महिना दिन लामो ‘मानवता प्रवद्र्धन अभियान’मा नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ – लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर सांगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटसाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ।

मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसै पालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवद्र्धन अभियान’मा सहभागी हुँदै छ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघिबढेको थियो। यस्ता अभियानमा श्रोताहरुका प्रिय ब्याण्ड नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास पनि गथ्र्यो।

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुनेछ। मंसिर १६ गते(डिसेम्बर २ तारीख) शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ। त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ। मंसिर १९ गते (डिसेम्बर ५ तारिख) वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ। त्यसैगरि मंसिर २२ गतेका दिन (डिसेम्बर ८ तारीख) हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरु सुनाइनेछन्।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो। त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ।

‘सा‌ंगीतिक क्षेत्रमा लागेका संस्थामध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौं’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौं।’

हेटौंडापछि २५ मंसिरका दिन (डिसेम्बर ११ तारीख) नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन (डिसेम्बर १५ तारीख) आयोजना गरिनेछ। त्यसपछि पुसको ३ गते (डिसेम्बर १८ तारीख) ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन (डिसेम्बर २१ तारीख) कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाउनेछ। त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते (डिसेम्बर २४ तारीख) प्रस्तुत गर्नेछ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ। पुसको १२ गते (डिसेम्बर २७ तारीख) मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ। काठमाडौंमा भने पुस १६ गते (डिसेम्बर ३१ तारीख) शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ।  नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो।

 

ब्याण्डले यि प्रदर्शनहरु मार्फत् बेसहारा बन्नपुगेका नेपालीहरुको आवाज बनिदिने मात्र नभइ उनीहरुको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ।‘हामीले गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं।’

द्वन्द्वकालमा साँगीतिक कार्यक्रम लिएर देशब्यापी यात्रा गर्दा ठाउँ ठाउँमा मानशिक सन्तुलन गुमाएका मानिसहरु अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो। अब भने त्यस्ता नेपालीहरुको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्नपाउँदा मनमा सन्तोष लागेको उनी बताउँछन्।

यो अभियानसँगै अब नेपथ्यका गीतहरु ‘मानवताको लागि संगीत’ बन्नपुगेको अमृतको धारणा छ।

‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनी शो आयोजना गर्नलागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरुपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रुपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिनपाउनेछन्।’

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो। मुलुकभरका कन्सर्टहरुको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago