अहिले सिमी र यार्साको मूल्य उस्तै उस्तै, समृद्धि खोज्दै जुम्ली किसान

जुम्ला: जुम्ला तिला १ का महेन्द्रबहादुर बुढाको गुजारा सिमी खेतीबाटै चल्छ । उनी सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १० क्विन्टल बेच्छन् । प्रतिकेजी २ सय २० रुपैयाँले बेचे । १० क्विन्टल बेच्दा उनले २ लाख २० हजार रुपैयाँ कमाए । सिमीबाट कमाएको रुपैयाँले घरको आवश्यकता पूरा गरे । उनले भने, ‘सिमी खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका किसानको विकास सिमी खेतीबाट नै हुन्छ ।’

सिमीको दाल जुम्लाको हरेक घरमा पाक्छ । गेडागुडी त खोजीखोजी खाने गर्छन् । सदरमुकाम खलंगाका झन्डै आधा दर्जन ठाउँमा ‘गेडा चाउचाउ’ पकाएर खुवाउँछन् । जुम्लामा पाइने गेडा चाउचाउ ब्रान्ड बनिसकेको छ ।
सिमीको उत्पादन निकै कम हुँदा मूल्य आकासिएको छ । कालिकोटका व्यापारी ग्रामीण बस्तीमा पुगेर सिमी खरिद गरेर लैजान्छन् । जुम्ली सिमी कर्णालीका जिल्लालगायत सुर्खेत,नेपालगन्ज, काठमाडौं, पोखरा, चितवन, बुटवलको बजारसम्म पुग्छ ।

केही किसान मिलेर सिमी संकलन गरेर बजारसम्म लैजाने गरेका छन् । केहीले राम्रो मूल्य पाएको खण्डमा घरमै बेच्छन् । महेन्द्रले भने, ‘अहिले सिमी र यार्साको मूल्य उस्तै उस्तै लाग्न थालिसक्यो । यार्सा टिप्न पाटन जानुभन्दा घरमै बसेर मनग्गे सिमी उत्पादन गर्नुमा नै बढी फाइदा छ ।’

पछिल्लो समयमा सिमीको माग नेपाली बजारमा बढेको छ । सिमी उत्पादन धेरै हुँदा १६० रुपैयाँ प्रतिकेजीमा बिक्ने जुम्ली सिमी अहिले २२० सम्म पुगेको छ । सिमीले मूल्य पाउन थालेपछि बाँझो बारी सबैतिर सिमी छर्न थालिएको छ । किसानको सिमीप्रतिको लगाव देखेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई जुम्लाले यस क्षेत्रलाई सिमी जोनका रुपमा अघि बढाएको छ ।

सिमी खेती गर्ने किसानका लागि प्रतिकेजी सिमीमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सिमी खेती प्रविधि, सिमी खेतीबाट हुने फाइदा र सिमी खेती गर्ने तरिका र सिमीको मूल्य तोक्नेलगायत विषयमा सजग गर्न थालिएको स्याउ सुपरजोन जुम्लाका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार तिला १ र २ मा सिमी जोन कार्यक्रम सुरु भएको छ । व्यावसायिक रुपमा सिमी खेती गरेर किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर जनजीवन सहज बनाउन लागि परेको उनले बताइन् ।

सिमी जोन क्षेत्रमा रातो, कालो, सेतो, गाढा रातो, छिप्रे, रातोसेतो, कालोसेता भएको सिमी उत्पादन हुन्छ । तर किसान स्थानीय जातको सिमी नै मन पराउँछन् । स्थानीय जातको सिमी तौल बढी भएको,उत्पादन धेरै दिने,स्वादिलो र पोषणको मात्रा पनि निकै बढि भएकाले किसानको रोजाइमा स्थानीय जातको सिमी परेको छ ।

स्याउ सुपरजोन कार्यालयले सिमी किसानलाई एकै ठाउँमा बोलाएर सिमीको मूल्य निर्धारणको काम गरेको छ । पहिलो पटक किसान आफैंले सिमीको मूल्य तोकेका छन् । गाढा रातो सिमी प्रतिकेजी १८० र अन्य सबैप्रकारको सिमी प्रतिकेजी २ सय रुपैयाँ मूल्य तोकिएको हो ।

सिमीमा लाग्ने रोगकिराको प्रकोपदेखि सिमी खेतीको प्रभावकारिताबारे समेत किसानलाई सहजीकरण गर्दै आइराखेको प्रमुख पोखरेल बताउँछिन् । अहिले जुम्ली सिमी सदरमुकाम खलंगामा खोलिएका हरेक कोसेली घरमा पाइन्छ । जुम्लामा सिमी खरिद गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड नै देखिन्छ ।

जुम्ला तिला १ मा सिमी जोन समन्वय समिति बनेको छ । समितिले सिमीको उत्पादन, बजारीकरण, मूल्य निर्धारण र रोगकिराको प्रकोप, समाधानका उपायबारे छलफल चलाउँछ । सुपरजोनका कार्यालय प्रमुख पोखरेलले सिमीमा किसानलाई आत्मनिर्भर बनाएर आयआर्जनका क्रियाकलापमा संलग्न गराउने लक्ष्य रहेको बताइन् ।

जुम्लाको एक नगरपालिकासहित ७ गाउँमा सिमी धेरै फल्छ । एक घरमा न्यूनतम ३ क्विन्टलदेखि २० क्विन्टलसम्म उत्पादन हुने गरेको छ । मौसममा किसानले एक बोरा सिमी दिएर दुई बोरा चामल साट्छन् । जुम्लामा सिमीको राम्रो सम्भावना छ । आर्थिक समृद्धिको बलियो आधार पनि सिमी नै हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार २१ हेक्टरमा सिमी खेती हुन्छ । प्रतिहेक्टर २ मेट्रिकटन सिमी उत्पादन हुन्छ । जुम्ली सिमी नेपालका सबै बजारसम्म पुग्छ । विदेशी बजारसम्म पुग्न सकिएको छैन । स्थानीय जातको कालो सिमीको उत्पादन धेरै हुन्छ । बर्सेनि ४ हजार मेट्रिकटन सिमी उत्पादन भएकोमा ३ हजार मेट्रिकटन सिमी जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

जुम्लाको सिमी बाली उच्च मूल्यको बाली हो । कम खर्चमा धेरै उत्पादन गर्न सकिने बाली भएकाले किसान आकर्षित गर्न सकिने आधार छन् ।

श्रोत: कान्तिपूर

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago