नेपाल एयरलाइन्स अस्ट्रेलिया, चीन र कोरिया उड्दै

मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ।

लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अस्ट्रेलियामा चार्टर्ड उडान गर्‍यो भने चीनको ग्वाङ्जाओमा चार कार्गो उडान गरेको छ।

निगमले क्रमशः अस्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ। निगमले अस्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो। आगामी वैशाख २४ गते (६ मे २०२० मा) निगमले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अस्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको जानकारी दिइन्।

निगमले यसअघि चैत १९ गते अस्ट्रेलियाको ब्रिशवेनमा चार्टर्ड उडान गरेको थियो। उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो। जुन निगमको वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यको उडान भरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो।

निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कंदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौं–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ। काठमाडौंबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कंदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौं उडानको तालिका रहेको छ।

वाइडबडी जहाज काठमाडौंबाट दिउँसो १:३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ।

काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो। नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले ट्वीटरमा सन्देश पोष्ट गर्दै अस्ट्रेलिया जहाज जान लागेकाले टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेका थिए। निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ।

निगमको जहाज काठमाडौंबाट साँझ ५:३० बजे बेइजिङ उडेर भोलिपल्ट फर्कनेछ।

त्यसैगरी निगमले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ। दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो।

यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ। कतार एयरले १० उडान गरेको थियो । निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए। त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० अन्तर्राष्ट्रिय उडान भएका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago