प्रधान मन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

२०७८, १८ फाल्गुन बुधबार ०९:५८

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् ।

फाइल फोटो

उक्त फोनवार्ताका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ । ब्लिन्केनले एउटा ट्वीटमार्फत्‌ त्यसबारे जानकारी गराएका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डताका विषयमा दुई देशले गरेको समर्थनबारे कुराकानी भएको ब्लिन्केनले उल्लेख गरेका छन् । ट्वीटमा ब्लिन्केनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने जनाएका छन् ।

नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो ।

Comments

ताजा खबर