रिलायन्स स्पिनिङको आईपीओ भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने

२०८०, १५ माघ सोमबार २०:०३

 काठमाडौं। बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर (आईपीओ) भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेपछि सर्वसाधारणलाई कम्पनीको मूल्य महँगो पर्ने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ वटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा शेयर खरिदाको लागि आवेदन दिएका छन् ।  कम्पनीको शेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ ।  ९१२ मा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाउने छन् ।  ९१२ मा आवेदन दिनेले आवेदन दिएको शेयरको ६५.७२ प्रतिशत शेयर मात्र पाउने छन् ।  ९१२ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै शेयर पाउने छन् ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।  माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले कुल निष्काशन गर्न लागिएको शेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो ।

 सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था छ । यस हिसाबमा सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा पर्न जान्छ ।  गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ ।
 कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु