यस्सो मिलाएर हेर्दिनु है भनेर फोन आउँछ, उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’

काठमाडौँ: कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको स्रोतले जनाएको छ ।
परीक्षण केन्द्रमा पुगेर उत्तरपुस्तिका बुझेपछि मात्रै नियुक्तिपत्र दिने प्रचलनविपरीत यसपटक केही परीक्षकलाई पहिले नै नियुक्तिपत्र थमाइएको परीक्षा शाखाका एक कर्मचारीले बताए । ‘पहिले परीक्षकको नियुक्तिपत्रमा नाम खाली राखेर दिइन्थ्यो, कापी दिँदा छासमिस पारिन्थ्यो, परीक्षण केन्द्रमा पुगेर कापी बुझेपछि मात्रै नियुक्तिपत्रमा परीक्षकको नाम कायम हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘यसपालि नियुक्तिपत्र बोकेर परीक्षण केन्द्र पुगेका परीक्षकले तोकिएको उत्तरपुस्तिका जाँच गरेका छन् ।’ कुन शिक्षकलाई कुन विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्न दिने सम्बन्धमा योजना नै बनेको एक कर्मचारीले सुनाए । परीक्षा शाखामा कार्यरत शाखा अधिकृतलगायतका कर्मचारी हुँदाहुँदै बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त्रक कृष्ण शर्मा र सहनियन्त्रक कृष्ण घिमिरेले परीक्षण केन्द्रमा आफूनिकट करारका कर्मचारी खटाएको बोर्डका कर्मचारीहरूको भनाइ छ ।

बोर्डको भक्तपुरस्थित सानोठिमी कार्यालय, एसओएस स्कुल, आदर्श मावि, चाणक्य मावि, एम्बिसन एकेडेमी, पद्मोदय माविलगायतमा यो वर्षको परीक्षण केन्द्र तोकिएको छ । बोर्डले परीक्षाको गोपनीयता भन्दै परीक्षण केन्द्र, परीक्षक, सम्परीक्षकलगायतका सूचना गोप्य राख्छ । यही गोपनीयताको फाइदा उठाउँदै कर्मचारीले मनोमानी गर्दै आएका छन् । गतवर्ष बोर्डको विराटनगर प्रमुख डम्बर बतास उत्तरपुस्तिका वितरणमा मनोमानी गरेको आरोपमा केन्द्र तानिएका थिए ।

बोर्ड स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका उत्तरपुस्तिका परीक्षणका लागि उपत्यका बाहिर पठाइएको छैन । विगत वर्षदेखि नै अप्टिकल मार्क रिडर (ओएमआर) को कारण देखाउँदै उपत्यकाका विद्यालयका उत्तरपुस्तिका छिटपुटबाहेक अन्य जिल्लामा पठाइँदैन । ओएमआर नतिजा प्रकाशनका बेला उत्तरपुस्तिका पढ्न सक्ने एक प्रकारको मेसिन हो । उपत्यका बाहिर उत्तरपुस्तिका ढुवानी गर्दा खुम्चिने र मेसिनले पढ्न नसक्ने भन्दै नपठाइएको बोर्डका अधिकारीहरू बताउँछन् । बोर्डका एक उपसचिवका अनुसार उपत्यकाका ठूला र नाम चलेका भनिएका स्कुलका सञ्चालकले यही मौका छोपेर परीक्षणमा मिलेमतो गर्दै आएका छन् । केही निजी विद्यालय आफूले खटाएका परीक्षकबाट आफ्ना विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गराएर ‘राम्रो नतिजा’ ल्याउन सफल हुँदै आएको उनले जनाए । कुन परीक्षण केन्द्रका कुन परीक्षकको हातमा उत्तरपुस्तिका पुगेको छ भनेर भेउ पाएका स्कुल सञ्चालकले उत्तरपुस्तिका परीक्षणमा समेत चलखेल र दबाव दिने गरेको एक शिक्षकले बताए । ‘यस्सो मिलाएर हेर्दिनु है भनेर फोन आउँछ,’ उनले भने । माथिदेखिकै मिलेमतो र विद्यालयको कोडका आधारमा पनि विद्यालय र परीक्षक सहजै चिनिने अवस्था रहेको उनले बताए ।

यसपटक बोर्डले एसोएस स्कुल र आदर्श माविमा परीक्षा निर्देशिकाविपरीत बुद्धिमता गौतम र डिल्ली नेपाललाई उत्तरपुस्तिकाको जिम्मा दिएको छ । परीक्षा शाखामा १० अधिकृत भए पनि करारका उनीहरूलाई जिम्मा दिइएको हो । उनीहरूलाई प्रश्नपत्र निर्माणका बेला भाषा सम्पादनका लागि नियुक्ति गरिएको हो । १० मध्ये ३ अधिकृत मात्रै परीक्षण केन्द्रमा खटिएका छन् । बोर्डले उत्तरपुस्तिका परीक्षणअघि शिक्षकहरूलाई अभिमुखीकरण गर्छ । त्यही बेलादेखि नै बोर्ड र स्कुल सञ्चालकले चाहेका परीक्षक नियुक्ति गर्न मिलेमतो सुरु हुने परीक्षा शाखाका एक कर्मचारीले बताए । ‘एसईईको उत्तरपुस्तिका काठमाडौं बाहिर पठाइन्छ तर कक्षा १२ को किन पठाइँदैन ?’ उनले भने, ‘केही न केही साँठगाँठ छ भन्ने आशंका यहींबाट गर्न सकिन्छ ।’ यसपटक सैद्धान्तिक विषयतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था भएका कारण पनि ‘मिलेमतो’ भएको उनले दाबी गरे ।

कक्षा १२ को उत्तरपुस्तिका सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र कम्तीमा ३ वर्षदेखि उक्त विषय अध्यापन गराउँदै आएको शिक्षकले परीक्षण गर्न पाउने व्यवस्था छ । एक दिनमा एक परीक्षकले बढीमा ५० वटा मात्रै उत्तरपुस्तिका परीक्षण गर्न पाउने परीक्षा निर्देशिकामा उल्लेख छ । तर एउटै परीक्षकले एकै दिन १ सय ४० वटासम्म उत्तरपुस्तिका परीक्षण गर्ने गरेको एक परीक्षकले बताए । ‘४ दिनमा परीक्षण गर्न भनेर २ सय कापी लिएको हुन्छ, तर डेढ दिनमै २ सय कापी जाँचेर सकिन्छ,’ उनले थपे, ‘रेकर्डमा ५० वटा कापी मात्रै परीक्षण गरेको देखिन्छ तर व्यवहारमा त्यस्तो हुँदैन ।’ प्रत्येक उत्तरपुस्तिका परीक्षणबापत ४० रुपैयाँ पारिश्रमिक परीक्षकले पाउँछन् । धेरै पैसा कमाउन पनि धेरै परीक्षण गर्ने होड चल्छ । उत्तरपुस्तिकाको सम्परीक्षणमा झनै मनोमानी हुने गरेको बोर्डका कर्मचारी बताउँछन् । सम्परीक्षण गर्न वर्षौंदेखि सूचीकृतहरू उही व्यक्ति रहेका छन् । कक्षा १२ मा अध्यापन नै नगराउने, अवकाश प्राप्त गरिसकेका शिक्षक र प्राध्यापकहरूलाई बोर्डले सम्परीक्षण गर्नेहरूको ‘रोस्टर’ मा राखेको छ ।

बोर्ड अध्यक्ष महाश्रम शर्माले उत्तरपुस्तिका परीक्षणमा मिलेमतो हुन नसक्ने भन्दै आरोप अस्वीकार गरे । ‘काठमाडौंको कापी बाहिर पनि पठाएका छौं, बाहिरको कापी काठमाडौं पनि ल्याएका छौं,’ उनले भने, ‘कोडिङ, डि–कोडिङ गरेकाले उत्तरपुस्तिका पहिचान हुन सक्दैन ।’ कुनै परीक्षण केन्द्रमा कोही कसैबाट बदमासी भए उत्तरपुस्तिका परीक्षण पद्धतिबारे आफूले पुनः जाँच गर्ने उनले जनाए । ‘कुन–कुन कर्मचारी खटिएका छन्, एक दिनमा कति कापी परीक्षण भए, सबै कुरा मलाई पनि थाहा हुँदैन,’ शर्माले थपे, ‘कहींकतै कमजोरी भएको फेला परे पुनः परीक्षण हुन्छ ।’ बोर्डका सदस्य सचिव अर्यालले परीक्षणमा मिलेमतो रहेको अस्वीकार गरे । करारका कर्मचारीलाई परीक्षणमा पठाएको बारे पनि आफूलाई थाहा नभएको उनले दााबी गरे । ‘एउटा परीक्षण केन्द्रमा दुई विषयको मात्र उत्तरपुस्तिका पठाइने हुनाले मिलोमतो हुन सक्दैन,’ उनले भने ।

बोर्डले गत जेठ १६ देखि २५ सम्म सञ्चालन गरेको कक्षा १२ को उत्तरपुस्तिका शाखा कार्यालय र तोकेका परीक्षण केन्द्रमा परीक्षण चलिरहेको छ । ४ लाख १० हजार ५० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago