त्रिभुवन विश्वविद्यालय पनि भ्रष्टचारको अखडा

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धामा नम्बर थपघट गरी आफन्त र नातागोतालाई पास गराएको भन्दै ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा उनीहरूमाथि मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारले आयोगको विज्ञापन नम्बर १८/२०७३/२०७४ मा १६ पदको खुला प्रतिस्पर्धामा अनियमितता गरेको आरोपमा दर्ता गरेको यो दोस्रो मुद्दा हो । यसअघि २०७६ असार १८ मा आयोगका तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मा र सदस्य चिन्तामणि पोखरेलसहित १० जनाविरुद्ध विशेष अदालतमा दर्ता गरिएको मुद्दा विचाराधीन छ ।

मंगलबार सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला, प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक केशव घिमिरे, सहप्रशासक इन्दिरा घिमिरे र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी गैरकानुनी लाभ पुर्‍याउने बदनियत गरेको आरोपमा मुद्दा दायर गरिएको हो । सहप्राध्यापक घिमिरे र सहप्रशासक घिमिरेबाहेक अन्य ४ जनाविरुद्ध अख्तियारले सोही आरोपमा २०७६ असारमा मुद्दा दायर गरिसकेको छ ।
शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य लेखा कार्यालय सहायक र कार्यालय सहायकसहित १६ पदका लागि आयोगले २०७३ चैत २९ मा खुला विज्ञापन आह्वान गरेको थियो । एउटै परीक्षामा एकै प्रकारको अनियमितता हुँदा २०७६ को मुद्दामा तत्कालीन अध्यक्ष शर्मा र सदस्य पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो तर मंगलबार दायर मुद्दामा भने शर्मा र पोखरेललाई उन्मुक्ति दिइएको छ ।

लेखा सहायक र पुस्तकालय सहायक पदको नतिजा प्रकाशनमा अध्यक्ष शर्मा र सदस्य पोखरेल प्रत्यक्ष संलग्न रहेको प्रमाण हुँदाहुँदै अख्तियारले मुद्दा नचलाएकामा सेवा आयोगका एक उच्च अधिकारीले आश्चर्य प्रकट गरे । मुद्दा कमजोर पार्ने नियतले उन्मुक्ति दिइएको हुन सक्ने त्रिवि कानुन संकायका एक प्राध्यापकले बताए । ‘सेवा आयोगका अध्यक्ष र सदस्यले हस्ताक्षर गरेपछि मात्रै नतिजा प्रकाशित हुन्छ,’ उनले भने, ‘उक्त विज्ञापनमा लिखित परीक्षाको नतिजा प्रकाशित भइसकेकाले प्राध्यापक र तल्लो तहका कर्मचारी मात्रै दोषी हुन् भन्ने हुँदैन ।’

लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्रप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको अख्तियारले जनाएको छ । ‘उत्तरपुस्तिका रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्य भएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार केशव घिमिरेले लेखा सहायक पदको प्रथम पत्रको र राजेश्वर न्यौपानेले दोस्रो पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा अंक थपघट गरेका थिए ।

आयोगका प्रमुख कोइराला, सम्परीक्षण गर्ने प्राध्यापक ढकाल, उत्तरपुस्तिका परीक्षण गर्ने इन्दिरा घिमिरे र मुख्य कार्यालय सहायक पाण्डेले भने पुस्तकालय सहायक पदको उत्तरपुस्तिका रुजु गर्ने क्रममा परिणाम फेरबदल गरेका हुन् । उनीहरूमाथि अख्तियारले तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि दस हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरेको छ । कसुरमा संलग्नहरू विरुद्ध मात्रै मुद्दा चलाइएको प्रवक्ता भण्डारीले दाबी गरे । ‘पहिले पनि योसँग सम्बन्धित मुद्दा अख्तियारले अघि बढाएको छ, अहिले फेरि उजुरी परेपछि छानबिन गरेर कारबाही थालेका हौं,’ उनले भने ।

यो प्रकरणमा रोचक त के छ भने २०७६ असारमा मुद्दा चलाउने बेला अख्तियारले सफाइ दिएको उत्तरपुस्तिकामै अंक थपघट गरी नतिजा फेरबदल गरेको उजुरी परेपछि पुनः छानबिन गरेर अख्तियारले नै मुद्दा अघि बढाएको हो । सेवा आयोगले २०७५ मा परीक्षा लिएर २०७६ वैशाखमा नतिजा सार्वजनिक गरेको थियो । नतिजा प्रकाशनका क्रममा ‘सेटिङमा उत्तरपुस्तिका परीक्षण’ गरिएको र ‘आफन्तलाई पास गराउन बढाएर नम्बर दिएको’ भेटिएको थियो ।

त्यतिबेला अख्तियारले १६ वटै पदका परीक्षाको उत्तरपुस्तिका छानबिन गरेर ६ वटा पदमा मात्रै अनियमितता गरेको निष्कर्ष निकाल्दै विशेष अदालतमा आयोगका पदाधिकारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उक्त मुद्दा विचाराधीन हुँदै अख्तियारले १० वटा पदको उत्तरपुस्तिकालाई सफाइ दिएको थियो । तर सेवा आयोगले नतिजा प्रकाशन गर्ने क्रममा अख्तियारले सफाइ दिएकै उत्तरपुस्तिकामा जथाभाबी अंक दिइएको भेटियो । पछि अख्तियारका तत्कालीन अनुसन्धान अधिकृत रामप्रसाद सुवेदीले ‘उत्तरपुस्तिकाको परीक्षणमा अनियमितता देखिन नआएको’ भन्दै सफाइ दिएका थिए ।

अख्तियारले हाल लेखा सहायक र पुस्तकालय सहायक पदमा मात्रै अनियमितता भएको भन्दै मुद्दा अघि बढाए पनि अन्य पदको उत्तरपुस्तिकामा पनि नम्बर थपघट गरिएको सेवा आयोगनिकट स्रोतले जानकारी दियो । उत्तरपुस्तिका परीक्षक र विषय विज्ञले मनोमानी रूपमा अंक दिएर आफ्ना मान्छेलाई पास गराउन उत्तरपुस्तिका परीक्षणको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको सेवा आयोगका एक कर्मचारीले बताए । उनका अनुसार उपप्रशासक, आर्थिक उपनियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत/इन्जिनियरिङ/कम्प्युटर, मुख्य प्राविधिक सहायक पदको परीक्षामा पनि मनोमानी भएको छ । यी सबै पदका ५ सय ७६ वटा उत्तरपुस्तिका अख्तियारले जफत गरेको छ ।

कहिले के भयो ?

०७३ – १६ पदको खुला प्रतिस्पर्धाको विज्ञापन

०७५ – परीक्षा सञ्चालन

०७६ वैशाख – लिखित परीक्षाको नतिजा प्रकाशन

०७६ जेठ -अख्तियारको छानबिन

०७६ असार १८ -६ पदमा मात्रै अनियमितता गरेको आरोपमा मुद्दा दायर

०७६ असार २० – १० पदको उत्तरपुस्तिकालाई अख्तियारको सफाइ

०७८ मंसिर – १० पदमा पनि अनियमितता भएको उजुरी

०७८ चैत १५ -१० पदमध्ये २ पदमा पनि अनियमितता भएको पुष्टि

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago