बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले तत्काल अघि नबढाउने

काठमाडौँ: चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच शनिबार सिंहदरबारमा वार्ता हुँदै छ ।
चिनियाँ विदेशमन्त्री वाङलाई लिन परराष्ट्र सचिव भरतराज पौड्याल शुक्रबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । वाङ र परराष्ट्रमन्त्री खड्काबीच शनिबार हुने वार्तामा नयाँ विषयभन्दा पनि पुरानै विषय कार्यान्वयन प्राथमिकतामा पर्ने नेपाली अधिकारीले बताएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० देखि १२ विषयमा सहकार्य गर्ने गरी टुंगो लागेको हो । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने तत्काल अघि नबढ्ने भएको छ । बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले ऋण लिने गरी परियोजनाहरू तत्काल अघि नबढाउने सन्देश पनि दिएको छ ।

परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयलाई अन्तिम रूप दिए पनि नेपालतर्फको उच्च तहबाट ‘संकेत’ नआउँदा सम्झौता नहुने भएको हो । नेपालतर्फको राजनीतिक नेतृत्व ऋण लिन सकारात्मक नभएको परराष्ट्रका एक अधिकारीले बताए । तर, चीनले बर्सेनि दिने अनुदान भने थप्ने गरी समझदारी हुँदै छ ।

अहिले वर्षमा १३ अर्ब अनुदान आउने गरेकामा अब यो रकम १५ अर्बमा पुर्‍याउन चीन सकारात्मक भएको छ । राष्ट्रपति सी चिनपिङको भ्रमणको दौरान नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुँदै छ ।

केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन (टेक्निकल स्किम अफ ट्रान्स हिमालयन रेल्वे) सम्बन्धमा पनि सम्झौता गर्ने तयारी छ । नेपाल र चीनबीच हुन सक्ने सम्झौताको सूचीमा कोरला नाका सुसञ्चालन, हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण, रातमाटे–रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माण पनि छन् ।

चीनको ऋण तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थलको संरचना पनि नेपाललाई हस्तान्तरण गर्ने तयारी छ । त्यस्तै भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नयाँ भवन बनाएर सेवाको स्तरोन्नति गर्न तथा चितवनको भरतपुर अस्पतालमा मेडिकल र प्राविधिक सहयोग गर्न पनि चीनको सहयोग ल्याउने तयारी छ । वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्ने सरकारी योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । यसमा चीन सरकारले मद्दत गर्ने गरि गृहकार्य भएको हो । नेपालबाट ‘हेलेज’ प्रजातिको घाँस चीन निर्यात गर्ने विषयमा पनि समझादारी गर्ने दुवै पक्षको तयारी छ ।

मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई अघि बढाउने विषय पनि एजेन्डामा छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार यो आयोजना प्राथमिकतामा राखिएको छ । सन् २०१९ मा सीले नेपाल भ्रमण गर्दा नै उक्त विश्वविद्यालयलाई चीनले सहयोग गर्ने भनिएको थियो । जसअनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले मकवानपुरको चित्लाङमा जग्गा तयारी गरेको थियो । तर चिनियाँहरूले आफ्नो सहयोगमा बन्ने विश्वविद्यालय काठमाडौंबाट धेरै टाढा भएको र त्यहाँ सहजै आउन र जान गाह्रो हुने गुनासो गरेपछि काभ्रेतिर सारिएको हो । विश्वविद्यालयका लागि काभ्रेमा जग्गा प्राप्ति गर्न ओली सरकारले नै १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पाँचखाल र नमोबुद्ध नगरपालिकाको केही वडामा १० हजार ३ सय रोपनी जग्गा तयार छ ।

भूकम्प र महामारीसँग उत्तरी नाका बन्दप्रायः छन् । रसुवागढी–केरुङ, तातोपानी नाका खुकुलो बनाउने मात्र होइन, मुस्ताङको कोरला नाका पनि सञ्चालन गराउने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ । यो विषयमा पनि समझदारी हुने अधिकारीहरूको भनाइ छ ।

दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारत हुँदै शुक्रबार अपराह्न नेपाल उत्रिएका वाङले लगत्तै चिनियाँ राजदूतावासद्वारा आयोजित कार्यक्रममा भाग लिए । उनले दूतावासको अधिकारीहरूबाट ‘ब्रिफिङ’ लिएका थिए । उनी शनिबार बिहान शिवपुरीमा हाइकिङ जाँदै छन् । शनिबार दिउँसो मन्त्रीद्वय खड्का र वाङबीच सिंहदरबारमा द्विपक्षीय वार्ता र सहमति भएका विषयमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि वाङ प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् र पोखरा विमानस्थललाई हस्तान्तरण गर्नेछन् ।

वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago