झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ विजयी, संकटा स्तव्ध

२०८०, १९ फाल्गुन शनिबार २२:१०

झापा। टाइब्रेकरमा भाग्यमानी सावित हुँदै एपीएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ ।

संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।
संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
खेलको चौथो मिनेटमै एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

१३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार अकासियो । २० मिनेटमा अनिसकै प्रहार गोलरक्षकले विफल बनाएदिए । २४ औँ मिनेटमा कुलदिप कार्कीको पासमा गोलपोस्टनजिकै रहेका अनिसको हेडर बाहिरियो ।
५५ औँ मिनेटमा एपीएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपीएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुश्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपीएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपीएफका गोलरक्षकले बचाए ।
खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनका सहित १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बावजुद यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।
भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामूहिक प्रयास आवश्यक रहेको बताए । एक वर्षभित्र कानुनी अप्ठ्याराहरु भए संशोधन गरेर भए पनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अघि बढ्ने उनले बताए ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए । कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु