पोखरा: युटयुबमा प्रकाश सपुतको नयाँ गीत ‘पिर’ शुक्रबार सार्वजनिक भएसँगै पक्ष–विपक्षमा बहस भइरहेको छ । विशेषत: माओवादी नेता कार्यकर्ताले यो गीतको भिडियोमा आपत्ति जनाएका छन् । भिडियोमा एक पूर्वलडाकु देहव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुको आपत्ति छ । प्रकाश सपुतले ‘भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र सार्वजनिक भइरहेकै विषयवस्तु’ भएको बताएका छन् । भिडियोमा पूर्वछापामारको भूमिकामा छिन्, केशु पुनमगर (केशरी) । जसले गुजारा चलाउन देहव्यापार गरेको भिडियोमा देख्न सकिन्छ । रिलमा जस्तै ‘रियल’मा पनि उनी वास्तविक पूर्वलडाकु भएको भनेर यतिबेला समाचार प्रकाशित भएका छन् । कान्तिपुरसहित विभिन्न सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले सानै उमेरदेखि जनवादी कलाकार भएर आन्दोलनमा लागेको बताएकी थिइन् । तर, उनी तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीसमर्थित जनवादी कलाकार भने थिइनन् ।
म्युजिक भिडियो सार्वजनिक भएपछि आइतबार राति एक टेलिभिजन कार्यक्रममा उनको पहिलो अन्तर्वार्ता प्रसारण भयो । कार्यक्रम प्रस्तोताले उनलाई माओवादीको पूर्वलडाकुकै रुपमा चिनाए । केशुले पूर्वमाओवादी लडाकुले डान्सबार, दोहोरीमा बाध्यतावस नाचेर जीवन गुजारा गर्नुपरेको र पार्टीले बेवास्ता गरेको बताइन् । ‘पीर’ को कथामा जस्तै थुप्रै पूर्वलडाकुले यौन व्यवसाय अँगाल्न परेको वास्तविकता उनले सुनाइन् । प्रस्तोताले संवादकै बीचमा केशुले नृत्य गरिरहेको ‘जनवादी’ गीतको भिडियो देखाए । डान्स बारमा नाचेको र सांस्कृतिक पहिरनमा जनवादी गीतमा नाचेको भिडियोको तुलना गरे ।

कार्यक्रममा देखाइएको भिडियो भने माओवादी कलाकारको नभई राष्ट्रिय जनमोर्चानिकट रक्तिम समूहको हो । ‘आँधीको बेग बनी आउ सारा जनता…’ बोलको गीतमा शब्द/संगीत हेमराज आश्रमको रहेको छ । गीतमा आश्रम र देवी सुनामीले स्वर दिएका छन् । आश्रम रक्तिम परिवारका सचिव हुन् । गीतको भिडियोमा मुख्य कलाकारको रुपमा पियारी थापा (सुप्रभा) छिन् । थापा राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सांसद हुन् । केशुले आफू माओवादी कलाकार भएको आसयको अन्तर्वार्ता दिएपछि रक्तिम परिवारका केन्द्रीय सचिव हेमराज आश्रम आश्चर्यमा परेका छन् । उनका अनुसार केशुको घर बागलुङको बरेङ गाउँपालिकास्थित सुखौरामा पर्छ ।

सुखौरा नेकपा मसालको बढी प्रभाव भएको क्षेत्र हो । मसालको सांस्कृतिक समूह रक्तिम जीवन शर्माको नेतृत्वमा थियो । रक्तिमको सांस्कृतिक अभियान बागलुङदेखि गुल्मीसम्म पुग्थ्यो । त्यही क्रममा जोडिएकी थिइन् केशु । ०५७/०५८ मा उनी ७/८ वर्षकी थिइन् । त्यतिबेलैदेखि उनी रक्तिम परिवारसँग नजिक भइन् ।

हेमराज आश्रम र पियारी थापाहरुले नेतृत्व गर्ने अभियानमा विभिन्न गाउँ पुगिन् । त्यतिबेला राष्ट्रिय जनमोर्चाले माओवादीविरुद्ध भण्डाफोर अभियान नै चलाएको थियो । त्यस्तो समयमा केशु कहिल्यै माओवादी नभएको हेमराज बताउँछन् । ‘हाम्रो पार्टीले जनयुद्ध पनि भन्दैनथ्यो, सशस्त्र विद्रोह भन्थ्यो,’ उनले भने, ‘उहाँ माआवादी हुनुभएन । युद्धमा हिँडेको पनि होइन ।’

०७१/०७२ मा केशु उच्च शिक्षा अध्ययन गर्न बागलुङबाट काठमाडौं पुगिन् । त्यतिबेला रक्तिमले नै आश्रय दिएको हेमराजले बताए । रक्तिमको सांस्कृतिक कार्यक्रम, देउसी भैलोमा उनी हिँड्थिन् । रक्तिमका भिडियोमा पनि उनले नृत्य गरिन् । ‘आँधीको बेग बनी…’ बोलको गीतको भिडियो ०७३/०७४ मा तयार भएको हो । २८ वर्षीया उनी दुई वर्ष अगाडिसम्म उनी रक्तिममै आबद्ध थिइन् । त्यसपछि भने मूलधारको संगीतप्रति उनको झुकाव बढ्यो । ‘उहाँ युद्धकालमा रक्तिममै हुनुहुन्थ्यो, माओवादी छापामार भएको सत्य होइन,’ हेमराजले भने, ‘उहाँले किन त्यस्तो भन्नुभयो, कहाँ के कनेक्सन छ थाहा भएन । कन्ट्रोभर्सीमा पर्दा सत्य लुक्दैन । उहाँलाई नै आत्मघाती हुन्छ ।’

सुखौरामा रहेकी केशुकी आमा मनकुमारीले पनि आफ्नो छोरी सानैदेखि रक्तिम परिवारमै आबद्ध भएको बताइन् । केशु स्वयं भने विभिन्न अन्तर्वार्तामा आफू ‘जनवादी कलाकार’ भएको बताउँदा गलत तरिकाले अथ्र्याइएको दाबी गर्छिन् । ‘जनवादी कलाकार हुन माओवादीमै हुनुपर्छ भन्ने होइन,’ उनले भनिन्, ‘अन्तर्वार्ताहरुमा पनि मैले अहिले पूर्वछापामारहरुको अवस्था के कस्तो छ भनेर नेताले बुझ्नुपर्छ भनेकी छु ।’

शुक्रबारको टेलिभिजन अन्तर्वार्तामा भने प्रस्तोताले उनलाई ‘सशस्त्र युद्धमा माओवादी पार्टीका तर्फबाट जनवादी कलाकार’ का रुपमा परिचय दिएका छन् । हरियो रंगमा रातो कलर भएको सर्टको दाहिनेपट्टी सेतो तारा बनाइएको पहिरनमा उनी अन्तर्वार्तामा उपस्थित भएकी थिइन् । अन्तर्वार्ताभर उनले रक्तिम परिवार र राष्ट्रिय जनमोर्चामा आबद्ध भएको कतै उल्लेख गरेकी छैनन् ।

राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापा (सुप्रभा) केशु पुन मगरको कलाकारिताको सुरुवात नै रक्तिमबाट भएको बताउँछिन् । ‘मेरै नेतृत्वमा रक्तिम अभियानमा लिएर हिँडेको हो, नाच्न पनि हामीले नै सिकायौं,’ उनले भनिन्, ‘सांस्कृतिक अभियानदेखि सडकसम्म सँगै संघर्ष गर्‍यौं । जंगल पसेर बन्दुक नै नबोके पनि परिवर्तनका लागि लड्यौं भन्नुपर्नेथियो ।’

पछिल्लो समय केशु रक्तिमको काठमाडौं महानगर समितिसँग आवद्ध रहेको आफूलाई थाहा भएको सांसद थापाले बताइन् । ‘गीतमा उहाँले आफ्नो कला प्रस्तुत गर्नुभएको हो,’ उनले भनिन्, ‘यसलाई अतिरञ्जित बनाउनु भएन ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago