तराईका जिल्लामा कति हदसम्मको चोरी पैठारी

विराटनगरः पूर्वी तराईका जिल्लामा कति हदसम्मको चोरी पैठारी हुँदो रहेछ भन्ने तथ्य भन्सार कार्यालय विराटनगरले दिएको खाद्यान्न आयातको तथ्यांकले पुष्टि गरेको छ।

कार्यालयले उपलब्ध गराएको तथ्यांकमा कोभिडमा लकडाउन र नाका सील भएका बेला ठूलो परिमाणमा वैध आयात वृद्धि भएको र अवैध आयात रोकिएको देखिएको हो। विशेषतः गहुँ, मकै, धान र चामलको पैठारी कोभिडको समयमा वृद्धि भएको छ। कार्यालयको तथ्यांकमा कोभिडको पहिलो लहरमा गहुँ आयात अचाक्ली वृद्धि भएको देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ को प्रथम अर्ध-वार्षिक अवधिमा विराटनगर नाकाबाट ९ हजार ५४३ टन गहुँ आयात गरिएको थियो। तर यही गहुँको पैठारी गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाका अवधिमा अर्थात् कोभिड कालमा ३६ हजार ८ सय ५३ टन गरियो।
तर बोर्डरको सिलबन्दी र लकडाउन खुलेसँगै तस्करी पनि पहिलेझैं मौलायो र गहुँको आयात पुनः खुम्चियो। जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यसको पैठारी ९ हजार ५०१ टन मात्र गरिएको अभिलेख कार्यालयले दिएको छ।

खाद्यान्न व्यवसायी जीवन रिजालले गहुँ आयातको तथ्यांकमा आश्चर्य मान्नु नपर्ने बताए। ‘बरु आश्चर्य त कुन कुरामा देखिएको छ भने चोरीपैठारीको डिग्री कति माथिसम्म रहेछ भन्ने तथ्य यसबाट छर्लङ्ग भएको छ।’ उनी भन्छन्, ‘नेपालका तराईका सबै छोटी नाकाबाट खाद्यवस्तु र खाद्यान्नको खुलेआम तस्करी छ। यो रोकिनेबित्तिकै आधिकारिक आयात साइज वृद्धि हुन्छ। गत आर्थिक वर्षको तथ्यांकमा पनि यही भएको हो।’

त्यस्तै मकैको आयात पनि वृद्धि भएको छ। विराटनगर नाकाबाट आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा २९ हजार ५ सय ११ टन मकै आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ह्वात्तै वृद्धि भएर १ लाख १७ हजार ६१८ टन आयात भएको छ। चालु आवको पहिलो ६ महिनामा भने गत आवको भन्दा ५ हजार टनले कम १ लाख १२ हजार २ सय ६२ टन मकै आयात भएको छ।

महासंघका केन्द्रीय सदस्य एवम् खाद्यान्न व्यवसायी अविनाश बोहराका अनुसार भारतमा आर्थिक वर्ष २०७६ सालमा मकैको उत्पादन राम्रो हुन सकेन। त्यस वर्ष आएको मकै पनि धेरैजसो चोरी नाकाबाटै आयात भयो। तर २०७७ मा भारतको उत्तरी विहार क्षेत्रमा मकैखेती पनि फस्टायो भने कोभिडका कारण बोर्डर सील भएर चोरी आयात बन्द भयो।

यसरी २०७७ मा आधिकारिक आयात बढी भएको देखिएको हो। अर्का खाद्यान्न व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य श्रवण अग्रवालले २०७७ देखि पूर्व क्षेत्रमा पशुपन्छीका दाना उद्योग आक्रामक रूपमा सञ्चालन हुन थालेको बताए। त्यस्तै गहुँको चोकरभन्दा मकै सस्तो पर्न थालेकाले गाईभैंसी पाल्ने कृषक पनि चौपायालाई दाना खुवाउन मकैमा नै आकर्षित भएका छन्।

व्यवसायी अग्रवालले भने, ‘पहिले पहिले मकै बंगलादेशबाट ल्याउनुपर्थ्यो तर २ वर्षयता भारतको विहारबाटै आउन थालेको छ। विहारको गुलाबबाग शहर भारतमा मकैको तेस्रो ठूलो मन्डी हो। पहिलो ठूलो मन्डी मध्यप्रदेश र दोस्रो कर्नाटका हो। तर एमपी र कर्नाटका दुवै राज्य नेपालका सबै नाकाबाट टाढा पर्छन् भने गुलाबबाग शहर विराटनगर नाकाबाट ८८ किलोमिटर मात्र दक्षिणमा छ। त्यसैले गुलाबबागबाट विराटनगर नाका हुँदै मकैको आयात गर्न ढुवानी खर्चका कारण सस्तो पर्छ। नेपालमा आयात गरिने मकैको अत्यधिक मात्रा विराटनगर नाकाबाट भित्रनुको कारण यही हो।’

उनले अघिल्लो आर्थिक वर्षमा अत्यधिक आयात गरिएको मकैको केही मौज्दात बाँकी नै रहेकाले चालु आर्थिक वर्षको पहिलो अर्ध-वार्षिक अवधिमा यसको पैठारी केही घटेको बताए। अग्रवालले तर चालु आवको दोस्रो अर्ध-वार्षिक अवधिमा मकैको आयात गत आवको भन्दा बढी हुने जिकिर गरे।

उनले पशुपन्छीका दाना उद्योगबाट विगतका वर्षमा भन्दा बढी मकैको माग आइरहेको स्पष्ट पारे। विराटनगर नाकाबाट धानको आयात प्रत्येक आर्थिक वर्षमा क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। लकडाउनपछि मोरङ-सुनसरीमा मात्र सानाठूला गरी १० वटा राइस मिल खुलेको व्यवसायी राजु राठीको भनाइ छ।

राठीका अनुसार वृद्धि भएका उद्योगले समेत धमाधम धानको मौज्दात राख्न थालेका छन्। पुसयता विराटनगर नाकाबाट ठूलो परिमाणमा धान भित्रन थालेको छ। यसले आयात बढेको हो। भन्सार कार्यालयका अनुसार २०७६ को साउनदेखि पुस मसान्तसम्म विराटनगर नाका हुँदै ३८ हजार ४ सय ५२ टन धान भित्रिएकोमा २०७७ को सोही अवधिमा ४० हजार २ सय ११ टन आयात गरिएको छ। त्यस्तै २०७८ को सोही अवधिमा ४८ हजार ८ सय ७६ टन धान विराटनगर नाकाबाट पैठारी भएको देखिन्छ।

लकडाउन र नाकासिलको असर चामल आयातमा छर्लङ्ग देखिएको छ। विराटनगर नाकाबाट आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा चामलको आयात दुई गुनाभन्दा बढी छ। त्यस्तै अघिल्लो आवको पहिलो आर्थिक वर्षमा भन्दा चालु आवको सोही अवधिमा चामल आयात घटेको देखिन्छ।

व्यवसायी जितु बोथडा भन्छन्, ‘लकडाउन र नाका सिल गरिएका बेला जोगबनीनेर नेपालको रानी बजारका उपभोक्ता चामल खरिद गर्न ७ किलोमिटर उत्तरको विराटनगरको बजारमा आइपुग्थे। तर अहिले विराटनगरमात्र होइन दुहबी, इटहरी र धरानदेखिका उपभोक्ता चामल खरिद गर्न जोगबनी पुग्छन्। छोटी नाकाबाट हरेक दिन र रात ट्रयाक्टरका ट्रयाक्टर तस्करी गरिने चामलको त भिन्नै पाटो छ।’

विराटनगर भन्सारका अनुसार आव २०७६/७७ मा त्यस नाकाबाट १६ हजार ८ सय ३३ टन चामल भित्रिएकोमा आर्थिक वर्ष २०७७/७८ मा ह्वात्तै वृद्धि भई ३८ हजार ८ सय ६४ टन आयात गरिएको छ। तर चालु आर्थिक वर्षको सोही अवधिमा गत आवको सोही अवधिका तुलनामा आयात घटेको छ। चालु आवको पुस मसान्तसम्ममा २२ हजार ४ सय ६१ टन चामलको आयात गरिएको छ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago