त्रिभुवन आर्मीले जित्यो प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि

२०७९, १६ फाल्गुन मंगलवार १९:४३

झापा, ट्राइब्रेकर मार्फत जित निकाल्दै प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले उचालेको छ । मेची रंगशालामा भरखरै सम्पन्न खेलमा पेनाल्टी शुट आउट मार्फत मछिन्द्रलाई ४-३ ले पराजित गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुने सकेन, खेल अतिरिक्त समयतर्फ धकेलियो ।दुवै तर्फबाट भएका अनेक प्रयास विफल भए ।

तर १४ मिनेट थप गरिएको अतिरिक्त समयमा समेत गोल नभएपछि खेलको निर्णय ‘पेनाल्टी सुट आउट’बाट लिनुपरेको हो । जसमा आर्मीले संघर्षपुर्ण जित निकाल्दै उपाधि उचाल्न सफल बन्यो ।

उपाधिसगैँ आर्मीले नगद १३ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेतामा सिमित बनेको मछिन्द्रले नगद ७ लाख ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

गत ७ गतेबाट जारी गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको थियो ।

खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले नगद २५ हजार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार प्रदान गरेका थिए ।
यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो ।

Comments

ताजा खबर