बाँदरको उपद्रो बढेपछि भोजपुर बस्ती खाली

 भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् ।

बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ ।

रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् ।

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । ‘बाँदरका कारण बस्ती नै खाली भएको छ’, उनले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।’

दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ-६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।

‘बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ’, उनले भने, ‘बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ ।’

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् ।

स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ ।

बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए ।

‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला–पहिला त भाग्थे’, उनले भने, ‘अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।’

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका-४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए ।

बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ–दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ । ‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ ।’

‘बाँदरको उपद्रो बढ्दो छ’, उनले भने, ‘एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।’

बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।

‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ’, वडाध्यक्ष नेपालले भने, ‘यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।’

बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए ।

‘धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ’, उनले भने, ‘स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्वरभूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।’

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago