काठमाडौं: महिनावारी भएको बेला प्रयोग गर्ने विभिन्न सामग्री बजारमा पाइन्छ । विभिन्न गुणस्तरका सेनिटरी प्याड, टेम्पोन, महिनावारी कप लगायत । तर, अहिले पनि नेपालमा अधिकांश महिलाले कपडाको प्याड (टालो) प्रयोग गर्ने गरेका छन् ।

सबैको पुहँचमा सेनिटरी प्याड अझै छैन । तर, पछिल्लो समय युवती, किशोरीहरुमा भने महिनावारी कप लोकप्रिय भइरहेको छ । प्रयोग गर्न सहज, सुलभ र फेरिरहन झन्झट नहुने भएकाले यसको प्रयोग राम्रो हुने प्रयोगकर्ताहरु बताउँछन् ।

स्नातक पहिलो वर्षमा अध्ययनरत बानेश्वरकी कमला घिमिरेले महिनावारी कप प्रयोग गर्न थालेको ६ महिना भएको बताउँछिन् । महिनावारी कप प्रयोगबारे धेरै अघिदेखि सुन्दै आएको, ट्युटरियल भिडियोहरु देख्दै आएको भएपनि प्रयोग गर्न हिच्किचाहटका कारण धेरैपछिबाट मात्रै प्रयोग गर्न थालेको बताउँछिन् । अहिले उनलाई सहज र सस्तो हुने अनुभव गरेकी छन् । उनी भन्छिन्, ‘प्रयोग नगरेसम्म कसरी प्रयोग गर्ने होला भन्ने लाग्ने रहेछ । पहिलो पटकको पहिलो दिन अलि असहज जस्तो हुने रहेछ । त्यसपछि त सहज हुन्छ ।’

उनी ८०० रुपैयाँ मूल्य पर्ने कप प्रयोग गरिरहेकी बताउँछिन् । भन्छिन्, ‘सेनिटरी प्याडभन्दा यो धेरै सस्तो हुने रहेछ । प्याड प्रयोग गर्दा वर्षमा कम्तिमा पनि दुई हजार रुपैयाँ खर्च हुन्छ । कप एक पटक किनेपछि कम्तिमा पनि पाँच वर्ष प्रयोग गर्न सकिन्छ ।’

कक्षा १२ मा पढ्ने कुपण्डोलकी सुष्मा कार्कीले महिनावारी कप प्रयोग गर्न थालेको एक वर्ष भएको सुनाउँछिन् । उनले महिनावारी कप प्रयोग गर्दा धेरै सहज हुने साथीहरुको अनुभव सुनेपछि उनले पनि प्रयोग गर्न थालेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले सुन्न त नौ कक्षा पढ्दादेखि सुनेको तर प्रयोग गरेको थिइनँ । साथीहरुले सहज हुन्छ भनेपछि चलाउन थालेको अहिले त सजिलो लाग्छ ।’

सुष्मालाई महिनावारी कप प्रयोग गर्नुको अर्को राम्रो पक्ष भनेको शौचालय जाँदा भुईंमा रगत नचुहिनु हो । भन्छिन्, ‘कहिलेकाहीं ट्वाइलेटमा पानी नभएको बेला पनि जानुपर्ने हुन्छ । त्यसमा बेला रगत चुहिन्छ, तर बगाउने पानी पनि हुँदैन । कप लगाएपछि त्यो समस्या हुँदैन ।’ कक्षामा उनका चार जना केटी साथीहरु छन् । ती सबैले आजभोलि महिनावारी कप प्रयोग गर्ने गरेको बताउँछिन् ।

यी कारण अहिलेको किशोरी तथा युवतीहरुमा महिनावारी कपको लोकप्रियता बढ्दै गइरहेको पाइन्छ । यो सहज, सुलभ र वातावरणमैत्री भएकाले प्रयोगकर्ताको संख्या बढेको स्त्री तथा प्रसूति रोग चिकित्सक कुमकुम झा बताउँछिन् । सरसफाइमा ध्यान दिएर सुरक्षित तरिकाले चलाउने हो भने सजिलो र सेनिटरी प्याडको तुलनामा सस्तो पर्न जाने डा. झा बताउँछिन् ।

महिनावारी कप सहरी क्षेत्रका महिलालाई भन्दा ग्रामीण क्षेत्रका महिलालाई अझ बढी उपयोगी हुन्छ । डा. झा भन्छिन्, ‘गाउँघरमा भनेको बेला सेनिटरी प्याड सहजै किन्न पाइँदैन । समय समयमा फेरिरहन समस्या हुन्छ । कपडाको प्याड सरसफाइ गरिरहन समय हुँदैन त्यस्ताको लागि एकदम उपयोगी चिज हो ।’

महिनावारी कप सिलिकनबाट बनेको हुँदा मानिसको छालालाई असर नगर्ने, एकदमै नरम हुने हुँदा योनीमा छिराउँदा समस्या नहुने, सफा गर्न सजिलो हुने र यसको प्रयोग गर्दा एलर्जी हुने सम्भावना नहुने उनको भनाइ छ ।

कसरी प्रयोग गर्ने ?

आफूले प्रयोग गर्ने कपको साइज थाहा पाउनुपर्छ । सिलिकनबाट बनेको यो कप नरम हुन्छ । कपलाई ‘सी’ आकारमा दोबारेर विस्तारै योनीभित्र राख्नुपर्छ । त्यहाँ राखेपछि दोब्राएको कप आफैं खुल्न गई रगत नचुहिने गरी सिल भएर बस्छ ।

सिल हटाउनको लागि कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ । यसको प्रयोग सुरुको केही समय असहज भएपनि बानी पर्दै गएपछि सहज हुन्छ । यसको प्रयोगबारे बिक्रेताले पनि सिकाउँछन् । अथवा युट्युबमा ‘ट्युटरिलयल’ भिडियोहरु देख्न सकिन्छ । त्यो हेरेर पनि प्रयोग गर्न सकिन्छ ।

कप सफा गर्ने तरिका

यो कप पुनः प्रयोग गर्न मिल्ने सामग्री हो । पुनः प्रयोग गर्नको लागि एकदमै सफा बनाउनुपर्ने हुन्छ । कप प्रत्येक ८ देखि १२ घण्टामा खाली गर्नुपर्ने हुन्छ । रगतले कप भरिएपछि पखालेर पुनः प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि पाँचदेखि दश मिनेटसम्म तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेपछि सुख्खा बनाएर सुरक्षित स्थानमा राख्नुपर्छ ।

त्यही कप अर्को पटक महिनावारी हुँदा कप प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा सरसफाइमा मुख्य ध्यान दिनुपर्ने स्त्री तथा प्रसूति रोग चिकित्सक कुमकुम झा बताउँछिन् ।

कुन उमेरकाले कुन साइज प्रयोग गर्ने ?

महिनावारी कप बजारमा तीनवटा साइजमा पाइन्छ । स्मल, मिडियम र लार्ज । यसको प्रयोग प्रयोगकर्ताको उमेर अनुसार गर्न सुझाव दिने गरिन्छ ।

१९ वर्षभन्दा कम उमेर समूहका लागि स्मल साइज, १९ देखि ३५ वर्ष उमेर समूहकाले मिडियम र ३५ वर्षभन्दा माथि उमेर समूहकाले लार्ज साइजको प्रयोग गर्न सकिन्छ ।

कति मूल्यमा पाइन्छ ?

एउटा महिनावारी कपको मूल्य ८०० रुपैयाँदेखि तीन हजारसम्म पर्ने नेपाली बजारमा पाइन्छ । एकैपटक धेरै पैसा तिर्नुपर्दा महँगो लागेपनि एकपटक एउटा महिनावारी कप किनेपछि कम्तिमा पाँच वर्षसम्म चलाउन मिल्छ । जबसम्म बिग्रँदैन तबसम्म प्रयोग गर्दा फरक नपर्ने स्त्री तथा प्रसूति रोग चिकित्सक डा. कुमकुम झा बताउँछिन् । यसरी पटकपटक प्रयोग गर्न मिल्ने भएकाले प्याडभन्दा कप किफायती हुने प्रयोगकर्ताहरु बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago