बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद

धनगढी: तीन सातायता बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद भएको छ । असार अन्तिम सातादेखि सडक अवरुद्ध भएको हो । साँफे–मार्तडी सडक खण्डअन्तर्गत बल्दे खण्डमा करिब एक किलोमिटर सडक खण्ड भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
वर्षा सुरु भएसँगै बल्देदेखि जडांगासम्म विभिन्न ठाउँमा सडकमा माथिबाट पहिरो र तलबाट बुढीगंगा नदीले कटान गरेको छ ।
धेरैजसो ठाउँमा पैदल यात्रा गर्न पनि जोखिमपूर्ण अवस्था छ । ‘बल्देदेखि जडांगासम्म पैदल आवतजावत गर्न पनि जोखिम छ । तलमाथि हेर्दै हतारहतारमा हिँड्नुपर्ने अवस्था छ,’ सदरमुकाम रहेको बडिमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले भने, ‘तीन चार वर्षयता हरेक वर्षायामका तीन/चार महिना बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद हुने अवस्था हो । यसपाली पनि त्यही अवस्था दोहोरिएको छ ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बल्दे क्षेत्रमा तलमाथि दुवै ठाउँबाट सडक भाँसिएकाले तत्काल मर्मत गर्न सकिने अवस्था पनि नरहेको बताए । पैदल हिँड्न पनि असहज रहेको ठाउँमा पैदल हिँड्नका लागि वैकल्पिक मार्ग बनाउन सडक विभागका कर्मचारीहरूलाई भनेको बताए । ‘ठाउँठाउँमा डोजर पनि राखेका छन्, तर तत्काललाई पैदल हिँड्न सकिने बाटो बनाइदिन भनेको छु,’ प्रजिअ अधिकारीले भने ।

सडक यातायात अवरुद्ध हुँदा सदरमुकाम मार्तडी क्षेत्रका सिकिस्त बिरामीहरूलाई थप उपचार गर्न जिल्ला बाहिर लैजानुपरे पनि समस्या रहेको स्थानीयले बताए । साथै, सडक अवरुद्धताकै कारण मार्तडी र त्यस अगाडीको कोल्टी क्षेत्रमा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको व्यवसायीहरूले बताएका छन् । ‘मौज्दात धेरै टिक्ने अवस्था छैन,’ मार्तडीका व्यवसायी हंसबहादुर सिंहले भने, ‘समस्या बढ्दै जाने अवस्था छ ।’

जिल्लाको पूर्वोत्तर कोल्टी क्षेत्रमा झन् धेरै समस्या भएको स्थानीयले बताएका छन् । सडक यातायात अवरुद्ध नभएका बेला धनगढीदेखि कोल्टीसम्मको ढुवानी खर्च प्रतिकिलो ११ रुपैयाँ पर्ने गरेकोमा खच्च्डबाट ढुवानी गराउनुपर्दा हाल २५ रुपैयाँ तिर्नुपर्ने अवस्था आएको कोल्टीका स्थानीय व्यापारीहरूले बताएका छन् । निर्माण सम्पन्न भएको दुई वर्ष नपुग्दै दुई वर्षअघि साँफे–मार्तडी सडकअन्तर्गत बल्दे–जडांगा सडक खण्ड क्षतविक्षत भएको हो । अम्कोट क्षेत्रमा बुढीगंगा नदीको वारिपारि अम्कोट र पैमा क्षेत्रमा वर्षौंअघिदेखि बुढीगंगा वारिपारि दुवैतिरबाट विशाल पहिरो खस्न थालेको पनि वर्षौं भएको छ । हाल दुवैतिरको पहाडै खस्किएर बेलाबेला बुढीगंगा नदी नै थुनिने अवस्था उत्पन्न हुने गरेको छ ।

साँफे–मार्तडी खण्डमा अवरुद्ध खण्ड मर्मत गर्न सम्भव नभएकाले वैकल्पिक मार्ग अनिवार्य रहेको प्राविधिकरु बताउँछन् । सरकारले अन्तरजिल्ला जोड्ने सडक संघ सरकारअन्तर्गत, पालिका जोड्ने सडक प्रदेश र वडा जोड्ने सडक पालिकाअन्तर्गत राखेको छ । हाल अवरुद्ध रहेको बाजुरा सडक जिल्ला जोड्ने सडक भएकाले संघ सरकारअन्तर्गत छ । सडक डिभिजन साँफेबगरस्थित कार्यालयको मातहतमा यो सडक रहेको छ ।

सडक डिभिजन कार्यालय साँफेका प्रमुख राजेशकुमार यादवले थप प्राविधिकसहित दुई वटा डोजर परिचालन गरिएको बताए । तर वर्षा नरोकिँदासम्म त्यो पनि सम्भव नरहेको उनको भनाइ छ । ‘वैकल्पिक मार्ग बनाउने विभागले फाइल स्वीकृत गरेको छैन,’ उनले भने ‘हामीले सुरुदेखि प्रयास गरिरहेकै हो, तर वर्षाले सम्भव भइरहेको छैन,’ उनले भने, ‘बाह्य रूपमा हेर्दा त्यस ठाउँमा ट्र्याक चेन्ज गर्नुबाहेक विकल्प छैन ।’ यादवका अनुसार वैकल्पिक मार्ग निर्माण गर्न विभागले जियो इन्टरनेसनल प्रालिसँग गत वर्षको साउनमा सम्झौता गरेर उक्त कम्पनीले अध्ययन गरिसकेको भए पनि प्रतिवेदन भने हालसम्म प्राप्त हुन सकेको छैन ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago