कविता : “आमा” मातृ देवो भव: -अस्मित भुसाल

२०७९, १७ बैशाख शनिबार १८:२४

आमा ईश्वरको स्वरूप भवमा, यो सत्य हो शाश्वत
आमा मिष्ट सुगन्ध हुन् कुसुमकी,आमा स्वयम् पुष्पक ।
आमाको अनुरागले शिखर झैँ पग्लन्छ है पत्थर
आमा प्रीत र प्यार हुन् प्रणय हुन् , हुन् प्रेमकी सागर ।।

आमा ज्ञानद हुन् र ज्ञानमय हुन्, आमा महान् कृष्टि हुन्
आमा भागिरथी पुनीत जलकी, धारा सुधा वृष्टि हुन् ।
आमा युद्ध जिताउने समरकी ब्रह्मास्त्र हुन् दर्बिलो
आमा सत्य र धर्मकी भुवनमा ,दिव्यास्त्र हुन् दर्बिलो ।।

आमा कल्मषकी विनाशक स्वयम् हुन् दुष्ट संहारिका
आमा हुन् भवमोचनी,बलप्रदा,हुन् धर्मकी चालिका ।
आमा नीर बनिन् स्वयम् तृषितको,खाना बनिन् भोकमा
आमाको प्रिय काख स्वर्ग सरि हो निस्तेज यो लोकमा ।।

Comments

ताजा खबर