Categories: समाज

समन्वयात्मक पर्व माघे संक्रान्ती

लेखक , नमुनाथ प्याकुरेल , माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। 

यसै दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। 

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन्। 

महिमा सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। 

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । 

स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥ 

(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।)

महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए। त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ। 

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लाहरूमा मैथिलीले ‘तिला संक्रान्ति’ पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ ।

आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ। थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ ।

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे संक्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् ।

मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई ‘निशो’ ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ । यस्तो गजबको समन्वयात्मक तथा सह्रुदयात्मक दिनमा सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

Comments
Bishawas Acharya

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago