विराटनगरका १९९ परिवार विस्थापित, तीन दिन विद्यालय बन्द

विराटनगर: मंगलबार बिहानैदेखि परेको अविरल वर्षापछि बस्तीहरूमा खोला पस्दा विराटनगर महानगरपालिका क्षेत्रभित्र १९९ घर परिवार विस्थापित भएका छन् । बाढी र डुबानको जोखिम बढ्दै गएपछि मंगलबार महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको आकस्मिक बैठकमा जिउँ ज्यानको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा वडाध्यक्षहरूले जोड दिए ।

महानगरपालिका पूर्वतिर सिंघीया र पश्चिममा केशलिया खोलाको पानी बस्तीमा पसेको हो । बस्तीहरुमा पानी पस्दा खोला किनारका घरहरु डुबानमा परेका हुन् । वडा १ मा ३० घर, २ मा ८२, ७ मा ५२ र ८ मा ३५ घर विस्थापित भएको जनाइएको छ । जोखिम क्षेत्रका अधिकांशलाई सुरक्षित स्थानमा सारिएको छ ।
सिंघीया खोलाको पानी सहजै पस्ने विराटनगरको वडा नम्बर १, २ र ७ र ८ का बस्तीहरु डुबेका हुन् । बर्सेनिको बाढी र डुबानको समस्याको दिगो समाधान हुन नसक्दा विराटनगरमा खोला किनारका अधिकांश बस्तीहरु डुब्दै आएका छन् ।

विराटनगर–३ स्थित जलमग्न भएको उदयमार्गमा स्थानीयले बाँस तेर्‍स्‍याएका छन् । खाल्डाखुल्डी भएको सडक जलमग्न भएकोले सवारी साधनहरु गुड्दा दुर्घटना हुने जोखिम बढेको भन्दै उनीहरुले बाँस तेर्‍स्‍याएर बाटो बन्द गरेको बताए ।

विराटनगर–९ को हिमालय रोडलाई नमूना सडकका रूपमा बनाइएको एमजी रोड डुबानमा परेको छ । मेनरोडदेखि पुष्पलाल चोक खण्डको नमुना सडक अन्तर्गत भट्टाचोकमा नालाको निकास थुनिँदा सडकबाटै पानी बगेको छ ।

महानगरको पश्चिमपट्टि वडा नम्बर ४, ५, ६, ११, १३ का बस्तीहरुमा पानी पसेर डुबान भएको वडाध्यक्षहरूले जानकारी दिए ।

विराटनगर–रंगेली सडक खण्डमा ह्युमपाइप थुनिँदा नगरपालिकाले सडक भत्काएर पानीको निकास खुलाएको छ । मोरङकै ग्रामथान गाउँपालिका–६ र ७ मा केही स्थानका सडकमा रहेका ह्युमपाइप बाढीले बगाएको स्थानीय नरेन्द्र बस्नेतले जानकारी दिए । उनले बस्तीहरूमा पानी पसेर जलमग्न भएको जानकारी दिए ।

बुढीगंगा गाउँपालिका–१ खापटोलमा सिंघीया खोलाले कटान गर्न थालेपछि खोला किनारका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षापछिको बाढीले मोरङको बेलबारी, उर्लाबारी, सुन्दरहरैंचा लगायतका स्थानीय तहका धेरै ठाउँ डुबानमा परेको छ । वर्षाले झापामा १६० घर परिवार प्रभावित भएका छन् । थप ३५० घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाढी बस्तीमा पसेर डुबान हुन थालेपछि सोमबार अपरान्ह विराटनगर महानगरपालिकामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेसहित महाशाखा प्रमुखहरुको आकस्मिक बैठकले रेस्पोन्स टिम बनाउने निर्णय गरेको छ ।

महानगरमा बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानको संयोजकत्वमा सहकार्य समन्वय समिति गठन गरेको छ । खाद्य व्यवस्थापनतर्फ रामहरि कोइराला, बसोबास (सेल्टर) व्यवस्थापनमा दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापनमा राजन पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले स्वास्थ्य, पोषण, औषधि तथा स्वच्छता व्यवस्थापनका लागि रमेश कार्की, सरसफाई, विपद् व्यवस्थापनमा हीरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापनमा अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मीनकुमार नवोदितलाई तोकिएको छ ।
बैठकमा महानगर प्रमुख नागेश कोइरालाले जिउ धनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्‍न आग्रह गरेका छन् । उनले गठित समितिहरूले समेत महानगरवासीको जीउधनको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएका हुन् । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुक्षित स्थानमा सार्नका लागि वडाका जनप्रतिनिधिहरूसँग समेत समन्वय गरिने बताए । त्यसैगरी उपप्रमुख कार्कीले बाढी र डुबानबाट विस्थापितहरुको व्यवस्थापनमा महानगर केन्द्रित भएको बताइन् । उनले स्थानीय संघसंस्थाहरूसँग समेत सहकार्य गरेर विपद्को सामना गर्नुपर्ने बताइन् ।

वडाध्यक्षहरूले भने कोशी राजमार्गका विभिन्‍न स्थानमा पुराना कल्भर्टहरू मासिएका कारण पानी थुनिएर डुबानको समस्या बढेको भन्दै आक्रोश पोखेका छन् ।
यसैबीच महानगरपालिकाले बाढी जन्य प्रकोपको जोखिमलाई मध्यनजर गर्दै असार १७ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वडाध्यक्षहरूसहितको बैठकले बुधबारदेखि लागु हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago