ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातका क्षेत्रमा महत्वपूर्ण घोषणा हुने-देउवा

नयाँदिल्ली: प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्नु रहेको बताएका छन् । शुक्रबार अपराह्न नयाँदिल्ली आइपुगेका देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्नुपूर्व नेपाली दूतावासमा आयोजित समारोहलाई सम्बोधन गर्दै भ्रमणका क्रममा ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातका क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने बताए ।

देउवाले नेपाल र भारतबीच प्राचीनकालदेखिको सम्बन्धलाई अझ बढी मजबुत र फराकिलो बनाउने कार्यमा यहाँ रहेका नेपालीको सामूहिक योगदान रहेको भन्दै प्रशंसा गरे । ‘तपाईंहरूले कर्तव्य पालनाको सिलसिलामा सम्पादन गर्ने कार्यको गुणस्तर, प्रदर्शन गर्ने व्यवहार र प्रयोग गर्ने बोलीचालीको भाषाले यहाँहरूको आफ्नो परिचय मात्र दिँदैन, सँगै मुलुकको परिचय पनि दिइरहेको हुन्छ,’ दूतावासको सम्बोधनमा उनले भने, ‘यहाँहरूले भारतमा रहेर गरेका राम्रा कार्यले नेपाल र नेपालीको राम्रो छवि बनाउन मद्दत पुर्‍याउँछ ।’
उनले विदेशमा रहँदा/बस्दा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिलाई स्वदेशको आर्थिक–सामाजिक उन्नयनको क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणको कार्यमा योगदान गर्न पनि आग्रह गरे ।

भारत सरकारसँग केही नयाँ सम्झौतापत्रमा हस्ताक्षरसमेत हुने उनले उल्लेख गरेका छन् । तर, त्यो नयाँ सम्झौता के हुने भन्ने खुलाइएको छैन । प्रधानमन्त्रीका रूपमा देउवाको यो पाँचौं भारत भ्रमण हो । देउवा र मोदीबीच शनिबार भेटवार्ता हुँदै छ । सोही भेटमा दुवै प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल लाइन तथा सोलु करिडोर विद्युत् ट्रान्समिसन लाइनको उद्घाटन गर्नेछन् । दुई सरकारबीच विद्युत् खरिदबिक्री तथा रासायनिक मल खरिदका सम्बन्धमा नयाँ सम्झौता हुन सक्ने बताइएको छ ।

वर्षायाममा विद्युत्को उत्पादन आवश्यकताभन्दा बढी हुने भएकाले नेपालले भारतलाई विद्युत् बेच्न खोजिरहेको छ । तर, खरिद सम्बन्धमा भारतले अझै पनि स्पष्ट धारणा दिइसकेको छैन । प्रधानमन्त्री तहमा हुने वार्ताबाट त्यसको वातावरण बन्न सक्ने सम्भावना रहेको टोलीमा संलग्न ऊर्जा क्षेत्रका अधिकारीहरूले बताएका छन् । देउवाले पहिलो दिन भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । देउवा बसेको होटलमा विदेशमन्त्री जयशंकर पुगेका थिए । प्रधानमन्त्री र उनीबीच करिब आधा घण्टा छलफल भएको थियो । ‘मुख्य रूपमा शिष्टाचार भेटवार्ता नै हो, नेपाल–भारतबीच धेरै खालको बहुआयामिक विषय रहेकाले भेटमा ती विषयमा कुराकानी भएको हो,’ परराष्ट्रमन्त्री नारायण खड्काले कान्तिपुरसँग भने ।

देउवा नयाँदिल्ली आएपछि पहिलो भेटवार्ता सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग गरेका थिए । विमानस्थलबाट चाणक्यपुरीस्थित होटल आएर केहीबेरको विश्रामपछि देउवा दिल्लीको दिनदयाल मार्गस्थित भाजपा कार्यालय पुगेका थिए । त्यहाँ उनले नड्डासँग पार्टीगत तहको सम्बन्धबारे छलफल गरे । ‘मुख्य रूपमा पार्टीगत तहमा सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो,’ मन्त्री खड्काले भने, ‘दुई पार्टीका अध्यक्ष बसेपछि दुई देशको सम्बन्धको विषयमा पनि चर्चा हुनु स्वाभाविक नै हो ।’

प्रधानमन्त्रीको हैसियतमा देउवा भाजपाको पार्टी कार्यालय पुगेको विषयलाई कतिपयले ‘प्रोटोकल’ विपरीत भनेका छन् । दूतावासमा उपस्थित कतिपय भारतीय पत्रकारले पनि देउवाको भाजपा कार्यालय भ्रमणलाई लिएर आश्चर्य व्यक्त गरिरहेका थिए । प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले विश्वकै ठूलो लोकतान्त्रिक पार्टीका अध्यक्षले गरेको निम्तोलाई प्रधानमन्त्रीले स्वाभाविक रूपमा स्वीकार गरेकाले अन्यथा रूपमा अर्थ्याउन नहुने बताए । ‘प्रधानमन्त्रीज्यू कांग्रेस पार्टीको सभापति पनि हुनुहुन्छ र भाजपाका अध्यक्षले गरेको निम्तालाई उहाँ सहर्ष स्वीकार गरेर त्यहाँ पुग्नुभएको हो,’ उनले भने, ‘दुई पार्टीबीच सम्बन्ध र सहकार्यका प्रयास पहिल्यैदेखि चलिरहेका छन् । दुई अध्यक्षबीचको भेटवार्ताले त्यसलाई थप बलियो बनाउनेछ ।’

अपराह्न पौने ३ बजे दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवालाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । भ्रमण टोलीमा प्रधानमन्त्री–पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा तथा विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसहित ऊर्जासम्बन्धी उच्च पदाधिकारी पनि सहभागी छन् । भूकम्पपछि भारत सरकारको सहयोगमा निर्माण भएको १ सय ३२ वटा स्वास्थ्यचौकी भारतले नेपाललाई हस्तान्तरणसमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले शनिबार भारतका प्रमुख उद्योगी, व्यवसायी एवं व्यापारीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । आइतबार वाराणसीमा काशी विश्वनाथ, ललिताघाट तथा साम्राज्यश्वरी पशुपतिनाथको दर्शन गरेर उनी स्वदेश फर्कनेछन् ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago