नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य

२०७८, १२ चैत्र शनिबार १३:३८

काठमाडौं: दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ । दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ । नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भीम शार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए ।

मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गरेको इनिङ्समा नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले तीन ओभरभित्र दुवै ओपनरलाई गुमाएको थियो । कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोएल डक आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए ।

पावर प्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे । यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी गरे । यसअघि शुक्रबार पीएनजीविरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

देव र दीपेन्द्र दुवैले अर्धशतक बनाएपछि नेपालको रन गति बढेको थियो । अघिल्लो खेलमा पीएनजीविरुद्ध डेब्यु गरेका देव खनालले दोस्रो खेलमा आएर पहिलो अर्धशतक बनाएका हुन् । उनले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

त्यसपछि दीपेन्द्रले रोहित पौडेलसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । चौथो विकेटका लागि दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि रोहित ४०औं ओभरमा आउट भए । रोहितलाई चाड सपरले बोल्ड गरे । अघिल्लो खेलका शतकधारी रोहितले ३६ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन जोडे । त्यसपछि दीपेन्द्रले पाँचौ विकेटका लागि भीम शार्कीसँग ५५ रनको साझेदारी गरे ।

४७औं ओभरमा शतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए । ४८औं ओभरमा नेपालले दीपेन्द्रसहित तीन विकेट गुमायो । दीपेन्द्रलाई चाड सोपरबाट क्याचआउट गराएका पीएनजीका नोर्मन भानुअले अर्को बलमा भिम शार्कीलाई बोल्ड गर्दै लगातार दुई विकेट लिए । भीमले १९ बल खेल्दै १ चौका र १ छक्कामा २६ रन जोडे । त्यही ओभरको अन्तिम बलमा भानुअले ४ रन बनाएका आरिफ शेखलाई रनआउट गरे ।

नेपालको विकेट जाने क्रम रोकिएन । ४९औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । उनलाई नाओले विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए । नेपालले ७ बलको अन्तरमा ४ विकेट गुमाएको थियो ।

त्यसपछि कप्तान सन्दीपले लेट केमियो खेले । उनले ९ बल खेल्दै २ चौका र १ छक्कासहित अविजित २४ रन बनाए । अन्तिम ओभरको तेस्रो बलमा पीएनजीका फिल्डरले सन्दीपको क्याच ड्रप गरेका थिए । सन्दीपले अन्तिम ओभरको सबै ६ बल खेल्दै १६ रन जोडेका थिए । बलिङमा पीएनजीका लागि अलेइ नाओले ३, नोर्मन भानुअले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु