रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी

किभ: रुसले युक्रेनमा गरिरहेको आक्रमणमा हालसम्म एक हजार जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । एक महिनाको यो अवधिमा कम्तीमा १ हजार ८१ जना सर्वसाधारणको मृत्यु भएको छ भने १ हजार ७ सय ७ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

बालबालिका मात्रै १ सय ३५ जना मारिएका छन् । युक्रेनले नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो ।
यसअघि रुसले सैन्य कारबाही युक्रेनी सर्वसाधरणलक्षित नरहेको दाबी गरे पनि ठूलो संख्यामा सर्वसाधारण मारिएका र अंगभंग भएका छन् । हजारौं भौतिक संरचना ध्वस्त बनेका छन् । आक्रमणको सबैभन्दा बढी असर देखिएको डोनेत्स्क राज्यको मरिओपुललगायत क्षेत्रमा मृतकको संख्या यकिन गर्न अधिकारीहरू खटिएको पनि राष्ट्रसंघले जनाएको छ । यसअघि राष्ट्रसंघले लगातारको आक्रमणका कारण युद्ध क्षेत्रमा तथ्यांक संकलन गर्न कठिन भइरहेको उल्लेख गर्दै मृतक र घाइतेको संख्या युक्रेनी अधिकारीले सार्वजनिक गरेको भन्दा धेरै बढी हुन सक्ने अनुमान गरेको थियो ।

गत साता मरिओपुलस्थित एक थिएटरमा रुसले गरेको मिसाइल आक्रमणमा परी ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । सुरक्षित स्थानको खोजीमा पोल्यान्ड हुँदै युरोप छिर्न आएका युक्रेनीहरू उक्त थिएटरमा आश्रय लिइर बसिरहेका थिए । मिसाइल आक्रमणबाट भवनको ८० प्रतिशत हिस्सा ध्वस्त भएको थियो । आक्रमण हुनुअघि थिएटरमा ६ सय जनाभन्दा बढीले आश्रय लिइरहेका थिए । तर, घटनाको तेस्रो दिनसम्म उनीहरू सबैको उद्धार हुन सकेको थिएन । थिएटर आसपासको क्षेत्रमा लगातार गोलाबारी भइरहेकाले उद्धारकर्ताहरू समयमै उद्धारमा खटिन पाएका थिएनन् । जसका कारण पनि धेरैको ज्यान गएको मरिओपुलका डेपुटी मेयरका सल्लाहकार पेटर आन्द्रेउस्चेन्कोले बीबीसीसँग भनेका छन् । सहरको मध्य क्षेत्रमा अझै पनि दोहोरो भीडन्त जारी रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर रुसी सेनाले सहरलाई नियन्त्रणमा लिन भने सकेको छैन ।’

राष्ट्रसंघले भने मरिओपुलमा हालसम्म २ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । मरिओपुलका मेयरका अनुसार हजारभन्दा बढी नागरिक अझै भग्नावशेषमा फसेका जनाएका छन् । प्रत्येक दिनजसो भइरहेको मिसाइल प्रहारले मानवीय संकटको अवस्था सिर्जना भएको जनाउँदै उनले सहरलाई पुरानै अवस्थामा फर्काउन वर्षौं लाग्ने बताएका छन् ।

रुसी सेनाले शुक्रबार खार्किभको एक स्वास्थ्य संस्थामा समेत मिसाइल प्रहार गरेको छ । जसमा परी हालसम्म ४ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । खार्किभ रुसी सेनाले सबैभन्दा धेरै बमबारी गरिरहेको युक्रेनी सहरमध्ये एक हो । रुसले युक्रेनको उत्तर, दक्षिण र पश्चिम क्षेत्रबाट लगातार आक्रमण बुनिरहेको छ । तर अपेक्षित जित भने हासिल गर्न सकेको छैन । राजधानी किभको नजिकै (करिब ५ किलोमिटरको दूरी) पुगे पनि रुसी सेना त्यहाँको मुख्य बजार क्षेत्रमा प्रवेश गर्न सकेको छैन । अमेरिका, बेलायतलगायत नाटो मुलुकबाट हतियार सहयोग पाएको युक्रेनी सेनाले डटेर रुसी सेनाको सामना गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

रुसी सेनातर्फ हालसम्म १ हजार ३ सय ५१ सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमण थालेयता दोस्रो पटक क्षतिको विवरण सार्वजनिक गर्दै रुसी सेनाले आफ्ना ३ हजार ८ सय २५ सैनिक घाइते भएको रुसी समाचार एजेन्सी रिया नोभोस्तीले लेखेको छ । यसअघि युक्रेनी सेनाले भने १५ हजार रुसी सैनिक मारिएका दाबी गरेको थियो । अमेरिकी गुप्तचर निकायले भने साढे ७ हजार रुसी सैनिक मारिएको हुन सक्ने जनाएको थियो । रुसी रक्षा मन्त्रालयले गत मार्च २ मा पहिलो पटक आफ्नोतर्फको क्षतिको विवरण सार्वजनिक गरेको थियो । जसमा ४ सय ९८ सेवक मारिएको उल्लेख थियो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago