निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीवृद्धि गर्ने कसरि!

काठमाडौं: बीमा समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिले गत बिहीबार गरेको नयाँ निर्णयअनुसार अब निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न ३० दिनको समयसीमा दिएको छ भने पुँजी वृद्धिका लागि एक वर्ष । अबको एक महिनाभित्र कम्पनीहरुले के, कसरी १५० प्रतिशत पुँजी वृद्धि गर्ने भन्ने योजना नियामक निकायमा पेश गर्नुपर्नेछ ।

बीमा कम्पनीहरुको पुँजी वृद्धि हुने निर्णय भए पनि त्यसका आधारहरु स्पष्ट भइसकेको छैन । केन्द्रीय बैंकले २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको पुँजी चार गुणासम्म बढाउने निर्णय गर्दा बैंक सञ्चालकहरुले चर्को विरोध गरेका थिए । त्यसबेला हकप्रद सेयर जारी गर्न दिएर पुँजी पुर्याउन सक्ने सुविधा बैंकहरुले पाएका थिए ।

अहिले बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न पाउने वा नपाउने भन्ने विषयमा बीमा समितिले केही खुलाएको छैन । ‘एउटा त मर्जरलाई प्राथमिकतामा राख्नुपर्छ’, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘जहाँसम्म हकप्रद सेयरको कुरा छ, त्यो जारी गर्न दिने वा नदिने भन्ने विषयमा एक महिनापछि निर्णय हुन्छ ।’

उनले यो विषय धेरै हदसम्म बीमा कम्पनीहरुले पेश गर्ने पुँजी वृद्धि योजनामा भर पर्ने बताउँदै हकप्रद जारी गर्न दिनसक्ने सम्भावनाको संकेत गरेका छन् । सबै कम्पनीका लागि मर्जर सहज छैन । यसकारण पहिले कम्पनीहरुको योजना सुन्ने अनि उचित निर्णय लिने बीमा समितिको योजना रहेको निर्देशक पौडेलले बताए ।

हकप्रद जारी गर्न नपाएको अवस्थामा धेरै कम्पनी समस्यामा पर्ने अवस्था छ । मर्जरमा जोड दिंदा एक दर्जनभन्दा बढी कम्पनी अस्तित्वको संकटमा पर्नसक्ने समितिको आँकलन छ ।

बीमा कम्पनीलाई सहज छ ?

बीमा समितिले गरेको पुँजी वृद्धिको निर्णयलाई केही बीमा कम्पनीले सामान्य रुपमा नै लिएका छन् । केहीले भने पुँजी पुर्याउन सहज नभएको प्रतिक्रिया दिएका छन् ।

अहिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले पुँजी बढाउनु पर्दैन । गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा नै यो कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७१ हजार रुपैयाँ पुगिसकेको छ ।

अन्य जीवन बीमा कम्पनीसँग भने पुँजी बढाउनुको विकल्प छैन । महालक्ष्मी लाइफ इन्स्योन्स लगायत केही कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर समेत जारी गरेका छैनन् । संस्थापकहरुको १ अर्ब ४० करोड रुपैयाँमात्रै पुँजी रहेको यी कम्पनीले अब आईपीओ पनि दोब्बरभन्दा धेरै बढाएर जारी गर्नुपर्नेछ ।

उता निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । अधिकांश कम्पनीहरुको चुक्ता पुँजी दोब्बरभन्दा धेरै बढाउनु पर्नेछ । तर, निर्जीवन बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बीमा समितिको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

पुँजी वृद्धिको विषयमा बीमा कम्पनीहरुको समान धारणा भने छैन । पुँजी बढाउन परे ‘कम्फरटेबल’ अवस्थामा रहेका कम्पनीहरु चुप लागेर बसिरहेका छन् । त्यो अवस्था नभएका कम्पनीहरु भने तनाबमा छन् ।

निर्जीवन बीमा कम्पनी सञ्चालकहरुको संस्था निर्जीवन बिमक सञ्चालक संघका अध्यक्षसमेत रहेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थामा पुँजी वृद्धिको निर्णय आउनु गलत भएको बताएका छन् । बीमा समितिले दिएको समयभित्र पुँजी पुर्याउन नसकिने उनको भनाइ छ ।

बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ पुँजी वृद्धिको विषयमा संस्था अनुसार फरक-फरक धारणा रहेको सुनाउँछन् । उनका अनुसार, केही कम्पनीलाई पुँजी नबढाए पनि हुन्छ, केहीलाई थोरै थप्दा पुग्छ भने केहीलाई निकै सकस पर्ने अवस्था छ । ‘संस्थाअनुसार पुँजीको अवस्था भएकाले यसबारे समान धारणा बन्दैन’, उनले भने, ‘मेरो विचारमा पुँजी बढाउने भनेको रिस्क बेसमा हो, एकै पटक ५ अर्ब भन्न हुँदैनथ्यो ।’

पुँजीको विषयमा संस्थाका सीईओभन्दा सञ्चालकहरुमा बढ्ता चासो हुने श्रेष्ठले बताए । लगानीकर्ताले स्वीकार गरे आफूहरु बोल्नै नपर्ने उनी बताउँछन् । ‘पुँजी कम हुँदा समस्या हुन्छ, धेरै हुँदा पनि समस्या हुन्छ’, उनले भने, ‘भोलिका दिनमा पुँजी धेरै हुने तर विजनेश नहुने भयो भने लगानी अनुसारको प्रतिफल आउँदैन ।’

‘हकप्रद आत्मघाती हुनसक्छ’

केही कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्नै बाँकी छ । सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ जारी नगरेकाले अहिले १ अर्ब ६० करोड रुपैयाँमात्रै चुक्ता पुँजी छ । आईपीओबाट ६० करोड संकलन गरेर २ अर्ब पुँजी पुर्याउने तयारीमा रहेका बेला बीमा समितिले ५ अर्ब पुँजी पुर्याउनुपर्ने बाध्यकारी अवस्था बनाइदिएको छ ।

महालक्ष्मीको कार्यकारी नेतृत्वमा रहेका रमेशकुमार भट्टराई नेपाली बीमा कम्पनीका सबैभन्दा पुराना सीईओ हुन् । उनको अनुभवमा अब हकप्रदकै आधारमा पुँजी पुर्याउनतिर कम्पनीहरु लागे आत्मघाती हुनसक्छ । हकप्रद दिए सेयर संख्या धेरै हुन्छ । सेयर संख्या धेरै भएपछि कम्पनीको लाभांश क्षमता र सेयरमूल्य दुवै घट्ने उनले बताए ।

‘अहिले सबै बीमा कम्पनीको औसत लाभांश क्षमता हेर्ने हो भने ७ प्रतिशत हाराहारी छ, भोलि ५०० करोड पुँजी पुर्याउने हो भने लाभांश क्षमता घटेर ३/४ प्रतिशतमा र्झनसक्छ’ भट्टराईले भने, ‘लगानीकर्ताले क्यापिटल गेन र प्रतिफल हेरेर लगानी हेर्ने हो, क्यापिटल पनि घट्ने, लाभांश क्षमता पनि कम हुने भएकाले हकप्रद आत्मघाती बन्न सक्छ ।’

सेयर संख्या बढेपछि सेयरमूल्य घट्छ । मूल्य घट्ने, कम्पनीको विजनेश नबढ्ने र पुँजीमात्रै बढ्ने हुँदा बीमा कम्पनीहरुलाई हकप्रद फाइदाजनक हुँदैन । यसका लागि मर्जर नै मुख्य विकल्प रहेको भट्टराईले बताए ।

‘बीमा क्षेत्रका लागि मर्जर नै फाइदाजनक हुन्छ,’ उनले भने, ‘हकप्रदको विकल्पमा गयो भने बीमा क्षेत्रकै बेहाल हुन्छ, लगानीकर्ता फस्छन् ।’

अहिले जीवन र निर्जीवन गरेर ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । नेपालमा यो संख्या धेरै भयो भन्नेहरु पनि छन् । संख्या धेरै हुँदा विकृति बढ्छ भन्दै बीमा समितिले पनि कम्पनी घटाउन चाहेको छ । त्यसकारण बीमा कम्पनीहरुको मर्जरलाई नै पहिलो प्राथमिकता दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago