किन विभिन्न पेसा छाडेर उम्मेदवार बन्दैछन् ?

बुटवल: विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् । वर्षौंदेखि राजनीति गरेका नेतालाई पाखा लगाउँदै राजनीतिक दलहरूले विभिन्न क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाएका हुन् । कतिपय विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा सरिता देवकोटाले उम्मेदवारी दिएकी छन् । उनी लामो समयदेखि शिक्षण पेसामा संलग्न थिइन् ।

राजनीतिमा सक्रिय नरहेकी देवकोटा शिक्षण पेसा छोडेर प्रमुखको उम्मेदवार बनेकी हुन् । स्थानीय सरकारलाई सुशासनको बाटोमा लैजान आफू उम्मेदवार बनेको उनले बताइन् । उनी घोराहीस्थित अम्बिकेश्वरी मन्दिरमा घुस नखाने कसम खाएर चुनाव प्रचारमा हिंडेकी छन् । लामो समयदेखि संघसंस्थामा क्रियाशील श्रीमन न्यौपानेले घोराहीको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले घोराहीमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र नामक संस्थामा रहेर लामो समयदेखि विभिन्न परियोजना सञ्चालन गर्दै आएका थिए । घोराहीको अनुहार बदल्न आफू उम्मेदवार बनेको उनले बताए ।

दाङको तुलसीपुर उपमहानगरको उपप्रमुखमा एमालेले सामाजिक क्षेत्रमा रहेकी स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ । उनले तुलसीपुरमा दिदीघर नामक संस्था सञ्चालन गरेर असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छन् ।

सामाजिक सेवामा सक्रिय रहेकी चौधरी एक्कासि राजनीतिक सतहमा देखापरेकी हुन् । पालिकाबाट यसअघि वडा नं. ६ की सदस्य रहेकी युवा करारा र चौधरीको नाम सिफारिस भएकामा पार्टीले चौधरीलाई उम्मेदवार बनाएको हो । तुलसीपुरको उपप्रमुखमा कलाकार सुशील नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनी पनि लामो समयदेखि गीत, संगीत क्षेत्रमा क्रियाशील थिए । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष भएर लामो समय काम गरेका खेमराज वलीले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । २२ वर्ष ५ महिना ८ दिनसम्म सरकारी जागिर खाएका भक्तबहादुर जीसीले बंगलाचुली गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

बंगलाचुलीमै स्वास्थ्य शाखा प्रमुखमा कार्यरत जीसीले राजीनामा दिएर कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार भएका हुन् । साँघुरो इकाइमा काम गर्दा चित्त नबुझेर नीति निर्माण तहको फराकिलो क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रकाश विष्टले उम्मेदवारी दिएका छन् । उनी पनि हालसम्म स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनले असहाय सडक मानवहरूलाई आश्रय दिने र स्वास्थ्य सेवा दिने काम गर्दै आएका थिए । उनी पनि पहिलोपटक राजनीतिक उम्मेदवार बनेका हुन् ।

११ प्रमुख र ९ उपप्रमुख फेरि उम्मेदवार

एकपटक सत्तामा पुगेपछि त्यसमै टाँसिइरहने प्रवृत्ति स्थानीय तहमा पनि देखिएको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन, सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि पनि यसपालि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् । रूपन्देहीका १६ स्थानीय तहमध्ये ११ वटामा प्रमुख तथा अध्यक्षले उही पद दोहोर्‍याउन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ९ वटामा उपप्रमुख तथा उपाध्यक्षले सोही पद दोहोर्‍याउँदै उम्मेदवारी दिएका छन् । ८ स्थानीय तहमा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।

नगरपालिकातर्फ सैनामैना प्रमुखमा चित्रबहादुर कार्की र उपप्रमुखमा विना राना दोस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू दुवै गत स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी भएका हुन् ।

नगर प्रमुखका प्रतिस्पर्धी कार्कीले आफू प्रमुख भएपछि थालिएका कतिपय दीर्घकालीन योजना पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । आफ्नो नभई पार्टी र स्थानीय स्वतन्त्र मतदाताको समेत रायमा आफूले उम्मेदवारी दिएको उनले सुनाए ।

‘गाउँपालिकाबाट नगरपालिका बन्नासाथ नेतृत्व लिएँ । धेरै अत्यावश्यक र महत्त्वाकांक्षी काम थालें । तर, सबै काम पाँच वर्षमा पूरा भएनन्,’ उनले भने, ‘नगरपालिका नमुना बनाउन पुनः उठेको हुँ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मनमोहन चौधरी र जानकीदेवी श्रीवास्तव सोही पदका लागि चुनावी मैदानमा छन् । यसअघि स्वतन्त्रबाट विजयी चौधरी यसपालि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।

श्रीवास्तव जनता प्रगतिशीलबाट चुनावी मैदानमा छन् । आफूले सुरु गरेका राम्रा काम पूरा गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उनीहरूले बताए । देवदह नगर प्रमुखमा हीराबहादुर खत्री र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङले पुनः उम्मेदवारी दिएका छन् ।

खत्री कांग्रेस र विद्यालक्ष्मी एमालेका उम्मेदवार हुन् । पहिलो कार्यकाल सिकाइ र अनुभव लिनमै बितेकाले यसपालि नगरको विकास गर्न नेतृत्व दोहोर्‍याउन चाहेको नगर प्रमुखका प्रतिस्पर्धी खत्रीले बताए । ‘ऐन कानुन, कर्मचारी र जनप्रतिनिधिको अनुभव अभावले पनि पहिलो कार्यकालमा सोचेजति काम भएन,’ उनले भने ।

गाउँपालिकातर्फ शुद्धोधनमा किशुनचन्द्र चौधरी र शान्ता ज्ञवाली, मर्चवारीमा केशवनन्द वानिया र सुनिता कलवार, रोहिणीमा सनोज यादव र उपाध्यक्षमा शिवकान्ती हरिजन, मायादेवीमा ध्रुवनारायण चौधरी र तारादेवी यादव एवं सियारीमा अयोध्या थारु र अमृता गुरुङले अध्यक्ष र उपाध्यक्षमा दोहोर्‍याएर उम्मेदवारी दिएका हुन् ।

पालिका अध्यक्षतर्फ कोटहीमाई गाउँपालिकामा चन्द्रभूषण यादव, सम्मरीमाईमा जितेन्द्रनाथ शुक्ला र गैडहवामा बच्चुलाल केवट नयाँ उपाध्यक्षका साथ चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । उपप्रमुखतर्फ तिलोत्तमा नगरपालिकाकी जगेश्वरीदेवी चौधरीले सोही पदमा पुनः उम्मेदवारी दिएकी छन् ।

एक कार्यकाल बिताएका जनप्रतिनिधिहरू आफ्नो दललाई प्रभावमा पारेर सोही पदमा दोहोरिन चुनावमा गए पनि राम्रो काम गर्नेलाई जिताउने र नराम्रोलाई पन्छाउने अधिकार भने नागरिकसँग मात्रै रहेको विश्लेषक विमलबहादुर शाक्यले बताए । ‘राम्रो भिजन भएका कतिपय प्रतिनिधि नागरिककै चाहनामा उठेका होलान्,’ उनले भने, ‘उनीहरू पुनः विजयी होलान् । तर, पदको लोभमा मात्रै उठ्ने प्रतिनिधि जनताको मतबाटै बाहिरिने निश्चित छ ।’

जागिरेलाई जनप्रतिनिधि बन्ने रहर

पाल्पा– पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा स्वास्थ्यकर्मीले मनोनयन दर्ता गराएका छन् । गाउँपालिकामै केही समय स्वास्थ्य शाखामा काम गरेका माथागढी गाउँपालिका–३, कसेनीका यम चिदीको अध्यक्षमा उम्मेदवारी परेको हो । यसैगरी उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी माथागढी–६, गोठादीकी विष्णुमाया लुङ्चे मगर पनि स्वास्थ्यकर्मी नै हुन् ।

उनले गोठादी स्वास्थ्य चौकीलगायत विभिन्न स्थानमा २७ वर्ष सरकारी जागिरे भएर काम गरेकी हुन् । अध्यक्षमा उम्मेदवारी दिएका चिदीले पनि २५ वर्ष ६ महिना २७ दिन जागिर गरेर महिना दिनअघि मात्र राजिनामा दिएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएकी लुङ्चे मगरले साताअघि मात्र राजिनामा दिएकी हुन् ।

स्वास्थ्यकर्मी संघको नेतृत्व सम्हाल्दै आएका अध्यक्षका उम्मेदवार चिदीले केही समय जनप्रतिनिधिहरूसँग काम गरेको अनुभव छ । स्वास्थ्य शाखामा बसेर काम गर्दा उनले जनताको पिरमर्काका विषयमा धेरै अनुभव लिएको बताए । सरकारी जागिरे जीवनमा जनतासँग नजिक भएर काम गरेकाले अहिले जनताको सेवा गर्न मन लागेकाले अध्यक्षमा उम्मेदवारी दिएको चिदीले बताए ।

‘मलाई स्थानीय तहको नीति निर्माण तहमै बसेर काम गर्न मन लागेर पार्टीसँग टिकट मागेको हुँ,’ उनले भने, ‘एमाले निकट ट्रेड युनियनमा काम गर्दै आएकाले पार्टीले पनि टिकट दिन कुनै कन्जुस्याइँ गरेन ।’ अध्यक्षका उम्मेदवार सिनियर अहेव अधिकृत छैटौं पदमा कार्यरत थिए । अधिकृत सरहको जागिर छाडेर उनी निर्वाचनमा होमिएका हुन् ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago