर्छ । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छन् ।

फूलपाती

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैंघरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्रका रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा बस्न सक्दैनन् । फूलपातीपछि यी औषधीय गुणले युक्त भएका पालुवाहरूको लेप लगाउनाले रोगव्याधि निको हुने मान्यता छ ।

आयुध (हातहतियार) पूजा

वैदिककाल साधना, सिद्धि, सामर्थ्य, शक्ति र शौर्यको संगम हो । वेदमा आयुधबारे प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेका त्रिशूल, वज्र आयुध नै हुन् । अहिंसाका सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । शक्तिका उपासक जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छन् नै । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका अठारवटै हातमा आयुध छँदै छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । शक्तिको उपासना गरिने नवरात्रमा आयुधको पनि पूजा गर्ने गरिन्छ ।

बलि

बलिको अर्थ हो— त्याग । बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट यी दस विकार हुन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चूर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने भाव दसैंको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद–मात्सर्यका प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऔं अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । ती प्रतिनिधि सम्बन्धित गुणका प्रतिनिधि पशुपक्षी हुन् । महाष्टमीका दिन महामाया (अठार हात भएकी महिषासुर मर्दिनी) भगवतीको पूजा गरी शौर्य, पुरुषार्थ सिद्धिका लागि देवीको स्तुति तथा प्रार्थना गर्नुपर्छ ।

पिङ

शरद ऋतुमा प्रकृति रमणीय हुन्छ । धानका बाला लहलह लहराएका बेला खेतीपाती तथा कृषिप्रधान समाजमा त्यो प्राकृतिक सुन्दरता हेर्नलाई वर्षमा एक पटक धरती छोड्नुपर्ने लोकोक्ति अनुसार पिङ खेल्ने गरिन्छ । पिङ खेल्नु भनेको उचाइमा गएर उत्साह–उमंगका साथ रमणीय दृश्यहरू हेर्नु हो । नेपाली परिवेशमा काठको रोटे पिङ, चक्रे पिङ, लिंगे पिङ चलनचल्तीमा छन् ।

टीका–प्रसाद

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो वा दही मात्र हालिएको सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । अक्षताको टीका, अबीरको टीका, विभिन्न रङको प्रयोगबाट बन्ने रातो टीका पुरुषार्थकोÙ सेतो शान्तिको, नीलो आरोग्यको र पहेंलो आध्यात्मिक भावको प्रतीक हो । आफ्नो परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका–प्रसाद लगाउने शास्त्रीय विधान छ ।

घटस्थापनाका दिन राखेको जमरा आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन विसर्जन गरी दसैं समापन गरिन्छ । कोजाग्रत पूर्णिमाको साँझ दियो, कलश र गणेशको पूजा गरी ऐरावत हात्तीमा सवार भएका इन्द्र र महालक्ष्मीको पूजन गर्नुपर्छ । यही दिन जागरण बसेर महालक्ष्मीलाई खुसी पार्ने प्रयत्न गर्नुपर्छ । रावणमाथि रामले विजय पाएको तथा दुर्गा भवानीद्वारा महिषासुर, रक्तबीज, चण्डमुण्ड, प्रचण्डको अत्याचार शमन भई असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी पर्व मनाइन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago