ज्येष्‍ठ नागरिकको घर-घरमा नि:शुल्क स्वास्थ्य सेवा

२०७९, १४ बैशाख बुधबार १२:०१

काठमाडौँ: स्वतन्त्र तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेका बालेन साहले ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रतिबद्धता दोर्याएका छन् । प्रत्येक वडामा डायग्नोस्टिक ल्याबसहितको नियमित स्वास्थय परीक्षण गर्ने प्रतिबद्धता समेत उदघोष गरेका छन् ।

योग्य चिकित्सक, प्रोफेसनल नर्सिङ र फर्मासिस्टको व्यवस्था गरिने शाहले प्रतिबद्धता दोर्‍याएका छन् । सञ्चालनमा रहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार, उचित सेवा सुविधा, स्वास्थ्य वातावरणसहितको सरसफाइ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्ने उनले उल्लेख गरेका छन् ।

प्रतिबद्धता पत्रमा मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको नियन्त्रण गर्न जग्गी तथा व्यायाम पार्क निर्माण गर्ने उदघोष गरेका छन् । महानगरपालिकाको स्वामित्त्वमा सुविधासम्पन्न एम्बुलेन्स सञ्‍चालन गर्ने र सबै सेवाहरू कल सेन्टरबाट उपलब्ध गराउने बताए ।

ज्येष्ठ नागरिकहरूको घर-घरमा निशुल्क स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य सेवा कार्डको व्यवस्था गरिने समेत उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्ड राखिने प्रस्ट पारेका छन् ।

Comments

ताजा खबर