गुल्मी र इलाममा तयार भए विमानस्थल, तर नियमित जहाज उडाउने कसले ?

काठमाडौं । व्यवसायिक सम्भाव्यता अध्ययनविना राजनीतिक एजेण्डाका रुपमा अगाडि बढेका पहाडी भेगका दुई विमानस्थल आयोजना भौतिक संरचना निर्माणका दृष्टिकोणबाट सेवा सञ्चालनयोग्य बनेका छन् । इलामको सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालनको मिति नै तय भएको छ भने गुल्मीको रेसुंगा विमानस्थलमा भने विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा छ । वायुसेवा कम्पनी तयार भएको अवस्थामा यो विमानस्थल समेत उडानयोग्य अवस्थामा पुगेको छ । तर, नियमित जहाज उडाउने कसले ?

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा शुरुआती १२ वटा उडान गर्न इलाम नगरपालिकासँग सम्झौता गरेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार इलाम विमानस्थल तत्काल व्यवसायिक रुपमा सञ्चालनमा आउने सम्भावना छैन । किनकी यहाँबाट दुई घण्टाको सडक यातायातको दुरीमा झापाको भद्रपुरमा ठूलो विमानस्थल छ । जहाँ एटीआर जहाजले यात्रु बोक्छन् । इलाममा ट्वीनअटर जहाज मात्र उड्छन्, जसको क्षमता १८ सीट मात्र हो । भद्रपुरमा ७२/८० सीटे जहाजले यात्रु बोक्दा भाडा तुलनात्मक रुपमा सस्तो पर्छ । इलामका लागि ८७०० रुपैयाँ हवाई भाडा तोकिएको छ । यो विमानस्थल काठमाडौंबाट ५५ मिनेटको उडान दुरीमा पर्छ ।

इलाममा नगरपालिका र एयरलाइन्सबीच भएको सम्झौता अनुसार जहाजमा यात्रु भए पनि नभए पनि नगरपालिकाले हरेक उडानमा ११/११ जना यात्रुको आउने/जाने भाडा नगरपालिकाले तिर्नेछ । अर्थातः यात्रु उपलब्ध भएमा भाडा यात्रुबाटै उठ्ने छ । नभए जहाज खाली उड्दा समेत ११ यात्रु बराबरको भाडा नगरपालिकाले तिर्नुपर्नेछ । पर्यटकीय आकर्षणको केन्द्र भएका कारण यात्रुको अभाव नहुने नगरपालिकाको विश्वास छ । कुल १२ वटा उडानका लागि भएको सम्झौता अनुसार हरेक आइतबार तारा एयरको जहाज काठमाडौंबाट इलाम पुग्ने छ । यो सम्झौतापछि नियमित यात्रु पाउने वातावरण बन्यो भने तारा नियमित उड्नेछ, नभए सेवा बन्द हुने छ ।उता, गुल्मीमा विमानस्थल तयार भएपनि सञ्चालनका लागि कुनै पनि एयरलाइन्सले व्यापारिक सम्भाव्यता अध्ययन गर्न भ्याइसकेका छैनन् । जसले गर्दा परीक्षण उडानसम्म भएपनि तत्काल नियमित जहाज चल्ने सम्भावना गुल्मीमा पनि छैन । यति एयरलाइन्सका प्रवक्ता बर्तौला भन्छन्, ‘गुल्मीमा अध्ययन नै भएको छैन, पोखरा, भैरहवा वा काठमाडौं कहाँ–कहाँबाट जहाज उडाउँदा यात्रु पाइन्छ भन्ने अध्ययन भएपछि मात्र यो विमानस्थलमा उडानको सम्भावना हुन्छ ।’

बागलुङमा असफल भएको मोडल अपनाउँदैछ इलाम

साढे दुई दशक भन्दा लामो समय बन्द भएको बागलुङको बलेवा विमानस्थल बाललुङ नगरपालिकाले २०७४ सालमा तारा एयरसँग नै सम्झौता गरी सञ्चालनको पहल थाल्यो । करिब एक वर्ष यहाँ अहिले इलामले नै अपनाएको मोडलमा एयरलाइन्सलाई पुग्ने क्षति बेहोरेर नगरपालिकाले जहाज बोलायो । तर, अपेक्षित यात्रु पाउन नसकेपछि सेवा बन्द भयो ।

त्यसबेला बलेवामा जहाज उडाएवापत नगरपालिकाले २० लाख रुपैयाँ क्षतिपूर्ति वायुसेवा कम्पनीलाई तिरेको थियो । तर, त्यसपछि बन्द भएको यो विमानस्थलमा अहिलेसम्म सेवा पुनः सञ्चालन हुन सकेको छैन । पछिल्लो समय विमानस्थल स्तरोन्नतीको काम जारी छ । यद्दपि यो विमानस्थल पुनः व्यवसायिक रुपमा सञ्चालनमा आउने सम्भावना भने छैन । किनकी बागलुङमा सहज सडक यातायातको पहुँच पुगिसकेको छ ।

गुल्मीमा तत्काल नियमित जहाज उड्ने सम्भावना छैन

रेसुंगा नगरपालिका वडा नं १० मा पर्ने रेसुंगा विमानस्थल सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा पर्छ । विमानस्थलसम्म पुग्ने बाटो पनि कच्ची छ ।

विमानस्थलको काम धमाधम भइरहेका कारण माघ भरमा विमानस्थलको मुख्य संरचना बनिसक्ने देखिएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । उनले सोमबार आयोजनाको स्थलगत अनुगमन समेत गरेका थिए । ‘म आजै अनुगमनमा पुगेको थिएँ, संरचना माघ महिनाभित्रै बनिसक्ने देखिन्छ,’ उनले अनलाइनखबरसँग भने । संरचना बनिसकेपनि सञ्चालनमा भने अन्यौल रहेको उनले स्वीकार गरे । ‘पहिला तारा एयरले परीक्षण गरेको हो, अब हामी पर्यटन मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीसँग नियमित उडानका लागि पहल थाल्छौं ।’

यो विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडानको योजना समेत नबनाएका कारण तत्काल नियमित उडानको सम्भावना छैन ।

व्यवसायिक आवश्यकता भन्दा राजनीतिक दबावमा बनिरहेका छन् विमानस्थल: गुल्मीमा २०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । पर्यटन मन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको मौकामा ज्ञवालीले पारेको यो आयोजना व्यवसायिक सम्भाव्यताका आधारमा अगाडी बढेको भने होइन । ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको यो विमानस्थलमा ठूलो क्षमताका जहाज जाँदैनन् । नाफा नहुने गन्तव्यमा निजी एयरलाइन्सले घाटामा उडान गर्दैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आन्तरिक सेवा धरासायी बनाएर बसेको छ । यो अवस्थामा सडक सञ्जालको राम्रो सुविधा भएको भेगका विमानस्थल नाफामा चलाउन निकै मुस्किल पर्छ ।

इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जोडबलमा विमानस्थल आयोजना पारिएको हो । यी दुई विमानस्थल आयोजना अगाडि बढ्ने बेला प्राधिकरणमा काम गरेको एक पूर्वउच्च अधिकारीका अनुसार ‘सम्भाब्यता अध्ययन मात्रै भए पनि गरौं न’ भन्ने दवाव प्राधिकरणलाई अत्यधिक हुन्छ । सोहीकारण व्यवसायिक रुपमा चल्ने अवस्था नभए पनि बनाउनु पर्ने दवाव हुन्छ ।

राजनीतिक जोडबलमा विमानस्थल आयोजना अगाडि बढाउने प्रयास अहिले पनि रोकिएको छैन । पर्यटनमन्त्री प्रेम आलेले प्राधिकरणको बजेटमा यो वर्ष महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलमा बजेट राखी शिलान्यास समेत गरेका छन् ।

प्राधिकरणका एक अधिकारीका अनुसार धनगढीमा ठूलो विमानस्थल रहेको अवस्थामा यो विमानस्थल व्यवसायिक रुपमा सञ्चालन हुने सम्भावना कम छ । आलेले धनगढी विमानस्थलको स्तरोन्नतीका लागि प्राधिकरणबाट १ अर्ब बजेट छु्ट्याएका छन् । उनले डडेलधुरामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि भन्दै बजेट छु्टयाएका छन् । यो प्रधानमन्त्री शेरबहादुर शेर बहादुर देउवाको गृह जिल्ला हो ।

अघिल्लो सरकारको पालामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुमको चुहानडाँडामा विमानस्थल आयोजना गर्ने गरी अगाडि बढेको थियो । सो सरकारले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन निकै ठूलो जोडबल गरेको थियो । यहाँ एमाले नेता गोकुल बास्कोटाले विमानस्थल आयोजना लैजान जोड गरिरहेका छन् । तर, संचालनको सम्भावना नदेखिएपछि प्राधिकरणले आयोजना अगाडी बढाउने आँट भने गरिसकेको छैन ।

नेपाल एयरलाइन्स निकम्मा, निजीलाई छैन प्रोत्साहन: निजी वायुसेवा कम्पनी नाफामुलक हुन्छन् । उनीहरुले घाटामा व्यापार गर्दैनन् । उनीहरुलाई यी विमानस्थलसम्म तान्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग कुनै प्रोत्साहन प्याकेज पनि छैन ।

तर, संरचना बनिसकेपछि केही घाटामै भए पनि सेवा दिनु पर्ने दायित्व रहेको भन्दै सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई पालेर राखेको छ । नेपाल एयरलाइन्सको आन्तरिक उडान सेवा निकम्मा छ । उसँग आन्तरिक उडानको प्रयोजनका लागि दुई वटा ट्नीनअटर जहाज छन् । सेवा भने देशभरका तीन दर्जन विमानस्थलमा दिनु पर्छ । यसो गर्दा १५ दिनमा एक पटक पनि पालो आउन मुस्किल छ । आन्तरिक उडानका लागि भन्दै किनेको ६ वटा चिनियाँ जहाज थन्काएर राखिएको छ । आर्थिक रुपमा टाट पल्टिएको नेवानिसँग थप जहाज ल्याएर सेवा विस्तार गर्ने सामर्थ्य पनि छैन । जसले गर्दा नयाँ नयाँ विमानस्थलमा नियमित सेवा प्रदान गरिराख्न चूनौतिपूर्ण देखिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago