बालकथा: जङ्गली राजाको चुनाव – पारसमणि दाहाल

बालकथा: जङ्गली राजाको चुनाव :

बहुवनको जङ्गलमा प्रत्येक पाँच-पाँच वर्षमा त्यस जङ्गली राज्यको राजा चुन्ने परम्परा थियो । पाँच वर्ष पूरा भएको वैशाख एक गते बहुवन जङ्गलको राजाको चुनाव हुने गर्थ्यो । चुनिएको राजाले वैशाख एक गतेदेखि आगामी पाँच वर्षसम्म राजकाज सम्हाल्ने गर्थ्यो ।

चैत महिनाभरि राजा हुने उम्मेदवार जनावरले चुनाव प्रचार-प्रसार गर्न पाउँथे । राजाका उम्मेदवार जनावरहरू चुनावी वर्षको चैत महिनाभरि चुनाव प्रचारमा खुबै व्यस्त हुन्थे । प्रचार-प्रसारको सिलसिलामा उम्मेदवार र कार्यकर्ताहरू बीच मारपिट र झगडा पनि हुने गर्थ्यो । झगडामा अर्नाको सिङ भाँचिने, हात्तीको कान चिरिने, सिंहको खुट्टा भाँचिने, स्यालको पुच्छर चुँडिने, बाँदरको आँखा फुट्ने त सामान्य नै हुने गर्दथ्यो । तर वैशाख एक गते चुनावको नतिजा आएपछि भने सामान्यतया बहुवनको जङ्गली राजमा शान्ति हुने गर्थ्यो ।

यस वर्षको वैशाख एक गते राजाको चुनाव हुने वर्ष थियो । चुनावमा उठेका राजाका उम्मेदवार लगायत जगलभरिका सबै जनावरहरू चुनाव हुने स्थानमा भेला भए ।

बहुवनको जङ्गली राजमा राजा चुन्न भोट हाल्नु पर्दैन थियो । त्यस राज्यको परम्परा आफ्नै प्रकारको थियो । राजाका उम्मेदवार जनावरहरूले पालैपालो आगामी कार्यकालमा जङ्गली राजमा गरिने शान्ति, सुरक्षा, विकास निर्माणलगायत राज्यलाई अघि बढाउने आफ्नो योजना भाषणमार्फत् भेलामा जम्मा भएका जनावरहरूलाई जानकारी दिनुपर्थ्यो । जसको योजना राम्रो हुन्थ्यो, निर्णायक मण्डलले त्यही उम्मेदवारलाई राज्याभिषेक गरिदिने चलन थियो ।

यस वर्षको चुनावी सभामा पनि राजाका उम्मेदवारहरूले पालैपालो मञ्चबाट भाषण गर्न थाले। निर्णायक मण्डलले सबैको योजना तथा कार्यक्रम ध्यानपूर्वक सुनेर अङ्क दिँदै गए ।

पहिलो उम्मेदवारको रुपमा सिंहले चुनावी सभामा बोल्दै भन्यो “वंशजका नाताले वर्षौंदेखि यस जङ्गलको राजकाज आफ्ना पितापुर्खाले चलाउँदै आएको नाताले आगामी पाँच वर्ष पनि आफैले शासन चलाउनेछु ।

यो जङ्गली राज्यको शान्ति सुरक्षाका लागि कसैले चिन्ता गरिरहनुपर्दैन। देशको कुनाकाप्चासम्म घुमेर म आफै त्यसको प्रबन्ध मिलाउनेछु ।”

भूतपूर्व राजा सिंहको भाषण सकिएपछि निर्णायक मण्डलले बाघको नाम बोलाए । आफूलाई बल र शक्तिको प्रतीक ठान्ने बाघले पनि आफ्नो योजना सुनायो “यस राज्यको सुरक्षा र विकासका लागि मबाहेक अर्को उम्मेदवार नै को छ र ? त्यसैले आगामी पाँच वर्ष यो जङ्गली राज्यको राजा हुन म नै योग्य छु ।”

निर्णायक मण्डलमा बसेका ऊट, जेब्रा र अर्नाले उम्मेदवारहरूका भाषण ध्यानपूर्वक सुन्थे । आवश्यक नम्बर दिँदै जान्थे ।

बाघको भाषणपछि हात्तीको पालो आयो । आफूलाई हिमालय पर्वत जत्तिकै ठूलो ज्यान, टुँडिखेल जत्रै कान, धरहरा जत्रो खुट्टा, बलवान शरीर भएको ठान्ने हात्तीले पनि आफ्नो भाषण सुरू गयो “यस राज्यको राजा हुने अवसर मैले पाउनुपर्छ । म सबै जङ्गली प्राणीहरूको सुरक्षा गर्न सक्छु । जङ्गलमा पीपलै पीपलको वृक्षरोपण गर्ने अभियान चलाउनेछु । उखु, केरा र हरियो तरकारीको खेती गरी राज्यलाई हराभरा बनाउनेछु ।” आफ्नो योजना सुनायो ।

हात्तीको भाषण सकिएपछि पालो आयो, चितुवाको । आफूभन्दा चाँडो दौडन सक्ने यो राज्यमा अरू कुनै प्राणी नै नभएको ठान्ने चितुवाले पनि सकिनसकी आफ्नो योजना बतायो । आफ्नो राज्याभिषेकका लागि दाबी गर्यो ।

धुमधामले सभा चलिरहेको थियो । उपस्थित सबै जनावरहरू एकपछि अर्को उमेदवारको भाषण सुनिरहेका थिए । आगामी पाँच वर्षका लागि को राजा हुने हो ? उनीहरूका लागि कौतुहल थियो ।

निर्णायकले मयूरलाई भाषण गर्न बोलाए । “म जत्तिको सुन्दर पंक्षी यो राज्यमा को नै छ र ? त्यसैले यसपटक भने मैले नै राजसिंहासनको बागडोर पाउनुपर्छ । मेरो शासनकालमा वर्षैपिच्छे सुन्दरी प्रतियोगिताको आयोजना गर्नेछु । सुन्दरी प्रतियोगितामा विजयी सुन्दरीलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन पठाउने छु ।” मयूरले मञ्चमा छुनुमुनु गर्दै आफ्नो योजना सबिस्तार सुनाई ।

सुरिलो स्वरको धनी ठान्ने मैना चरीले नक्कल पारीपारी आफ्ना योजना सुनाई। आफू नै राजा हुनुपर्छ भन्ने तर्क तानी । मैना चरी पनि के कम ? आफ्नो शासनकालमा राष्ट्रव्यापी गीत-सङ्गीत प्रतियोगिताको आयोजना गर्ने, प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई ‘बहुवन जङ्गल तारा’ घोषणा गर्ने, विजेतालाई नयाँ नयाँ फिल्महरूमा गीत गाउने अवसर दिलाउने आफ्नो प्रतिज्ञा सुनाई ।

कुनै जमानामा खरायोसँगको दौडमा आफूले जितेर विश्व कीर्तिमान कायम गरेको बताउँदै बहुवनको कछुवाले पनि आफू राजाको उमेदवार बनेको र आफूलाई राज्याभिषेक गरिदिन निर्णायक मण्डललाई अनुरोध गर्यो । आफूले राजा हुने सौभाग्य पाएमा दौड प्रतियोगिताहरूको आयोजना गरिरहने र नयाँ-नयाँ विश्वकीर्तिमानहरू बनाउँदै जाने योजना सुनायो ।

बाँकी रहेका सबै उम्मेदवारहरूले भाषणमार्फत पञ्चवर्षीय योजनाहरू सुनाइसकेका थिए । सभा शान्तपूर्वक चलिरहेको थियो । निर्णायकले आफ्नो फैसला सुनाउन मात्र बाँकी थियो । सबै जनावरहरू, को राजा हुने हो ? भन्ने कौतुहलमा बसेका थिए । नयाँ राजाको जय-जयकारका लागि सबै आतुर थिए ।

यसै बीच जङ्गलको पल्लो छेउबाट ठूलो आवाज आयो । नाराबाजी र हो-हल्ला सहित जुलुस सभा स्थलतिर आइरहेको सबैले देखे । सबैको ध्यान त्यतैतिर तानियो । बहुवन जङ्गलको बाँदरको ठूलो हुल नाराबाजी सहित सभा स्थल नजिक आइपुग्यो ।

“बानर राज – जिन्दाबाद !,
शासनको बागडोर – बाँदरलाई दे !,
बाँदर – बाँदर – एक हाँ !”

जस्ता नारा सहित बाँदरको ठूलो फौजले सभा स्थल घेन्यो । जुलुसले निर्णायकलाई, बाँदरलाई राजा घोषणा गर्न दवाब दिन थाल्यो । निर्णायकले पनि बाध्यतावश अन्तिम वक्ताको रूपमा मञ्चमा राजाको उमेदवार बाँदरलाई बोलाए । सभामा गड्गडाहट ताली बज्यो । मुन्द्रे, कुण्डले, तक्लु, पंक, मण्डले सबैले एकैसाथ सभामा उमेदवार बाँदरको पक्षमा जयजयकार गर्दै हुटिङ्ग गरे ।

“आफ्नो घर पनि नबनाउने अरूको घर पनि देखि नसहने” मूल नारा सहित उमेदवार बाँदर बडो तामझामका साथ मञ्चमा देखापयो । आसेपासे, हुक्के, बैठके, भरौटे कार्यकर्ताको ताली र जयजयकारले जङ्गली राज्य नै कोलाहलमय भयो । बाँदरले उग्र भाषण गर्दै भन्यो, “मेरो अध्यक्षतामा बन्ने मन्त्रीमण्डलले यस जगली राज्यलाई आगामी तीन वर्षभित्रमा नै एसियाली मापदण्डमा पुऱ्याउनेछ । मेलम्चीको पानीले बहुवनमात्र हैन वीरगञ्ज हुँदै नेपालगञ्ज र बर्दियाको जङ्गलमा समेत खोलो बगाइदिनेछ । घर नभएका हामी जस्ता सुकुम्वासी जनावरहरूका लागि सारा जङ्गलको लालपुर्जा बनाई वितरण गर्नेछ । काठमाडौको सदर चिडियाखानालाई पनि राष्ट्रियकरण गरी जनावरकै नाममा लालपुर्जा बनाई वितरण गर्नेछ । रानीवनलाई बहुवनराज्यमा नै मिलाउने छ । गोकर्णवनको सदरमुकामलाई चारकोसे झाडीमा स्थानान्तरण गर्नेछ ।” उम्मेदवार बाँदरले आफ्नो भाषणमा अगाडि भन्यो “मेरो निर्देशन नमान्ने जतिलाई विभागीय कार्यवाही गर्नेछु ।”

भाषण सुनेर आसेपासे, हुक्के, बैठके, भरौटे कार्यकर्ताले बेजोड ताली बजाए । उम्मेदवार बाँदर राजाको जयजयकार गाए । सुसेला र तालीले सभा स्थल नै थर्काए । निर्णायक मण्डलले पनि सभा बिथोलिन लागेको देखेर आगामी पाँच वर्षका लागि बाँदरलाई नै राज्यको राजा बनाएको घोषणा गरे । मुन्द्रे, कुण्डले, तक्लु, पंक, मण्डले, आसेपासेहरू रमाएर खुसीले नाच्न थाले ।

जङ्गलमा सिंह, बाघ, भालु, स्याल, चितुवा, हात्ती, बनेल, अर्ना, कृष्णसार, ढुकुर, मैना, मयूर, चिल, गिद्ध र सुगाजस्ता जीवजन्तुहरू र चराचुरुङ्गीहरूको पनि बसोबास थियो । सबै परम्परागत नियममा चलेका थिए । नियम मिचेर कसैले केही पनि गर्दैन थिए । कही कसैले नियम मिच्यो भने पनि आफूहरूले बनाएको न्यायालयले दिएको फैसलालाई पालना गर्थे । बहुवनको राजसिंहासनमा दुम्सी, सिमकुखुरासमेतले बसेर राज्य संचालन गरिसकेका थिए । तर बाँदर भने त्यस राज्यको इतिहासमै राजा भएको थिएन ।

यस वर्ष राजा बाँदर भएकामा सबै जनावरहरूलाई चिन्ता र पीर थियो । तर कसैले पनि परम्परागत चलनलाई चुनौति दिन सकेनन् । निर्णायक मण्डलले बाँदरलाई राजा घोषणा गरेको निर्णयलाई सबैले शिरोधार्य गर्दै पाँच वर्षे बानर राज्यकालको क्रियाकलापलाई सतर्कतापूर्वक हेर्दै जाने विचार गरी आ-आफ्नो घरतर्फ लागे ।

बहुवन जङ्गलमा हालसम्म पनि बाँदर राज्यकाल नै चलिरहेको छ । अघिपछि चुनावको समयमा मात्र हुने अशान्ति तथा भैझगडा हाल दिनहुँ भई रहेको छ । झगडामा बन्दुक र गोलाबारुद पड्कने चलन सामान्य जस्तै बनेको छ । जनावरहरूको सीमित अधिकार पनि खोसिएको छ । सबै नियम कानुन अध्यादेशमार्फत् आउने परम्पराको थालनी भएको छ । सीमित प्रजातान्त्रिक अधिकार कुण्ठित भएको छ । इमान्दार र सोझा जनावरहरू राज्य आतङ्कको सिकार बनिरहेका छन् । राजा बाँदरले “आफ्नो बानी को छोड्छ ? अर्काको बानी को लिन्छ ?” भन्ने उखानलाई चरितार्थ बनाएको छ ।

राजा बाँदरले हालसम्म आफ्नो घर पनि बनाएको छैन र अरुलाई पनि बनाउन दिएको छैन । जङ्गली राज्यमा बाँदर राजाले पाँच-पाँच वर्षे निर्वाचनको परिपाटीलाई पनि भताभुङ्ग पारेको छ । अर्को चुनाव कहिले हुने हो ? कसैलाई केही थाहा छैन । आफ्नै आदेशमा राज्यको महत्वपूर्ण पदहरूमा मुन्द्रे, मण्डले, आसेपासेहरूलाई मनोनित गरी हुकुमी शासन चलाएर बसेको कैयौँ वर्ष बितेको छ । विरोधी जतिलाई नेल र हत्कडी लगाएर जेलमा राख्ने गरेको छ । बाँदर राजाको विरुद्धमा संघर्षहरू भइरहेका छन् । हालसम्म पनि बाँदर राजाले नै राज्य सञ्चालन गरिरहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago