झापा गोल्डकपको सेमिफाइनलमा झापा ११

२०८०, २४ फाल्गुन बिहीबार २०:४५

बिर्तामोड। आयोजकको टिम झापा ११ एफसी झापा गोल्डकप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक–एक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना गोल फर्काए ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५ औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिप्पर गोपी बर्ताैलाले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

६६ औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिप्पर गोपीले अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन् ।

मकवानपुरका ओस्कारले ६९ औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरेपनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा झापाले दुई गोल गर्याे । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्काे गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।
यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो । खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडि बढाउँदै दुई रक्षक र गोलकिप्पर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए ।

यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा एपीएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् ।

यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लब एकपटकको विजेता हो ।आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक  खड्गीले घरेलु दर्शकको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्नेगरी तयारी गरिएको उनको दाबी छ । पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टिमका महत्वपूर्ण तीनजना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु