राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन

२०७९, २४ माघ मंगलवार २१:३८

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘राजस्वको अवस्था र चुहावट नियन्त्रण’सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए।

गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो। तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन। राजस्व सङ्कलनमा अहिले पनि केही समस्या छन्।’राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन प्रधानमन्त्री दाहालले निर्देशन दिए। ‘नीतिगत सुधारको प्रयत्नबाट यी काम अगाडि बढाउन सकिन्छन्,’ उनले भने, ‘ चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ।’

राजस्व प्रशासन र नियन्त्रणका क्षेत्रमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ भन्दै उनले प्रविधिको प्रयोग ठीक ढङ्गले नगरी चुहावट नियन्त्रण र सुरक्षा प्रबन्ध प्रभावकारी हुन नसक्ने बताए।

उनले थपे, ‘चुहावट भन्सारमा मात्र छैन, राजस्व सङ्कलनका अन्य क्षेत्रमा पनि यो समस्या छ। यसको दायरा बढाउनुको अर्थ प्रभावकारिता बढाउनु पनि हो। समन्वयात्मक ढङ्गले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ।’

Comments

ताजा खबर