कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

२०८०, २१ असार बिहीबार १७:५२

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

२०१४ मंसिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका ४ का स्थायी बासिन्दा हुन् । थापाले ०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा सुरु गरेका थिए । ०४७ सालमा अर्जुनधारा गाउँ समिति सचिव बनेका थापा २०४८ को आठौं जिल्ला अधिशेनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापति निर्वाचित भए ।

१०औं अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११औं अधिवेशनबाट जिल्ला उपसभापति र १२औं अधिवशेनपछि जिल्ला सभापति बनेका थिए । व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर तीन वर्ष काम गरेको अनुभव बटुलेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु