बालकथा: जनावरहरुको एकता – पारसमणि दाहाल

बालकथा: जनावरहरुको एकता

जङ्गलमा धेरै रुखहरू थिए । जङ्गल सुन्दर थियो । धेरै प्रकारका चराचुरुङ्गी र जनावरहरू त्यस जङ्गलमा बस्ने गर्दथे । जङ्गलमा बहुमूल्य वनस्पतिहरू पनि थिए । सुन्दर चराहरू थिए । लोप हुनलागेका जङ्गली जनावरहरूको बासस्थान पनि त्यही जगल नै थियो । जङ्गलको सुन्दरताले सबैको मन लोभ्याउथ्यो । जङ्गलमा घुम्न टाढाटाढाका मानिसहरू पनि आउने गर्दथे । त्यो जगल एक प्रकारको रमाइलो पार्क (बगैचा) जस्तै थियो ।

जङ्गलमा जङ्गली जनावरहरू, वनस्पतिहरू, चराहरू, ठूला अग्ला रुखहरू, बाँसका झ्याङ्ग, ऐंसेलुका बोटहरू, निगालोको झाडी आदि पनि थिए । जङ्गलभित्रको बालुवानी क्षेत्रमा बयरका बोटहरू थिए । धापिलो क्षेत्रमा निगुरोका झाडीहरू प्रशस्त थिए । मानिसहरू ऐंसेलु, निगालो तथा निगुरो आदि टिप्न जङ्गलमा आउने गर्दथे । गाई, बाख्रा चराउन, घाँस दाउरा खोज्न, स्याउला-पात, जडिबुटी तथा काठ काट्न पनि थुप्रै मानिसहरू जङ्गलमा जाने आउने गर्दथे ।

जङ्गलमा थुप्रै जङ्गली प्राणीहरूमध्ये लामोलामो सिङ भएको एउटा अजङ्गको कालो अर्ना पनि थियो । डरलाग्दो सिङ भएको कालो ठूलो अर्नादेखि जङ्गलमा जाने मानिसहरू, जङ्गलमा बस्ने सवै जनावरहरू पनि डराउँदथे । घाँस-दाउरा गर्न, गाईवस्तु चराउन, जङ्गल डुल्न गएका सबै मानिसहरू पनि अजङ्गको अर्नासँग डराउँदथे । घरपालुवा पशुहरूलाई यसले ठाडै लखेट्ने गर्दथ्यो । जङ्गलमा बस्ने अन्य जङ्गली पशुहरूलाई पनि यसले सधैँ थर्काउने गर्दथ्यो । मृग, जरायो, स्याल लगायतका प्राणीहरू अजङको अर्नाको हेपाहा प्रवृत्तिले वाक्क दिक्क भएका थिए । सधैँ थर्काउने, डर र चिन्ता लिएर बाँच्नु पर्ने, राम्रोसँगले चर्न, झारपात खान, पानी पिउन समेत अर्नाको आँखा छलेर मात्र गर्नुपर्ने बाध्यता थियो । अर्नाले आफूलाई त्यो जङ्गलको सम्राट भै ठानेको थियो । अर्ना जङ्गलमा हिँड्न थालेपछि सबै जनावरहरू आ-आफ्नो बाटो लाग्दथे । उसलाई देख्ने बित्तिकै सबै जनावरहरू लुक्ने गर्दथे । गोठालाहरू पनि अर्ना आएको थाहा पाएपछि भाग्ने गर्दथे । जङ्गलमा चराउन लगिएका गाई, भैसी, बाखा सबैलाई देख्ने बित्तिकै लखेट्ने गर्दथ्यो । अर्नाको हेपाहा तथा मिचाहा प्रवृत्तिले जङ्गलका सबै जनावरहरू वाक्क दिक्क भएका थिए ।

अर्नाको अत्याचारबाट वाक्क भएका सबै जगली जनावरहरू एक दिन भेला भए । अर्नाको अत्याचारबाट कसरी मुक्ति पाउने ? भन्ने उपायका बारेमा छलफल गर्न सबै जङ्गली जनावरहरू एकै ठाउँमा भेला भए । सबैले अर्नालाई तह लगाउने उपायका बारेमा विचार विमर्श गर्न थाले ।

स्यालले भन्यो, “साथी हो ! अर्को जङ्गलबाट ठूलो बाघलाई यस जङ्गलमा ल्याउनुपर्छ । बाघले त्यस अत्याचारी अर्नालाई मारेर खान्छ ।”

स्यालको कुरा सुन्ने बित्तिकै मृगले भन्यो, “धत् उल्लु स्याल ! त्यसरी बाघलाई निम्तो दिइयो भने हामी सबैलाई त्यस बाघले खान्छ, अनि तँलाई पनि बाँकी राख्दैन । त्यसैले एउटा अत्याचारी अर्नालाई तह लगाउन अर्को निरङकुशलाई स्थान दिइनु हुन्न । अर्नालाई तह लगाउन अर्को कुनै नयाँ उपाय सोच्नुपर्छ ।” मृगले आफ्नो तर्क टुङ्ग्यायो । तर अर्ना तह लगाउने उपाय भने पत्ता लागेन ।

सभाको छेउमा बसेर सबै कुरा सुनिरहेको जरायोले भन्यो, “हैन मृग भाइ ! हामी यत्ति थुप्रै साथीभाइ मिलेर पनि एउटा अत्याचारी अर्नालाई कसरी ठेगान लगाउन नसकेका हौँ ? यो जङ्गल त्यो उन्मत्त अर्नाको मात्रै हो र ? हामीहरूले यहाँ शान्तिपूर्वक बस्न नपाउने ? सधैँ अत्याचारी अर्नाको अत्याचार कति सहेर बस्ने ? केही न केही उपाय त लगाउनै फ्यो” जरायोले भन्यो ।

सबैको कुरा सुनिरहेको सानो खरायोले भन्यो, “दाजुदिदीहरू हो ! हुन त म सानो खरायो हुँ । मलाई त त्यो अत्याचारी अर्नाले त्यत्ति धम्की दिन भ्याएको छैन । किनकि म सानो छु । सानातिना झाडी र दुलाहरूमा लुकिहाल्छु । त्यसैले त्यसले मलाई देख्दा पनि देख्दैन । तर पनि तपाईंहरूको दुःखको कुरा सुनेर मलाई पनि केही भन्न मन लाग्यो । यदि तपाईंहरूले मलाई अनुमति दिनुहुन्छ भने म पनि केही तर्कहरू राखूँ कि ?”

सबैले खरायोको कुरा चाख मानेर सुनिरहेका थिए । सबैले एकै स्वरमा भने, “भनन खरायो भाइ ! तिमीलाई उन्मत्त अर्ना तह लगाउने उपाय थाहा भए छिटो भन हामीलाई यसले साह्रै सतायो । बरु छिटो भन ।”

सबै जनावरहरूको अनुरोध सुनेर खरायो खुसी हुँदै भन्न थाल्यो, “दाजुदिदीहरू ! यस अत्याचारीलाई तह लगाउने एउटै मात्र उपाय छ । त्यो उपाय भनेको हामी सबैको एकता हो । त्यस अर्नाले हामी एक्लाएक्लै हिँड्ने बस्ने तथा चर्न र सिकार खोज्न जाने गर्नाले नै हामीलाई हेपेको हो । हामी सबैजना एकजुट भएर बस्ने, चर्न र सिकार खोज्न एकजुट भएर निस्कने हो भने हाम्रो एकता देखेर ऊ त्यसै डराउनेछ । यदि ऊ डराएन र हामीमाथि फेरि पनि आक्रमण गर्न आयो भने त्यसलाई हामी सबैको एकताबाट लखेट्नुपर्छ”।
खरायोको कुरा सुनेर स्यालले भन्यो, “ए खरायो भाइ ! त्यसलाई हामीले कसरी लखेट्ने नि ?”

“ल, स्याल दाइ पनि त्यसलाई लखेट्न गाह्रो कहाँ छ र ? जरायो दाइको लामा र तिखा सिङ त्यसतर्फ फर्काउने, हरिण र मृग दाइहरूको सिङ पनि त तिखा छन् नि ! सबैले त्यसलाई छेक्ने अनि स्याल दाइ तपाईंको तीखो स्वरले चाहिँ त्यस पापी अर्नाको कानैमा गएर कराउने नि ! त्यसपछि त मेरो सेतो हिउँ जस्तो शरीर त्यस निरङ्कुश अर्नाको आँखै अगाडि पुयाएर देखाउने छु । अर्ना आत्तिएर हाम्रो एकता र आक्रमणको योजना देखेर यस जङ्गलबाट सधैँका लागि कुलेलम ठोक्ने छ ।” सानो खरायोले आफ्नो योजना सबैलाई सुनायो ।

सानो खरायोको ठूलो बुद्धि देखेर सबै जिल्ल परे । सबैले एकै स्वरमा खरायोको प्रस्तावलाई स्वीकार गरे । “हुन्छ, हुन्छ खरायो भाइ; भोलि बिहान हामी तिमीले भने झैँ गर्ने । हामी एकजुट हुने, चर्न र सिकार गर्न एकैसाथ हिँड्ने; हाम्रो एकता देखेर अत्याचारीले हामीमाथि आक्रमण गरेन भने ठिकै छ नत्र तिमीले भने झैँ हामी पनि मोर्चाबन्दी गरी त्यस पापी विरुद्धमा खनिनुपर्छ ।”

भोलि बिहान सबैले अघिल्लो दिन सल्लाह गरे झैँ गरी एकै ठाँउमा भेला भएर चर्न र सिकारमा निस्किए । सबै जनावरहरू एकैसाथ देखेर अत्याचारी अर्ना जिल्ल पयो । अर्नाले कसैलाई पनि आक्रमण गर्न, धम्क्याउन र लखेट्न सकेन । धेरै दिनसम्म पनि कुनै पनि जनावरहरूलाई एक्लाएक्लै नदेखेर कसैलाई पनि तर्साउन सकेन । यसरी धेरै दिनहरू बित्तै गए । जनावरहरूको एकता झन बलियो बन्दै गयो । दम्भी अर्ना जनावरहरूको एकता देखेर हैरान भयो । लामो समयसम्म पनि एकता टुट्न नसकेको देखेर निरङ्कुश अर्ना त्यो जङ्गल छाडेर अन्यत्रै गयो । अर्नालाई जङ्गलमा कही कतै नदेखेर सबै जङ्गली जनावरहरू हर्षित भएर आनन्दले त्यस जङ्गलमा दिनरात बिताउन थाले ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago