पाल्पा । तानसेन नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार थप भएका १२१ जना मध्ये ३ जना तानसेन नगरपालिकाका रहेका छन् । यो संगै पाल्पाका १० वटै स्थानिय तहमा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेनको बतासेडांडा स्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका पूरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए । यससँगै जिल्लामा संक्रमितको संख्या ३६९ पुगेको छ । जस मध्ये ३ जना भने छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका रहेका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । विहिवार थप पुष्टी भएका मध्ये निस्दी गाउँपालिकाका ९३ जना, रम्भा गाउँपालिकाका ६ जना, पुर्वखोला गाउँपालिकाका १८ जना, तानसेन नगरपिलकाका ३ जना र तिनाउ गाउँपालिकाका १ जाना रहेका छन् । पछिल्ला संक्रमित सबै भारतका विभिन्न स्थानबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यस अघि पाल्पाको रामपुर नगरपालिकामा १६ जना, बगनासकालीमा २८,पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, सक्रमित भएका छन । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन ।
संक्रमित बढेसंगै गाउँपालिकाहरुलाई आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको छ । रैनादेवी छहरा, पुर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेसनको अभाव देखिएको छ । गाउँ गाउँमा बाटो पहिरो गएकोले संक्रमितहरुलाई तानसेनको आईसोलेसन ल्याउन कठिन भएको छ । एकैपटक ठूलो संख्यामा संक्रमित थपिएपछि उनीहरुलाइ कसरी व्यवस्थापन गर्ने भन्नेमा चुनैती देखीएको छ ।