दही चोरेको आरोपमा १२ वर्षीया बालिकालाई २० घण्टासम्म बाँधेर यातना

रामेछाप: घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।

मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेका थिए ।
घटनाबारे जानकारी पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । दही चोरेको आरोपसँगै दलित बालिका श्रेष्ठको घरभित्र पसेको हुँदा ‘अशुद्ध’ भएको भन्दै श्रेष्ठले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घण्टौंसम्म हात पछाडि थाममा बाँधेर राखेका थिए ।

स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बालिका बाँधिएको हल्ला हुन थालेपछि श्रेष्ठले प्रहरी पुग्नुअघि नै डोरी खोलिदिएका थिए । आमा अन्यत्र गएको र भाइ सानो भएकाले सोमबार राति दलित बालिकाको परिवारका सदस्यले उक्त घटनाबारे थाहा पाएनन् । र बाहिर पनि हल्ला फैलन पाएको थिएन । बाँधिएकी दिदीसँगै पीडित बालिकाका भाइले पनि श्रेष्ठको दलानमै रात बिताएका थिए ।

दलानको थाममा बाँधिएकी बालिकालाई श्रेष्ठले राति खाना भने दिएको र ‘खोलिदिन मन लागेपछि’ कतै भागे आफू परिन्छ कि भन्ने डरले खोल्न नसकेको श्रेष्ठले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अहिले श्रेष्ठलाई नियन्त्रणमा लिएको र बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण गराउन पठाएको थिङले बताए ।

बालिकालाई दलित भएकै कारण २० घण्टासम्म बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् । प्रनाउ थिङका अनुसार श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याइ नसकेकोले कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने कुराको टुंगा भइसकेको छैन ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago