विजेतालाई २० लाख पुरस्कार राशिको विराट गोल्डकप आजदेखि

२०७९, ९ चैत्र बिहीबार २०:५६

झापा। राजधानी बाहिरको सबैभन्दा धेरै पुरस्कार राशि भएको फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आजदेखि शुरु हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिता रात्रिकालीन हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रम शुरु भएर साँझ ७ बजेदेखि प्रतियोगिता शुरु हुने आयोजक विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले बताए ।नेपालमा आयोजना हुने पुरानो प्रतियोगितामध्येको एक महेन्द्र गोल्डकपको परिमार्जित रुप नै विराट गोल्डकप हो ।

२०१८ सालमा तत्कालीन बडाहाकिम दामोदर शमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेका थिए । गणतन्त्र प्राप्तिपछि भने विराट गोल्डकप राखेर २०६८ सालबाट प्रतियोगिता संचालन गरिएको हो । नेपालमा फुटबल प्रतियोगिता दिउँसोको समयमा हुन्छ । पूर्वाधार अभावका कारण रात्रिकालीन खेलकुदका लागि दशरथ रंगशालाको विकल्प थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रंगशालामा समेत संचालनमा नहुँदा एक समय लगभग नेपालका रात्रिकालीन खेलकुद ठप्प जस्तै थियो । गर्मी मौसमका कारण दिवाकालिन फुटबल आयोजना गर्नु नै विराटनगरको लागि चुनौती थियो । त्यसमा पनि रात्रिकालिन फुटबल आयोजना गर्न त पूर्वाधार नै थिएन ।

यद्यपि मोरङ व्यापार संघका तत्कालिन उपाध्यक्षसमेत रहेका नविन रिजाललाई गोल्डकपको संयोजक बनाएपछि २०७४ चैत्र १७ देखि रात्रिकालिन फुटबल सुरु भयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ६ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जावलाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु