काठमाडौं: हरेक पर्वले आ-आफ्नै महिमा वहन गरेका छन् । जीवन र जगत्लाई सुसंस्कृत र जागृत गराउन चाडपर्वहरू मनाउने गरिन्छ । ऋतुराज वसन्तको सुन्दर प्राकृतिक पर्यावरणसँगै भित्रिने चैत्र नवरात्रको आफ्नै महिमा रहेको छ । समशीतोष्ण वासन्ती वहारसँगै दुर्गा भगवतीको पूजा आराधना गरी भव्यरूपमा नवरात्र (चैतको दशैँ) मनाउने वैदिक विधिविधान रहेको छ । यसैगरी चैत्र शुक्ल प्रतिपदाबाट वत्सरारम्भ हुने गर्दछ । संवत्सर र नववर्षको आरम्भ पनि यसै दिनबाट हुने गर्दछ । शुक्ल प्रतिपदाका दिन विधिवत् रूपमा घटस्थापना गरी महाकाली महालक्ष्मी र महासरस्वतीरूपी दुर्गादेवीको पूजा अर्चना गर्ने शास्त्रोक्त विधि-विधान रहेको छ ।

नवरात्र :

शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म नौ रात हुने भएकाले यस समयलाई नवरात्र भनिएको हो । नौ दिनमा नौ थरि देवीहरूको उपासना हुने गर्दछ । तन्त्र शास्त्राअनुसार आश्विन, माघ, चैत्र र असार गरी वर्षमा चारपटक नवरात्र पर्दछन् । हरेक नवरात्रको विशेष महिमा रहेको पाइन्छ । हाम्रो लोक परम्परामा आश्विन नवरात्र र चैत्र शुक्ल अष्टमीको दिनमात्र दशैँ मनाउने चलन छ । अन्य नवरात्रमा भगवती दुर्गादेवीको विशेष उपासना हुने गर्दछ ।

आश्विन शुक्ल नवमीमा देवीले दैत्यमाथि विजय प्राप्ति गरेको र चैत्र अष्टमीमा देवीको प्रादुर्भाव भएको कुरा शास्त्रमा उल्लेख पाइन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले उक्त समयको नवरात्रलाई ‘बोधन’ नवरात्र भनिन्छ । माघ महिनामा मनाइने नवरात्र ‘भोजन’ हो, जुनबेला देवीद्वारा भोजन ग्रहण गरिन्छ । चैत्रशुक्ल पक्षमा मनाइने शयन नवरात्र हो । यसवेला भगवतीको शयन कक्षमा प्रवेश हुन्छ । असारमा परिवर्तन नवरात्र मनाइन्छ । उक्त आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्मको समयमा देवीले कोल्टे फेर्ने कुरा ‘कुलागम रहस्य’मा उल्लेख गरिएको छ ।

दुर्गादेवी :

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रहृमाजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम महाकाली हो । उनका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, बाण, गदा, शूल, चक्र, शङ्ख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गरेकी छन् ।

सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौं हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बन्चरो), त्रिशूल शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।

सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएको शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् । त्यस्ती देवीका आठ भुजा (हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् । नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अङ्गभूत छ देवी छन् ः नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

दुर्गासप्तशती :

दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराणअन्तर्गतको देवी माहात्म्य नै वास्तवमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमा सहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसङ्ग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषासुरको बध, चौथो अध्यायमा इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ ।

पाँचाँं अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटाँं अध्यायमा धुम्रलोचनको बध, सातौं अध्यायमा चण्ड र मुण्डको बध, आठौँ अध्यायमा रक्तबीजको बध, नवौं अध्यायमा निशुम्भ बध, दशौं अध्यायमा शुम्भ बध, एघारौं अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदानको कथा छ । बाह्रौं अध्यायमा देवी चरित्र पाठ र श्रवणको महत्व वर्णन गरिएको छ । यसैगरी तेह्रौं अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ ।

दुर्गा देवीको उपासना र फल :

नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ, काम र मोक्ष गरी चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छन् । जुन कामनासहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजा भएकी महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय छन् । किनकि उनैलाई महाकाली महालक्ष्मी र महासरस्वती भनिएको कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुन् । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नुपर्दछ । पाठपश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् त्यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्छन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सबै प्रकारका भय नाश हुन्छन् भनी दुर्गासप्तशतीमा बताइएको छ । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ । (दुर्गा सप्तशती १२।१०) ।

यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशँै मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन–धान्य, पुत्र–पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेषगरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । देवी माहात्म्यको पाठमात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ ।

शरद कालीन नवरात्र र वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुन्छ । यसैगरी गुप्त नवरात्रमा पनि देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गलास्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिएको छ ।

चैत्र शुकलपक्षको प्रतिपदादेखि नवमीसम्म भगवतीको उपासना गरी मनाइने नौ दिनको समयलाई चैत्र नवरात्र भनिन्छ । यो समय शक्तिका उपासनकका निम्ति उत्तम मानिन्छ । यस अवसरमा अभीष्टसिद्धिका निम्ति शतचण्डी पाठ, देवीभागवत पाठका साथै मन्त्र सिद्धिका निम्त विशेष मन्त्रको साधना, यन्त्रको साधना आदि कार्य हुने गर्दछन् । देवी सम्पूर्ण मनोकामना सिद्ध गर्ने आद्य शक्ति हुन् । विधिपूर्वक देवीको आराधना नगरे फल प्राप्त नहुने भएकाले विधि विधानलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । विधिपूर्वक गरिएको उपासना सर्वसिद्धिदायी रहने कुरा देवीभागवत, मार्कण्डेय पुराण आदि शास्त्रमा फलश्रुति वर्णन गरिएको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago