बिर्तामोड बडी ग्यारेज द्वारा जेठ १२ मा कंचनजंघा बडीबिल्डिङ तयारी

२०८०, ९ बैशाख शनिबार २१:११

झापा। दुई वर्षअघि कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडीबिल्डिङ प्रतियोगिता सफल रुपमा सम्पन्न गरेको बडी ग्यारेज बिर्तामोडले अर्को संस्करणको तयारी थालेको छ ।

पुरानो भद्रपुर रोडमा ५ वर्ष अघिदेखि संचालनमा रहेको बडी ग्यारेज (जिम हाउस)ले आगामी जेठ १२ र १३ गते सेकेन्ड मिस्टर कंचनजंघा बडीबिल्डिङ च्याम्पियनसीप गर्ने भएको हो । पहिलो प्रतियोगिताको हौसला र खेलप्रेमीहरुको साथ पाएर यस वर्ष कोशी प्रदेशस्तरीय बडीबिल्डिङ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिएको बडी ग्यारेजले पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौँथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ । साथै हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ र साथमा मेडल र ट्रफीसमेत प्रदान गरिने बडी ग्यारेजका अध्यक्ष अर्जुन मैनालीले बताए ।

उनले काठमाडौं उपत्यका बाहिरको ठूलो धनराशि र सुविधा भएको प्रतियोगिता आफूहरुले आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

पुरस्कारमा मात्रै ९ लाख ६१ हजार १ सय ११ रुपैयाँ छुट्याइएको सो प्रतियोगिताका लागि २४ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता गराउन प्रदेश बोर्डले १० लाख रुपैयाँ दिने भएको कार्यक्रम संयोजक राम दाहालले बताए ।

यसअघि पहिलो संस्करण २०७८ फागुन २७ र २८ गते आयोजना गरिएको थियो । त्यस प्रतियोगिताको उपाधि विकास तामाङले जितेका थिए । बडी विल्डिङ च्याम्पियनसिपको फाइनलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी तामाङले उपाधि हात पारेका थिए ।

पहिलो संस्करणभन्दा दोस्रो संस्करणमा पुरस्कारको राशि बृद्धि गरिएको बडी ग्यारेजका सचिव राजेश गिरीले बताए ।कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी , भद्रपुर झापा गोल्डकपका आदित्य पराजुली , गोमेन्द्र कलेजका उत्तम खनाल , बिर्तामोड नगर खेलकुद विकास समितिका सदस्य बिकी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु