काठमाडौं, कात्तिक २४ । बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजिकै सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको उनले बताए ।
विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।