पिक सिजनमै बजारमा निर्माण सामाग्री सिमेन्ट, डन्डीको माग ह्वात्तै घटेको छ

काठमाडौं: निर्माण सामाग्रीको पिक सिजनमै बजारमा निर्माण सामाग्री सिमेन्ट, डन्डीको माग ह्वात्तै घटेको छ। माघदेखि जेठसम्म निर्माण कार्यको पिक सिजनमा पनि निर्माण सामाग्रीको माग घटेको छ। पिक सिजनमै नयाँ घरको जग हाल्ने अर्थात् फाउन्डेसनको काम अधिक हुने गर्छ।
माग निकै घटेपछि डन्डी र सिमेन्टको उपभोक्ता मूल्य पनि घट्न थालेको छ। तरलता संकटले निरन्तर घट्दै गएको घरजग्गा कारोबार र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै घरजग्गा ऋणमा जोखिम भार दोब्बरले बढाएपछि त्यसको प्रत्यक्ष असर निर्माण सामाग्री बजारमा पनि देखापरेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको भाउ उकालो लाग्दै गएपछि त्यसको असर पनि डन्डी र सिमेन्ट उत्पादनमा परिरहेको उद्योगीहरुले बताएका छन्।

सँगै पेट्रोलियम पदार्थको मूल्य मूल्य बढ्दै जाँदा ढुवानी खर्च पनि उकालो लागेको छ। उत्पादन लागत निरन्तर बढिरहँदा बजारमा ह्वात्तै माग सिमेन्ट र डन्डीको मूल्य भने घट्न थालेको देखिन्छ।

शंकर समूहका प्रबन्ध निर्देशक शाहिल अग्रवालका अनुसार तरलता अभावकै कारण बजारमा डन्डीको माग घट्दै गएको छ। गत वर्षको पिक सिजनको तुलनामा यो वर्षको सोही अवधिमा २० देखि २५ प्रतिशतले डन्डीको माग ओरालो लागेको उनले बताए।

‘तरलता अभावका कारण बजारमा पर्याप्त पैसा छैन। यसले माग घटाएको छ। सँगै विश्व बजारमा डन्डी उत्पादनलाई आवश्यक कच्चा पदार्थको मूल्य बढेको भएपनि माग घटेकाले भाउ बढेको छैन। कच्चा पदार्थको भाउ अनुसार नेपालमा डन्डीको मूल्य हामीले समायोजन गरेको भए प्रति किलो १२० रुपैयाँसम्म पुग्थ्यो। माग नभएकाले अहिले ११० हाराहारी छ,’ अग्रवालले भने।

तीन/चारवटा कारणले बजारमा सिमेन्टको माग झण्डै आधाले घटेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेको भनाइ छ। सरकारले गर्ने विकास खर्च निकै कम, निजी (व्यक्तिगत) तथा व्यवसायिक तवरबाट घर निर्माण गर्न बैंकबाट ऋण नपाउने, कोरोनाले बिथोलिएको र आर्थिक क्षेत्रमा परेको भारबाट तंग्रिन नयाँ परियोजना निर्माण होल्ड हुनुका कारण निर्माण सामाग्रीको माग घट्न पुगेको उनले बताए।

‘सरकारी खर्च हामीले सोचेको भन्दा कम भयो। घर बनाउने वा हाइड्रो बनाउनेहरुले बैंकबाट पर्याप्त ऋण पाइरहेका छैनन्। एक, दुई करोडका लागि आवेदन दियो हात लाग्छ २०/२५ लाख। पाएको ऋणले परियोजनामा खासै प्रगति देखिँदैन र कोरोना महामारीले जसरी आर्थिक क्षेत्र स्लो डाउन भयो त्यसले घर बनाउनेदेखि व्यवसायलाई आवश्यक पूर्वाधार विकास गर्ने योजना होल्ड गर्नुपर्ने अवस्था छ। व्यवसाय नै चलिरहेको छैन यसले नयाँ परियोजना डिले भइरहेका छन्,’ न्यौपानेले भने।

सिजनमा न्यूनतम दैनिक सात लाख बोरा सिमेन्ट खपत हुन्थ्यो। महिनामा दुईदेखि सवा दुई करोड बोरा सिमेन्ट खपत हुन्थ्यो। अफ सिजन अर्थात् बर्खामा दैनिक तीनदेखि चार लाख बोरा सिमेन्ट खपत हुन्थ्यो।

विशेषतः दसैं, तिहार, छठ पछि नयाँ घर निर्माणको सुरुसार हुन्छ। घरको हात्तीपाइले/फाउन्डेसन, जगदेखि पिलर निकाल्नुपर्ने लगायतका काममा सिमेन्ट र डन्डीको माग अत्यधिक हुन्छ। पिक सिजनमा प्रति दिन सातदेखि आठ लाख बोरा सिमेन्ट खपत हुनुपर्नेमा अहिले दिनमा तीनदेखि चार लाख बोराभन्दा बढीको माग नै नआएको न्यौपानेले जानकारी दिए।

‘माग घट्दा फ्याक्ट्रीहरुले उत्पादन आधा कटौतीदेखि मूल्य घटाएर सिमेन्ट बेच्नुपर्ने अवस्था छ। कम मूल्यमा बेच्नेको बिक्ने अरुको नबिक्ने स्थिति छ,’ न्यौपानेले भने।

पछिल्लो समय सिमेन्टको मूल्य ४० देखि ५० रुपैयाँसम्म घटेको कसमस सिमेन्टका कार्यकारी निर्देशक ध्रुव थापाले बताए।

‘सिमेन्टको माग र मूल्य पोहोरदेखि नै घट्दै गएको छ। बजारमा पैसा छैन। बजेट खर्च हुँदैन। कुनै पनि सिमेन्ट फ्याक्ट्रीमा तीनदेखि चार दिन बढीको उत्पादन भण्डार गर्ने क्षमता छैन। सिमेन्ट बनाएर राखे चाँडै बिग्रिन्छ,’ थापाले भने।

यस्तै, बजारमा डन्डीको माग पनि घट्दै गएको अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले जानकारी दिए। माग घटे पनि सस्तोमा डन्डी पाए हार्डवेयरहरुले उठाइरहेको उनले बताउँछन्। माग घट्यो भनेर अहिलेसम्म उत्पादन कटौती भने नगरेको उनले बताए।

‘हामीबाट हार्डवेयरले डन्डी लिन्छ। उसले अहिले रेट बढ्दो क्रममा भएर हो कि के हो धेरै डन्डी उठाइरहेका छन्। सस्तोमा पाउनेबित्तिकै उठाउने गरेका छन्। तर, उनीहरु आफैं भने लगेको डन्डी बिकिरहेको छैन भन्छन्। पहिला उठाएको डन्डीनै स्टकमा छ भनिरहेको भएपनि बिक्रीका हिसाबले खासै केही अफ्ट्यारो देखेको छैन। माग घट्यो भनेर उत्पादन घटाउनु पर्ने अवस्था छैन,’ न्यौपानेले भने।

डन्डीको मूल्य बढ्दै जानुमा बिलेट महँगिनु पनि भएको उनले बताए। अहिले बिलेटको मूल्य ६६० अमेरिकी डलर पुगेको न्यौपानेले जानकारी दिए।

बजेट (जेठ १५, २०७८ अघि) ५६० डलर हाराहारी रहेको बिलेटको मूल्य त्यसको डेढ महिना पछि ६३५ डलर हाराहारी पुगेको थियो। अहिले पुन: बिलेटको भाउ सम्भवतः अहिलेसम्मकै धेरै भएको न्यौपानेले बताए। बिलेटको भाउ घट्ने सम्भावना निकै कम रहेको उनले बताए।

अहिले काठमाडौं उपत्यकाको बजारमा उपभोक्ताहरुले १०८ रुपैयाँ हाराहारीमा डन्डी पाउने न्यौपानेले जानकारी दिए। गत कात्तिकमा काठमाडौं उपत्यकाका साइटमा डन्डी झर्दा न्यूनतम १०७ देखि अधिकतम ११३ रुपैयाँ हाराहारी थियो।

भट्टी नभएका पञ्चकन्या, साख:, हिमाल, हामालगायतका डन्डी कम्पनीहरुको भाउ अधिकतम बिन्दुमा पुगेको थियो। अहिले पनि यी कम्पनीहरुको डन्डीको मूल्य केही बढी नै छ। कात्तिकमै डन्डीको भाउ प्रतिकिलो दुई तीन रुपैयाँ अझै महँगो रहेकोमा घटेर ११३ रुपैयाँ हाराहारी आइपुगेको थियो। डन्डीको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरी, सिमेन्ट उत्पादनमा अत्यावश्यक कोइलाको मूल्य भयंकर बढेको न्यौपान बताउँछन्। साथै, डिजलको मूल्य निरन्तर बढिरहेकाले ढुवानी लागत बढ्दै गएको उनले बताए।

‘चुनढुङ्गा सिमेन्टको लागि महत्वपूर्ण कच्चा पदार्थ होसँगै कोइला पनि। डिजलको दाम बढ्दा हामीलाई चुनढुंगा ढुवानीको खर्च २० देखि ३० प्रतिशतले बढेको छ। मूल्यवृद्धिका कारण क्लिंकर वा सिमेन्टको लागत ६० रुपैयाँसम्म बढेको छ। उल्टै माग नहुँदा घाटा खाएर बेच्नु परिरहेको छ,’ न्यौपानेले भने, ‘डेढ वर्षअघिसम्म हामीलाई कोइला १३/१४ रुपैयाँ प्रति किलो पर्थ्यो। अहिले २६ देखि २७ रुपैयाँ किलो परिरहेको छ। ठ्याक्कै दोब्बर।’
बजारमा चर्को प्रतिस्पर्धा र माग नै घटेपछि सिमेन्टको दाम घटेर फ्याक्ट्री मूल्य ओपीसी सिमेन्टको ५२५ रुपैयाँ र पीपीसीको ४२५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए।

त्यसैगरी, बालुवा, इँटा, गिट्टीलगायतका निर्माण सामाग्रीको माग पनि ओरालो लाग्दै गएको व्यवसायीहरुले बताएका छन्। माग घटे पनि मूल्य भने खासै नघटेको व्यवसायीहरुले बताएका छन्।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago