सीइडीबी हाइड्रोपावरको आइपीओ आज शुक्रबारबाट खुला , कति भर्दा उचित ?

काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार (वैशाख १७ गते) बाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । सीइडीबीको यस आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

रेटिङ :
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी (आइएस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ गतेसम्म कायम रहनेछ ।
लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन ? 
अधिकांश आइपीओहरु गोलाप्रथामार्फत बाँडफाँट हुँदै आएका छन् । लगानीकर्ताले सेयर पाउन भाग्यमै भर पर्नुपरेको अवस्था छ । तसर्थ, पछिल्ला आइपीओहरुमा परेको आवेदनलाई आधार मान्ने हो भने सीइडीबीको आइपीओ पनि गोलाप्रथाबाटै बाँडफाँट हुने देखिन्छ । सीइडीबी हाइड्रोपावरले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ । तर पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक रहेको छ ।
हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन् । यसकारण लगानीकर्ताले यस आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।
सीइडीबीले कुल आइपीओमध्ये २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सर्वसाधारणलाई खुला भएको छ । यसलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा २ लाख ३४ हजार १९५ जना लगानीकर्ताले आइपीओ हात पार्ने देखिन्छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहने ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ४ जनालाई १–१ कित्ताका दरले थप हुनेछ । यसर्थ, ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनी र आयोजना सम्बन्धी विवरण :
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनी ऐन, २०६३ बमोजिम २०६६ साल मंसिर १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर कारोबार सञ्चालन गर्दै आएको छ । साविकको सीइडीबी हाइड्रो फन्डको नाम परिवर्तन गरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी राखिएको हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित त्रिपुरेश्वरमा रहेको छ ।
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका ४ वटा सहायक कम्पनीहरु पनि रहेका छन् । जसमा गण्डकी इनर्जी लिमिटेड, कसुवा खोला हाइड्रोपावर लिमिटेड, मोरङग इनर्जी लिमिटेड र खारे इन्भेष्टमेन्ट लिमिटेड रहेका छन् । यी सबै कम्पनीमा सीइडीबी हाइड्रोपावर कम्पनीको शत् प्रतिशत स्वामित्व रहेको छ । गण्डकीले ४.७३ मेगावाटको माथिल्लो रुकुमगाड जलविद्युत आयोजना अध्ययन तथा विकास गर्दैछ ।

यसका साथै यस कम्पनीले लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडमा लगानी गरेको छ । यस्तै, कसुवा खोला हाइड्रोपावरले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना अध्ययन तथा विकास गर्दैछ ।

साथै, ५.२५ मेगावाटको तल्लो रुकुमगाड जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरी अन्य कार्यहरु अगाडि बढाइरहेको सीइडीबीले जनाएको छ । मोरङग इनर्जीले भने ११ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गरिरहेको युनिभर्सल पावर कम्पनीमा लगानी गरेको छ । यता, खारे इन्भेष्टमेन्टले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

उत्पादन भइसकेका आयोजनाहरु :
उत्पादन क्षमता ४.४ मेगावाट रहेको राधी साना जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति भइरहेको ।
–उत्पादन क्षमता १८३ किलोवाट रहेको साङ्गे जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति भइरहेको ।
निर्माणाधीन आयोजनाहरु :
उत्पादन क्षमता ११ मेगावाट रहेको तल्लो खारे जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फत आपूर्ति गरिने ।
–उत्पादन क्षमता १२ मेगावाट रहेको दोर्दी खोला जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फतआपूर्ति गरिने ।
–उत्पादन क्षमता ५ मेगावाट रहेको रुकुमगाड जलविद्युत आयोजनाको सबै विद्युत नेपाल विद्युत प्राधिकरणलाई ग्रीडमार्फतआपूर्ति गरिने ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण :
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीबाट ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारणलाई जारी हुन लागेको आइपीओ सबै बिक्री भएमा सीइडीबीको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७०%, सर्वसाधारणको ३०% कायम हुनेछ । सीइडीबीले निरन्तर पुँजी वृद्धि गर्दै लैजाने योजना बनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म आइपीओ बिक्रीपछि कायम हुने पुँजी नै यथावत रहेनछ । तर आव २०७८–७९ मा ८८ करोड १३ लाख र आव २०७९–८० मा ९२ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी पुग्ने प्रक्षेपण छ ।

यसर्थ, पुँजी वृद्धि गर्न कम्पनीले बोनस वा हकप्रद सेयर जारी गर्ने देखिन्छ । यस्तै, चालु आर्थिक वर्षमा ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण रहेको छ । आव २०७८–७९ मा ९ करोड ५२ लाख रुपैयाँ र आव २०७९–८० मा १० करोड ६२ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण छ ।

यस्तै, चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ९१ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७८–७९ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ हुनेछ । आव २०७९–८० मा भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७७ पैसा पुग्नेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago