एमालेको ह्याट्रिक गर्ने योजना

काठमाडौं: काठमाडौं महानगरपालिकामा यसपटकको चुनाव पनि जितेर नेकपा एमाले ह्याट्रिक गर्ने योजनामा छ । चुनाव केन्द्रित आन्तरिक छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुले काठमाडौं महानगरको चुनाव एमालेका निम्ति विशेष प्राथमिकतामा रहेको बुझ्न गाह्रो पर्दैन ।

‘महानगरको उम्मेदवार केन्द्रीय नेतृत्वबाट टुंग्याउने भन्ने पार्टी निर्णय नै हो । पार्टी अध्यक्षले चासो लिनुलाई स्वभाविक मान्नुपर्छ’, काठमाडौं जिल्ला सहइन्चार्ज रहेका एमाले केन्द्रीय सदस्य कृष्ण राई भन्छन् । देशको राजधानी रहेको काठमाडौं महानगरको चुनावलाई अन्य दलले पनि प्रतिष्ठासँग जोडेका छन् । त्यसैले २०५४ र ०७४ को चुनाव जितेको एमालेले महानगरको नेतृत्व नछोड्ने योजना बनाउनु अस्वभाविक होइन ।

तर ‘एमाले ह्याट्रिक सपना’मा तत्कालको समस्या भने आकांक्षी व्यवस्थापन गर्दै उम्मेदवार चयन गर्नु नसक्नु हो । महानगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेपछि जिल्ला कमिटीमा छलफल भइरहेको छ । ‘अझै केही दिन लाग्न सक्छ । सके त सर्वसम्मत सिफारिस गर्ने भन्ने नै हो, हामी छलफलमा छौं’, एक जिल्ला नेता भन्छन् ।

आगामी ३० वैशाखमा हुने चुनावमा मेयरका उम्मेदवार हुन चाहेकामध्ये विद्यासुन्दर शाक्य र केशव स्थापितको दाबी बलियो रहेको एमाले नेताहरु बताउँछन् । दुवै पछि हट्न चाहेका छैनन् । स्थापित २०५४ र शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् । तर एमाले नेताहरू भने मनोनयन दर्ता हुने बेलासम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन हुने र यस पटकको निर्वाचन जितेरै छोड्ने दाबी गर्छन् ।

पुरानो जनमतले उत्साह
साझा उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रने सत्तारुढ गठबन्धनको तयारी हुँदा पनि एमाले नेताहरु उत्साहित हुनुमा भने २०७४ को चुनावी नतिजा हो । त्यसबेला एमालेका उम्मेदवार शाक्य १९ हजार बढी मतान्तरले निर्वाचित भएका थिए ।
शाक्यले ६४,९१३ मत ल्याएर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५,२६९ मत पाएका थिए । यो भनेको माओवादी केन्द्र, नयाँ शक्ति पार्टी (अहिले जनता समाजवादी पार्टीसँग एकता भइसकेको), राष्ट्रिय जनमोर्चा सहित दलले पाएको मत जोड्दा भन्दा धेरै हो ।

०७४ सालमा माओवादी केन्द्रका उम्मेदवारले ७,९०६, नयाँ शक्तिका उम्मेदवारले ६,०५०, जनमोर्चाले १३१ मत र फोरम लोकतान्त्रिकले ११८ मत ल्याएको थियो । अहिले सत्ता गठबन्धनमा रहेका यी सबै दलको मत जोड्दा ५९,४७४ मात्रै हुन्छ । अर्थात् २०७४ कै मत अनुपात कायम रहे सत्ता गठबन्धन भन्दा एमाले उम्मेदवारको मत ५,४३९ ले बढी हुन्छ ।

यद्यपि त्यो चुनावमा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवार बनेर रञ्जु दर्शना र किशोर थापाले धेरै मत पाएका थिए भने तत्कालीन राप्रपा नेपालसँग एमालेको तालमेल थियो । विवेकशीलका उम्मेदवार दर्शनाले २३,४३९ र साझा पार्टीका उम्मेदवार थापाले १८,४९६ मत ल्याएका थिए ।

यो पटक विवेकशील साझाले समीक्षा बास्कोटालाई मेयरको उम्मेदवार बनाएको छ भने र्‍यापर इन्जिनियर बालेन शाह, मिस नेवाः भइसकेकी सुनिता ढंगोलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । तर उनीहरूले दर्शना र थापाले जसरी मत नकाट्ने एमाले र कांग्रेसका नेताहरू बताएका छन् भने राप्रपा विभाजित छ । पार्टीबाट विद्रोह गरी कमल थापाले बनाएको राप्रपा नेपालसँग तालमेलको सहमति गरेपनि एमालेले २०७४ कै अनुपातमा मत पाउने अवस्था देखिन्न ।

त्यसबेला जस्तो हैसियतमा कमल थापा नरहेको एमालेका नेताहरू बताउँछन् । ‘यसपटक राप्रपा नेपाललाई हामी उपमेयर नै दिन्नौं । त्यो पार्टी पनि पहिले जस्तो छैन’, एमालेका एक नेता भन्छन् । यसबाहेकका प्रतिकुलता पनि एमालेले आगामी चुनावमा खेप्नुपर्नेछ, जसले ह्याट्रिक सपना बिफल तुल्याउन सक्छ ।

बिग्रेको राजनीतिक माहोल

२०७४ को चुनाव हुँदै गर्दा अध्यक्ष ओली र एमालेप्रति आकर्षण उच्च थियो । २०७२ को संविधान जारी गर्न लिएको पहलकदमी र भारतीय नाकाबन्दीविरुद्धको अडानका कारण शहरी क्षेत्रको ‘राष्ट्रवादी मत’ एमालेले पाएको थियो । माओवादी केन्द्रको समर्थनमा बनेको एमाले सरकार ढलेपनि सहानुभूति एमालेले बटुलेको थियो ।

किनकि त्यसबेला ओली सरकार ढल्नुको मूख्य कारण पुष्पकमल दाहाल प्रचण्डको सत्ता मोह रहेको प्रचार एमालेले गरेको थियो । त्यो सत्ता हेरफेरसँग राष्ट्रवादी कार्डलाई जोडेर एमालेले प्रचार गरेको थियो । मुलुकको माइक्रो म्यानेजमेन्टसम्म दिल्लीको हस्तक्षेप रहेको मनोविज्ञान तान्न ओली र एमाले सफल हुँदा काठमाडौं महानगरको जित सजिलो भयो ।

तर यसपटक एमालेसँग विपक्षी हुनुबाहेक त्यसबेला जस्तो बलियो राजनीतिक आकर्षण छैन । ‘ कांग्रेसको संगठन थप सशक्त भएको छ । तालमेलले पनि सजिलो बनाएको छ’, कांग्रेसको काठमाडौं जिल्ला सभापति सबुज बानियाँ भन्छन्, ‘आउँदो चुनावमा मेयर मात्र होइन, महानगरमा धेरै वडा कांग्रेसले जित्छ ।’

विभाजनको असर

पार्टी विभाजन एमालेका लागि यो चुनावको अर्को चुनौती हो । लामो समय पार्टी नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा ठूलै पंक्ति एमालेबाट अलग भएका छन् ।

गएको २ भदौमा बनेको नेकपा एकीकृत समाजवादीले एमलेकै मत काट्ने निश्चित छ । नेताहरुले पनि खुलेरै एमाले हराउनु आफ्नो पार्टीको उद्देश्य भएको बताउने गरेका छन् ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौं महानगरमा आफूहरुको राम्रो भोट रहेको दाबी गर्छन् । भन्छन्, काठमाडौंमा हाम्रो शक्ति राम्रो छ । महानगर पाए पनि हामी जित्छौं ।’

सुस्ताएको वैकल्पिक शक्ति

वैकल्पिक शक्ति सुस्ताउनुको असर समेत यसपटक महानगरको चुनावमा देखिन सक्छ । २०७४ को चुनावमा रञ्जु दर्शना र किशोर थापाले पाएको मत जोड्दा ४१,९३६ हुन्छ । यो भनेको झण्डै कांग्रेसले पाएको मत बराबर हो ।

मेयर र वडाध्यक्षले पाएको मतपरिणाम तुलना गर्दा पनि दर्शना र थापाले प्रमुख दलहरुकै मत काटेको पुष्टि हुन्छ । त्यो चुनावमा सवैभन्दा बढी मत कांग्रेसको काटिएको छ । कांग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा ६३,४२८ हुन्छ । जबकी मेयरका उम्मेदवार जोशीले ४५,२६९ मत ल्याए । यो भनेको १९ हजारको अन्तर हो ।

एमालेको पनि मत काटिएको थियो । एमाले वडाध्यक्षहरुले ल्याएको मत ७३,१२४ भएपनि मेयर जित्दा पनि शाक्यले ६४,९१३ ल्याए । यो ८ हजारको अन्तर हो । माओवादी केन्द्रको पनि तीन हजार मत वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारले काटेका थिए । माओवादी केन्द्रका वडाध्यक्षहरुले पाएको मत जोड्दा १०, ४४८ हुन्छ, तर मेयरका उम्मेदवारले भने ७,९०६ मत मात्रै पाए ।

वैकल्पिक शक्तिको आकर्षण कम हुँदा त्यो मत दलीय उम्मेदवारमा गए यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

कमजोर कार्य सम्पादन

मेयर विद्यासुन्दर शाक्यलाई चुनावका बेला आफैंले कबोल गरेको घोषणापत्र कार्यान्वयनमा चुकेको आरोप लाग्दै आएको छ ।

कतिसम्म भने पार्टी बैठकहरुमा समेत शाक्य काठमाडौंमा अलोकप्रिय बनेको प्रश्न उठेको थियो । तर अहिले यस्तो सन्देश बाहिर लैजान उपयुक्त नहुने साझा बुझाइले शाक्यको बचाउमै एमाले नेताहरु देखिन्छन् ।

गठबन्धनको सन्देश

राजनीतिमा गठबन्धन भनेको संख्याको जोड मात्रै नभएर राजनीतिक माहोल र मतदाताको मनोविज्ञानमा पर्ने प्रभाव समेत हो । त्यसको मार यसपटक एमालेका उम्मेदवारहरुले खेप्नुपर्ने परिस्थिति निर्माण भएको छ । उच्च मनोबलसहित सत्तारुढ गठबन्धन संयुक्त चुनाव कार्यक्रममा जाँदा एमालेका निम्ति प्रतिकुल माहोल सिर्जना हुन सक्छ ।

राजनीतिक सन्देशसँगै २०७४ को चुनावमा वडाध्यक्षहरुको पाएको मत जोड्ने हो पनि पनि एमालेलाई महानगर जित्न सजिलो हुने देखिन्न । त्यो चुनावमा गठबन्धनका वडाध्यक्षहरुको उम्मेदवारहरुले पाएको मत जोड्दा ८०,६३४ हुन्छ भने एमालेका वडाध्यक्षहले पाएको मत ७३,१२४ हो । त्यसबेला राप्रपाले पाएको मत (१०,५३९) जोड्दा थोरैले मात्रै एमाले अगाडि छ ।

यसबाहेक महानगरमा थपिएको २०,९३३ नयाँ मतदाता पनि एमालेका निम्ति थप चुनौती बन्न सक्छन् । किनकि राष्ट्रिय राजनीतिक वातावरणले नयाँ मतदाता प्रभावित हुने धेरै सम्भावना हुन्छ ।

Comments
Kamal Panthi

Recent Posts

रवि लामिछाने: पक्राउ गर्ने कुनै आधार नभएकोले अदालतले पक्राउ पुर्जी नदिएको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने कुनै आधार नहुँदा अदालतले…

55 years ago

“सरकारलाई चुनौती: रवि लामिछानेको ‘मान्छे बेचेर होइन, बचाएर आएको’ भनाइ”

"रवि लामिछानेले भने: 'धरपकड सह्य नहुने, म राजनीति बचाउन आएको हुँ'" राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…

55 years ago

“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा…

55 years ago

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago