भद्रपुर झापा गोल्डकप २०७९ को खेलतालिका सार्वजनिक

२०७९, २ फाल्गुन मंगलवार २१:४७

भद्रपुर । प्रथम भद्रपुर झापा गोल्डकप २०७९ को खेलतालिका सार्वजनिक भएको छ ।यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।

एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा खेलतालिका सार्वजनिक गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ, एसियाली फुटबल महासंघका विकास निर्देशक पुरुषोत्तम कट्टेल, राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्का, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ । भद्रपुर झापा गोल्डकपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो ।

चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ । मछिन्द्र लिग च्याम्पियन टोली हो ।
प्रतियोगिताअनुसार पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।
भद्रपुर झापा गोल्डकपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीसंग प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोकन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु