विद्युत् प्राधिकरणको चरम लापर्वाही

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको उत्तरतर्फको झ्याल बाहिर सेवाग्राहीको भीड देखिन्छ । एकातिर पानी पर्ने मौसममा ओत लाग्ने ठाउँ छैन, अर्कोतिर फाराम भर्न सहज हुने कुनै टेबुल छैन । कोरोनाको कहरमा सुरक्षाका लागि सहज हात धुने व्यवस्था होस् वा स्यानेटाइजरको सहज व्यवस्था छैन । नयाँ मिटरका लागि फाराम लिने, भर्ने र बुझाउन सेवाग्राहीको भीड रहेको उत्तरतर्फको झ्याल अगाडि नै विद्युत् प्रवाह भएको हाइटेन्सन लाइनको ठूलाठूला खम्बा र ट्रान्समिटर, जहाँ ठूला अक्षरले खतरा भनेर लेखिएको बोर्ड छ, ठीक त्यसैको तल घाँस र भिरालो जमिनमा सेवाग्राहीको भीड छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा गएको अनुगमन टोलीले देखेको नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको यो चरम लापर्वाहीको दृश्य हो । प्राधिकरणले खतरा लेखेको खम्बामुनि नै उभिएर सेवाग्राहीले नयाँ मिटरको फाराम लिने, भर्ने र बुझाउने गरेका छन् । फाराम भर्दा नबुझेको कुरा सोधपुछ गर्न प्राधिकरणले कुनै कर्मचारीको व्यवस्था गरेको छैन । “फाराम भरेको मिलेन भने केरमेट गर्न पाइँदैन, नुबेझेको सोध्ने छैन, फराम केरमेट भए कर्मचारीले अर्को फाराम भिडाउने गरेका छन्”, सेवाग्राहीको गुनासो छ । नयाँ मिटरका लागि निवेदन दिन आएका भातेढिकुरका हिमाङ तामाङले अघिल्लो दिन फाराम लिन २ बजे आउँदा काउण्टर बन्द भएपछि आज ११ बजे आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो आउँदा बन्द भयो भनेर फर्काइयो, आज ११ बजे नै आए । रु ५५ मा फाराम किनेर भरे पनि बिग्रेपछि अर्को फाराम किन्नुपर्ने रैछ, नबुझेको सोध्ने मान्छे छैन, पानी पर्दा बस्ने प्रतीक्षालय छैन, माथि हे¥यो डरलाग्दो खतरा लेखेको खम्बा छ, त्यहीमुनि टुक्रुक्क बसेर घुँडामा राखेर फाराम भरेर बुझाउनु पर्छ ।” अर्का सेवाग्राही शर्मिला थापाले भन्नुभयो, “फाराम लिने र भर्ने ठाउँमा एकातिर भीडले कोरोना सर्ला भन्ने डर भएको र अर्कोतर्फ पानी पर्दा हाइटेन्सन लाइनको करेन्ट लिक भएर सबैलाई करेन्ट लाग्ला भन्ने डर छ, खै यो प्राधिकरणले यति व्यवस्था पनि गर्न सकेन ।” जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिसस प्रशासकीय प्रमुख, जिसस सदस्य र पत्रकारको टोलीले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको अनुगमन गरेको हो । अनुगमनको क्रममा विद्युत् प्राधिकरणले चरम लापर्वाही गरेको पाइएको जिसस प्रम्ख गेलालले बताउनुभयो । सेवाग्राहीले देख्ने गरी नागरिक वडापत्र राख्नुपर्नेमा कार्यालयमा नागरिक वडापत्र छैन । नयाँ मिटर जडान गर्न सेवाग्राहीले निकै कुर्नुपर्छ । निवेदन आएको तीन दिनमा नयाँ मिटर दिन्छौँ भन्ने कार्यालय प्रमुख राजकुमार रमणले दाबी गरे पनि अनुगमनका क्रममा १० दिनमा पनि नयाँ मिटर जडान गर्न नसकेको र मिटर जडान गर्न घुस खुवाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । भक्तपुरमा भएको व्यापक चुहावट रोक्दै सात प्रतिशतमा झार्न सफल भएको कार्यालय प्रमुख रमणको दाबी छ । चुहावट रोक्दा रु एक करोड ४० लाख राजस्व सङकलन गरेको बताउँदै उहाँले मिटर जडानमा घुस खाएको पाइए कारवाही गर्ने बताउनुभयो । विद्युत्को पोल सार्न निकै समस्या र महँगो हुने गरेको जनताको गुनासो प्रमुख गेलालले राख्नुभयो । एउटा पोल सार्दा प्राधिकरणले चार लाखसम्म लिने गरेको तर त्यही पोल स्थानीय तहले सार्दा ५० देखि ७० हजारमा सकिनेबारे राखेको जिज्ञासामा कार्यालयका प्रमुख रमणले प्राधिकरणको ज्याला नै महँगो हुने गरेको बताउनुभयो । पोल सार्न स्थानीय तहले एक जना ज्यामीको रु एक हजारमा काम लगाउने गरेको तर प्राधिकरणले भने रु पाँच हजार लिने गरेको बताउँदै नियमानुसार जाँदा पनि महँगो हुने बताउनुभयो । अनुगमनपछि जिसस प्रमुख नवराज गेलालले विद्युत् प्राधिकरणको सेवा अस्तव्यस्त रहेको पाइएको बताउँदै कोरोना भाइरस सङ्क्रमणको सुरक्षादेखि सेवा दिने काममा समेत लापर्वाही गरिएको पाइएको बताउनुभयो । प्राधिकरणलाई सेवा सुधार्न निर्देशन दिएको बताउँदै उहाँले पुनः जाने अनुगमनमा यस्तै पाइए कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago