टर्कीमा विनाशकारी भूकम्पको असर, सर्‍यो जमिन साढे ३ मिटर

२०७९, २५ माघ बुधबार २०:४७

काठमाडौं । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको छ । टर्कीमा गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्रस्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ ।

वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५‍.६ मिटरसम्म सरेको हुनसक्छ ।

यद्यपि यो प्रारम्भिक डेटा भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरुबाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।

डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थका अनुसार भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक हो । उनका अनुसार ठूला भूकम्पमा टेक्टोनिक प्लेट स्थानान्तरण हुने र त्यसबाट कुनै ठाउँको जमिनको अवस्थिति सर्ने कुरा अनुमानयोग्य तथा पुष्टि भएको कुरा हो ।

उनका अनुसार ६.५ देखि ६.९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ ।

टर्कीमा भएको टेक्नोनिक प्लेटको स्थानान्तरण तेर्सो स्थानान्तरण रहेको र यसमा ३ देखि ६ मिटरसम्म सर्नु सामान्य रहेको उनको भनाइ छ । यस्तो प्रकारको तेर्सो स्थानान्तरणले सतहमा रहेका तथा भूमिगत भौतिक संरचनाहरुमा व्यापक क्षति हुने पनि उनले बताए ।

                                                             भूकम्पले जमिन सर्दा बाङ्गिएको लिक ।

जब दुईवटा एक अर्काको विपरीत दिशामा घुसिरहेका टेक्टोनिक प्लेटहरु जोडिन्छन् र एक्कासी चिप्लिन्छन् तब निकै ठूलो दबाब बाहिर निस्किन्छ, जसका कारण विनाशकारी भूइँचालो जान्छ । पृथ्वीको सबैभन्दा माथिल्लो पत्र अर्थात् क्रस्ट र मध्य पत्र अर्थात् म्यान्टलको उपल्लो भागबाट टेक्टोनिक प्लेट बनेको हुन्छ । भुइँचालोपछि एउटा प्लेट अर्को प्लेटको तल वा माथि खप्टिन पुग्दछ ।

प्रायः ठूला भुइँचालोहरु यस्ता टेक्टोनिक प्लेट जोडिने सिमाक्षेत्र अर्थात् फल्टलाइनमा जाने गर्दछन् । टर्की पनि यस्तै तीनवटा टेक्टोनिक प्लेट जोडिने ठाउँमा अवस्थित भएकाले उच्च भूकम्पीय जोखिममा पर्दछ ।

यसअघि टर्कीमा पटकपटक विनाशकारी भूकम्पन जाने गरेको छ । पछिल्लोपटक सन् १९९९ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पमा १७ हजार ११८ जनाको मृत्यु भएको थियो । त्यहाँ हालसम्मकै सबैभन्दा विनाशकारी भुइँचालो १९३९ मा गएको थियो ।७.८ म्याग्निच्युडको सो भुइँचालोमा परी ३२ हजार ७ सय जनाले ज्यान गुमाएका थिए । सोमबार टर्कीमा गएको ७.८ म्याग्निच्युडको पहिलो भूकम्पको उद्गम जमिनभन्दा १८ मिटर गहिराइमा थियो भने त्यसको ९ घण्टापछि गएको ७.५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो ।

भूकम्पबाट टर्की र सिरियामा गरी ५१ सय भन्दा धेरैको ज्यान गैसकेको छ भने हजारौँ घाइते भएका छन् । मूख्य झट्कापछि त्यहाँ परकम्पनहरु जाने क्रम चलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सो भूकम्पबाट  साढे २ करोड मानिस प्रभावित भएका छन् ।

डेलीमेलको सहयोगमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु