‘नेपालमा वैदेशिक लगानी सन्तोषजनक छैन’ डेपुटी गभर्नर ढुंगाना

२०८०, २५ कार्तिक शनिबार २१:१५

काठमाडौँ – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन्।

शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन्। उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन्।

उनले राष्ट्र बैंकले वैदेशिक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन्। उनले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताइन्।

गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनको भनाइ थियो। उनले आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड र २०७९/८०मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको बताइन्।

उनले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको उल्लेख गरिन्। उनले विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू हुन सके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन्।

क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको उनको भनाइ थियो।

उनले क्रेडिट रेटिङ गर्ने कामको सुरुवात गर्न सम्बन्धित निकायहरुको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन्। उनले नेपाल राष्ट्र बैंक सधैँ यो विषयमा सकारात्मक रहेको बताइन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु