गोल्डम्यानको गतिविधिमाथि शंका उठाउँदै धितोपत्र बोर्डमा उजुरी

काठमाडौं: गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीले संस्थागत सेयर संकलन भन्दै रकम संकलनको योजना ल्याएपछि नेपाल धितोपत्र बोर्ड नै सशंकित बनेको छ। गोल्डम्यानले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि आकर्षक योजना सार्वजनिक गरिसकेको छ। कम्पनीले धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै करोडौं संस्थागत सेयर संकलनको योजना बनाएको छ।

नेपाल धितोपत्र ऐन, कम्पनी ऐन अनुसार ५० जनाभन्दा बढी व्यक्तिसँग रकम संकलन गर्नुपरे धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने प्रावधान छ। धितोपत्र बोर्ड र कम्पनी ऐन दुबैअनुसार प्रतिकूल देखिएपछि धितोपत्र बोर्डले गोल्डम्यानको गतिविधिमाथि छानबिन तथा अनुसन्धान गरिरहेको छ। गोल्डम्यानको गतिविधि शंकाष्पद देखिएपछि छानबिन अघि बढाइएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेतोपाटीलाई बताए। ‘गोल्डम्यान कानुनअनुसार दर्ता भएको देखिँदैन, तर उसले ठूलो विज्ञापन गरी बजारबाट रकम संकलन गरिरहेको देखिएको छ,’ उनले भने।
गोल्डम्यानले अहिले प्रचार गरिएको कार्यक्रम के हो, यो विषयको गम्भीरता कति हो खोजी गर्ने काम भइरहेको हमालले बताए।
‘धितोपत्र बजारसँग गाँसिएका कुराहरू कति कानुनसम्मत् छन्/छैनन् अनुसन्धान भइरहेको छ,’ हमालले भने, ‘उहाँहरूले आफ्नो गतिविधि अघि बढाउँदा कहाँबाट अनुमति लिनुभएको हो, बोर्डबाट अनुमति प्राप्त नभएकाले हामी खोजी गरिरहेका छौं।’
गोल्डम्यान धितोपत्र बोर्डमा सूचीकृत भइसकेको कम्पनी होइन। तर, उसले संस्थापक सेयर भन्दै रकम संकलनको योजना भने आक्रामक ढंगले अघि बढाइरहेको छ।
उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको छ। त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरिएको छ।
सो सेयर आए १० वर्षको नाफा र प्रतिफल गरेर ५ सय प्रतिशतसम्म लाभांश दिइने भनिएको छ।
‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको छ।
नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने गोल्डम्यानले प्रचार गरिरहेको छ।
गोल्डम्यानको उद्घाटन गत पुसमा भएको थियो। पाँच वर्षको अवधिमा ५० कम्पनी बनाउने भनिएको छ। अहिले नै यो कम्पनीमा ४० जना लगानीकर्ता पुगिसकेको गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवालको दाबी छ। पुराना लगानीकर्ता भनिएका अग्रवालको विज्ञता कुन क्षेत्रमा हो भन्ने खुलेको छैन।
२०८४ सालमा गोल्डम्यान इन्भेष्टमेन्टको ‘लकिङ’ खुल्ने र २०८६ सालमा गोल्डम्यानको एफपिओ आउने भनिएको छ।
२०८८ सालसम्म यसको नेटवर्क २५ हजार पुग्ने साथै नेपालको सबैभन्दा ठूलो कम्पनी बन्ने भनी प्रचार गरिएको छ।
गोल्डम्यानको गतिविधिमाथि शंका उठाउँदै धितोपत्र बोर्डमा उजुरीहरू आइरहेको अध्यक्ष हमालले बताए। ती उजुरीमाथि कारबाही अघि बढाइएको उनले जानकारी दिए।
गोल्डम्यानले एउटा कम्पनीमा १० करोड लगानी हुने र एउटा कम्पनीको पब्लिक सेयर १ लाख कित्ता हुने दाबी गरेको छ।
धितोपत्र बोर्डमा सूचीकृतपछि प्रतिसेयरको मूल्य ५ हजार हुने भनिएको छ। सूचीकृत ५० कम्पनीको सार्वजनिक सेयर पुँजी ५०० करोड हुने दाबी गरिएको छ। ५० कम्पनीको सेयरको बजार पुँजी २५ हजार करोड हुने दाबी गरिएको छ।
गोल्डम्यानका दीपेन्द्र अग्रवाल संस्थागत सेयरका लागि धितोपत्र बोर्डमा अनुमति लिनु नपर्ने जिकिर गर्छन्।
‘समय आएपछि हामी धितोपत्र बोर्डमा जान्छौं, कम्पनी ऐनअनुसार दर्ता पनि हुन्छौं,’ अग्रवाल भन्छन्, ‘भविष्यमा हामी यस्तो बन्छौं भनेर सपना देख्न त पाइयो नि।’
अग्रवालले अहिले कोहीसँग पनि रकम संकलन नगरेको दाबी गरे। उनले आफ्नो कम्पनीमा ४० जना लगानीकर्ता जुटिसकेको र यसलाई विस्तार गर्दै जाने योजना रहेको बताए।
‘५० जनाभन्दा बढी व्यक्तिबाट रकम संकलन गर्दा धितोपत्र ऐन पछ्याउनुपर्ने कुरा रहेछ, त्यसबारे हामी सजग छौं,’ अग्रवालले भने, ‘मैले कुनै पनि गैरकानुनी काम गरिरहेको छैन।’
अग्रवालले नेपालमा रोजगारी सिर्जना होस् भनेर यस्तो अवधारणासहित काम थालेको दाबी गरे।
गोल्डम्यानले आफूलाई पब्लिक लिमिटेड कम्पनी हो भन्ने गरेको छ। यसले पुँजी संकलन गरी आय आर्जन, रोजगारी र उत्पादन वृद्धिमा टेवा पुग्ने क्षेत्रहरूमा लगानी गर्ने उद्देश्य लिएको भनेको छ।
कम्पनीले सेयर धनीहरूलाई आर्थिक लाभ दिलाउने गरी स्वच्छ पारदर्शी र व्यावसायिक ढंगले कारोबार सञ्चालन गर्ने भनेको छ।
गोल्डम्यान लिमिटेडलाई आगामी आर्थिक वर्षभित्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनीहरू स्थापना गरी व्यावसायिक सफलता हासिल गरेर धितोपत्र बजारमा जाने भनिएको छ।
उसले ५० कम्पनीको विविधिकरण पनि गरिसकेको दाबी गरेको छ। गोल्डम्यानले आफ्नो चालु परियोजनामा मेगा माइनिङ लिमिटेड काभ्रेलाई देखाएको छ।
त्यसमा ६ करोड लगानी गरिएको दाबी गरिएको छ र त्यसको शतप्रतिशत काम सम्पन्न भएको भनिएको छ।
यस्तै, १० करोडको लागतमा स्मार्ट डोर लिमिटेड काठमाडौंको टोखामा सञ्चालन गरिएको र त्यसको ८० प्रतिशत काम भइसकेको भनिएको छ।
गोल्डम्यानले आगामी योजनामा उड प्लाष्टिक कम्पोसाइट ८ करोडको लागतमा निर्माण गर्ने भनिएको छ।
यस्तै, ८ करोडको लगानीमा ब्रेक सु फर कार, १० करोडको लागतमा लुब्रिकेन्टस् स्थापना गर्ने भनिएको छ।
भविष्यमा समेटिने अन्य कार्यक्रममा सूचना, शिक्षा, सेयर बजार, अस्पताल र औषधी, वित्तीय सेवा, पूर्वाधार विकास, कृषि निर्माण, हाइड्रो, रियलस्टेट रहेको बताइएको छ।
गोल्डम्यानले मुनाफासहितको आश्वासन देखाएर संस्थागत पुँजी संकलन गर्ने विज्ञापन गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको भनाइ भन्दै उनको तस्बिर पनि प्रयोग गरेको छ।
अध्यक्ष यादवले आफूलाई कार्यालय उद्घाटनमा बोलाइएको र गएकोबाहेक अन्य केही पनि कारोबारको बारेमा थाहा नभएको सेतोपाटीलाई बताए।
गोल्डम्यान अध्यक्ष अग्रवाल भने आफूहरूमाथि अर्थमन्त्री जनार्दन शर्मा र उनले नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्ष हमालले पूर्वाग्रही ढंगले प्रस्तुत भएको दाबी गर्छन्।
‘हामीले कुनै गल्ती गरेका छैनौं, तर अर्थमन्त्री शर्मा र उहाँले नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्षले हामीमाथि पूर्वाग्रह राख्नुभएको छ,’ उनले भने, ‘म कुनै राजनीतिक व्यक्तिसँग नजिक भएको आधारमा यो भइरहेको छ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago