बारम्बार ‘घर जा’ भनेपछि टिम छाडे, किन ?

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो होस्टलमा दिइरहेको सेवासुविधालाई लिएर पहिलादेखि नै कुरा उठाइरहेका थिए, गुनासा गरिरहेका थिए । एसियन कप २०२३ छनोटको तयारीमा यसपालि पनि टिमलाई त्यही होस्टेलमा राख्ने भनिएको थियो ।

खेलाडीहरू होस्टेल होइन, होटलमा बस्न चाहन्थे । सेवासुविधा सुधारेको अवस्थामा होस्टेलमै बस्न पनि तयार थिए । त्यसैले खेलाडीहरू होटेलमा नभए सुधारिएको होस्टेलमा बस्न पाउनुपर्नेमा एकमत भए । यसबारे एन्फा र प्रशिक्षकसँग कुरा गर्न तयार भए ।
प्रशिक्षणमा खेलाडीको नेतृत्व रोहित चन्दले गरिरहेका थिए । त्यसैले खेलाडीलाई चित्त नबुझेको कुरा गर्ने जिम्मा पनि उनैले पाए । सबै खेलाडी उनलाई साथ दिन तयार भए । होस्टेलमा बस्न दिन तोकिएको थियो– सोमबार ।

त्यसको अघिल्लो दिन आइतबार दशरथ रंगशालामा ट्रेनिङपछि रोहितले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई बन्द प्रशिक्षणमा खेलाडीहरूलाई होस्टेल राम्रो नभएकाले होटलमा राख्नुपर्ने बताएका थिए । एन्फा होस्टेलमा राख्ने भए खेलाडीहरूको लागि त्यसलाई सुधार गरेर राम्रो बनाउनुपर्ने विषय रोहितले राखेका थिए ।
मिडफिल्डर/सेन्टरब्याक रोहितले खेलाडीको तर्फबाट कुरा राखेपछि प्रशिक्षक अल्मुताइरीले को–को होस्टेल बस्ने, को होटल बस्ने भन्दै खेलाडीहरूलाई हात उठाउन लगाए ।

अल्मुताइरीले को होटेल बस्ने भनेर सोधे, रोहितले हात उठाए । होस्टेलप्रति गुनासो गर्दै पहिला उनलाई साथ दिने बताएका सबै खेलाडी चुपचाप बसे । रोहित एक्लो भए । तत्कालै अल्मुताइरीले रोहितलाई भनेका थिए, ‘तिमी घर जाऊ ।’ रोहित टिमबाटै निकालिए । उनी घर फर्किन बाध्य भए ।

होस्टेल राम्रो नभएकै कारण वैशाख २ देखि सुरु भएको प्रशिक्षणमा मोफसलका खेलाडीहरूलाई भने पाँचतारे स्तरको झम्सिखेलस्थित होटल भिभान्तमा राखिएको थियो ।

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहितलाई हटाइएको भोलिपल्ट सोमबार बन्द प्रशिक्षण सुरु भयो । खेलाडीहरूलाई एन्फा होस्टेल होइन, त्रिपुरश्वेरस्थित युनाइटेड बिजनेस होटलमा राखियो । रोहितलाई ‘अन्याय’ भएको भन्दै खेलाडीहरूले टिम व्यवस्थापक मधुसुदन उपाध्यायसँग कुरा राखे । तर कुनै सुनुवाई भएन । खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीसँग कुरा गर्न चाहे । तर, उनी खेलाडीको कुरा सुन्न तयार भएनन् ।

टिमका एक खेलाडीले भने, ‘होस्टेल राम्रो छैन, होटेल बस्ने भन्नुपर्छ भनेर हामी सबैको बोली रोहितले बोलेका हुन् । हामी सबै डराएर बोल्न, हात उठाउन सकेनौं । होटल बस्ने भनेकै कारण रोहितलाई घर पठाउनु ठीक थिएन । आखिर त्यही दिन टिमका लागि होटल मिलाइसकेको रहेछ ।’

उनीहरूले यसबारे प्रशिक्षक अल्मुताइरीसँग कुरा गर्न चाहेका थिए । सबैको कुरा रोहितले बोलेको भनेपछि बल्ल अल्मुताइरी पाँच जनालाई बोल्न दिन तयार भए ।

टिमका २५ खेलाडीमध्ये कप्तान/गोलकिपर किरण चेम्जोङ र डिफेन्डर देवेन्द्र तामाङ बाहिर छन् । रोहितलाई घर फर्काइएको थियो । बाँकी २२ खेलाडीमध्ये नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ प्रशिक्षक अल्मतुाइरीसँग कुरा गर्न गए । तर, अल्मुताइरीले कुरै सुन्न मानेनन्, उल्टै ती खेलाडीहरूलाई घर जाऊ भनिदिए । उनले जुनियर खेलाडीहरूलाई पनि ‘मेरो टिममा बस्ने कि रोहितको टिममा जाने’ भन्दै भोटिङ गर्न भने ।

अल्मुताइरीसँगको भेटबारे खेलाडीले भने, ‘प्रशिक्षकले हाम्रो कुरा सुन्नै मानेनन् । हामीलाई ‘तिमीहरूलाई विश्वास छैन रहेछ, नेगेटिभ भाइब्स ल्याइस् । घर गइहाल । टिममा तिमीहरू चाहिँदैन, म भएसम्म तिमीहरू कोही टिममा हुँदैन घर गइहाल’ भने । समस्या समाधान गर्ने उद्देश्यले पुगेका हामीलाई पनि लगातार ‘घर जा’ भनिरहे । त्यसैले मंगलबार बेलुकी हामीले होटल छाडेका छौं । ओके, बाइ बाइ भनेर राम्रैसँग निस्केका हौं । व्यवस्थापकलाई भनेरै आएका हौं ।’ अल्मुताइरीसँग कुरा गर्न गएका १० जनामध्ये विभागीय टिम आर्मीका फरवार्ड नवयुग भने टिमसँगै होस्टलमा छन् ।

प्रशिक्षक र खेलाडीबीच विवाद चर्किएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरूलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार खलाडीहरूलाई बोलाएका थिए । खेलाडीले एन्फामा कुरा गर्न अस्वीकार गरेपछि अध्यक्ष शेर्पाले बालुवाटार गएर भेटेका थिए । उनले खेलाडीहरूलाई ‘प्रशिक्षकसँग कुरा गरेर खबर गर्ने’ वचन दिएका छन् ।

खेलाडीलाई आफ्नो सेवासुविधाका लागि संघर्ष गर्नुपर्ने बताइरहने अल्मुताइरी आफैंले अहिल फरक व्यवहार गरेको उल्लेख गर्दै एक खेलाडीले भने, ‘कोचले नै पहिला जहिले नि हामीलाई होटलमा राख्छु भन्थे । आफ्नो लागि लड्नुपर्छ भन्थे । अहिले उनी ‘एन्फासँग लड्ने भनेको थिएँ, मसँग लड्ने भनेको हो र ? भन्छन् ।’

यस छनोटको तयारीको पहिलो दिन नै ‘नेपाल एसियन कपमा छनोट हुन नसक्ने’ अभिव्यक्ति दिएका प्रशिक्षक अल्मुताइरीले थप १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन् । सिनियर खेलाडीहरूसँग उनको व्यवहारले नेपालको तयारीलाई असर गर्ने नै छ । समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago