विराटनगर: नेपालका अधिकांश निर्यातमूलक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको ठूलो हिस्सा विदेशबाट पैठारी गर्नुपर्छ। तर निर्यातमै टिकेका १२ वटा कागज उद्योगको ८० देखि ९० प्रतिशत कच्चा पदार्थको स्रोत स्वदेश नै हो। यही स्वदेशी कच्चा पदार्थ तस्करी भएर भारत जान थालेपछि उद्योगले अभावसँगै महँगो मूल्यसमेतको सामना गर्नुपरिरहेछ।
नेपालका विभिन्न छोटी नाकाबाट थोत्रा कागज तस्करी भएर भारत लैजाने गरिएको छ। यसका कारण निर्यातमूलक तयारी कागज उद्योगले कच्चा पदार्थको सङ्कटको सामना गर्नुपरेको हो।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष एवम् सुनसरीको अरविन्द पेपर मिलका सञ्चालक रवि केसी लगायतका कागज उद्योगीले झुत्रा कागज तस्करी भएर भारत जान थालेकाले नेपालका उद्योगले कच्चा पदार्थको अभावसँगै महँगीसमेत भोगिरहेको बताएका छन्।
सञ्चालक केसीका अनुसार, नेपालका कागज उद्योगले हाई क्वालिटीको वेस्ट पेपरसहित केही कच्चा पदार्थ र सहायक कच्चा पदार्थ गरी बढीमा २० प्रतिशत मालसामानमात्र पैठारी गर्नुपर्छ। उद्योगलाई चाहिने बाँकी ८० प्रतिशत कच्चा पदार्थका रूपमा थोत्रा र झुरा कागज स्वदेशमै पाइन्छ। तर यही कबाडी कागज पनि तस्करी भएर लगिएपछि उद्योगहरू अप्ठेरामा परेका छन्।
नेपालमा उत्पादन गरिने तयारी कागजको मुख्य निर्यातविन्दु भारत हो।
वीगरञ्जको दुर्गा पेपर मिल्सका सञ्चालक रोहित अग्रवालले अहिले मुख्यतया थोत्रा कागजको चोरी निकासी गरिने छोटी नाका नवलपरासीको महेशपुर भएको बताए। महेशपुर नाकाबाट ठेला, रिक्सा र अन्य ससाना साधनमा दैनिक हजारौँ टन थोत्रा कागज भारततर्फ तस्करी भइरहेको छ।
रोहितलगायतका उद्योगीका अनुसार महेशपुरसहित मेचीदेखि महाकालीसम्मका सबैजसो छोटी नाकाहरूबाट थोत्रा कागजको अनधिकृत निर्यात भइरहेको छ। कागज उद्योगीहरूले प्रहरीसमक्ष बारम्बार गुनासो र अनुरोध गर्दा पनि केही परिणाम हात लागेको छैन।
दुई वर्षअघिसम्म नेपालबाट भारततर्फ भन्सार विन्दु हुँदै थोत्रा कागजको निकासी गर्दा ५ प्रतिशत निर्यात महसुल बुझाउनु पथ्र्यो। यसले गर्दा अधिकांश थोत्रा कागज अधिकृत रूपमै भारत निर्यात गरिन्थ्यो। यही कारणले नेपालका कागज उद्योगलाई आफ्नो मुख्य कच्चा सामग्रीको अभाव हुन्थ्यो।
यसैबिच उद्योगीहरूले बारम्बार आग्रह गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले थोत्रा र पुराना कागजको निर्यात महसुललाई ५ बाट बढाएर १० प्रतिशत बनाइदिए। तर यसपछि भने थोत्रा कागजको निकासी वैध रूपमा नभई अवैध प्रकारले हुन थालेको छ। वैध निर्यात गर्दा तिर्नुपर्ने १० प्रतिशत महसुलका ठाउँमा अवैध निर्यात गर्दा ५ प्रतिशत मात्र क्यारिङ चार्ज लाग्ने गरेको जानकारहरू बताउँछन्।
नेपाल पल्प एन्ड पेपर एसोसिएसनका कार्यवाहक अध्यक्ष एवम् सुनसरीको बाबा पेपर मिलका सञ्चालक मुराहरि कोइरालाका अनुसार देशभरिमा १२ भन्दा बढी कागज उद्योग सञ्चालनमा छन्। तिनलाई सबै प्रकारका मिलाएर दैनिक १५ हजार टन झुरा कागजको आवश्यकता पर्दछ। तर यसमध्ये दैनिक ५ हजार टन पुराना कागजको अवैध निकासी हुने गरेको छ।
यसरी अवैध निकासी गरिने कागजमा मुख्यतया कार्टुनको कच्चा पदार्थ क्राफ्ट पेपर हो। यसपछि पुराना कापी, पुस्तक, पत्रपत्रिका र प्रेसबाट निस्किएका टुक्राटुक्री झुरा कागजको पनि तस्करी हुने गरेको छ।
दैनिक पाँच हजार टन थोत्रा कागजको अवैध निकासी गरिँदा राज्यले प्रति किलो १० भन्सार महसुलका दरले दैनिक ५ करोड रुपैयाँ राजस्व गुमाउँछ।
सुनसरीको अरिहन्त कोरोगेसन नामको कागज उद्योगका सञ्चालक पारस लुनियाँले भने, ‘नेपालका निर्यातमूलक कागज उद्योग अत्यन्त मेहनतले आत्मनिर्भर भएका हुन् । यति बेला कागजको उत्पादन लागत भारतमा भन्दा नेपालमा सस्तो परिरहेको छ। इतिहासमै पहिलो पटक यस्तो भएको हो। त्यसमा पनि केही खास केमिकल र १० प्रतिशत हाइ क्वालिटी वेस्ट पेपरबाहेक हामी ८० प्रतिशत कच्चा पदार्थका रूपमा थोत्रापुराना कागज स्वदेशमै पाउँछौँ । तर त्यसको पनि तस्करी हुँदा उद्योगले कच्चा पदार्थको अभाव ब्यहोर्नु परिरहेको छ।’
वीरगञ्जको मारुती पेपर मिल्सका सञ्चालक दीपेश अग्रवालले थोत्रापुराना कागजको तस्करी बढेपछि यसको मूल्यवृद्धि भएको जिकिर गरे।
उद्योगी अग्रवालका अनुसार कार्टुनको कच्चा पदार्थ क्राफ्ट पेपर एक महिनामै किलोको २५ बाट ३५ रुपैयाँ भएको छ। त्यस्तै महिना दिनअघिसम्म किलोको ३० मा पाइने पुराना कापी मूल्य अहिले ४० पुगेको छ र पुराना पुस्तकको मूल्य पनि किलोको २० बाट ३० भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी प्रेम शाहीले महेशपुर लगायतका छोटी नाकाबाट थोत्रापुराना कागजको तस्करी भइरहेको गुनासो कार्यालयले यही हप्तामात्र पाएको बताए। डिएसपी शाहीले प्रहरीले हालसम्म कसैलाई रङ्गेहात पक्राउ नगरेको जानकारी दिँदै यस्तो भेट्टाएमा तत्काल नियन्त्रणमा लिएर कारबाही चलाउने स्पष्ट पारे।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…