नेपाली बजारमा विदेशी फलफूलको प्रभाव बढ्दै ,७५ करोडको फलफूल आयात

काठमाडौँ – यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन्। कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुमबाराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन्।

काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउँछन् नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्मर बानियाँ। कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ। उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन्।

अध्यक्ष बानियाँ भन्छन, ‘तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।’

हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन् । यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ ।

तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ। अध्यक्ष बानियाँ भन्छन्, ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ। तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो। त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ। यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो। मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ।’

अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ। उनका अनुसार रु १५ करोडको चिनियाँ स्याउ काठमाडौँ उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने गर्छन्।

त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए। उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ। तिहारका पाँच दिनमा मात्रै रु ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ। सोही अवधिमा कुलेश्वर थोक बजारमा रु तीन करोडको नेपाली केरा भित्रिएको छ।

पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी)मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ। बजारमा नेपालीभन्दा भारतीय केरा महँगोमा भए पनि उपभोक्ताले किन्ने गर्छन्। सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ। त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ। तर त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ। भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ।

भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको दुखेसो गर्दै बानियाँको छ। ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ। हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ,’ उनले भने।

व्यावसायिक खेतीलाई प्रोत्साहन नगरेसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बानियाँ बताउँछन्। उनी भन्छन्, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ। उनीहरुको केरा हेर्दै किनौँकिनौँ लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ। तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन्।’

त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए। उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ। त्यस्तै लक्ष्मी पूजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ। यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच/छ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको भन्दै उनले भने, ‘तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै रु ७५ करोडभन्दा बढीको व्यापार हुन्छ।’

यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ। त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ। अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ। पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन्। नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ।

त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो। अध्यक्ष बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ। हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन्। भाडा, भन्सार आदि सबै तिरेर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ। नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ।’

उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ ।  रासस

Sanjay poudyal

Recent Posts

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरूको प्रदर्शन

काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…

55 years ago

झापाको किच्चकबध स्थलमा आठौँ चरणको उत्खनन, दरबारको जग भेटियो

झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…

55 years ago

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दिपकराज जोशी निर्वाचित भएका…

55 years ago

डा. शशांक कोइरालाको भनाइ : राजाको आवश्यकता छैन

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक–पटक अवसर दिँदा सत्ताको…

55 years ago